लोकान्तर खोज

EXCLUSIVE: त्रिवि परीक्षामा प्रश्न मात्र सार्ने पनि पास ! जाँचकीदेखि अख्तियारसम्म सेटिङ [उत्तरपुस्तिकासहित]

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

EXCLUSIVE: त्रिवि परीक्षामा प्रश्न मात्र सार्ने पनि पास ! जाँचकीदेखि अख्तियारसम्म सेटिङ [उत्तरपुस्तिकासहित]

त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले उपप्राध्यापक पदका लागि लिएको परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा अनियमितता गरेको प्रमाण फेला परेको छ । 


Advertisement

उत्तरपुस्तिकामा उत्तर लेख्नुको साटो प्रश्न नै प्रश्न मात्र सारेका परीक्षार्थीलाई पास गराएको प्रमाण लोकान्तरले फेला पारेको छ । 


Advertisement

लोकान्तरले ती परीक्षार्थीको जाँच गरिएको उत्तरपुस्तिका नै फेला पारेको छ । २०७२/०७३ मा विज्ञापन नम्बर ७ र ८ अन्तर्गत गणित विषयको आन्तरिक तथा खुलातर्फ उपप्राध्यापक पदका लागि लिइएको परीक्षामा व्यापक अनियमितता भएको तथ्य लोकान्तरले सप्रमाण फेला पारेको छ ।

आन्तरिक विशेष परीक्षाका लागि रोल नम्बर ५७०८ भएका विद्यार्थीको प्रथम पत्रको उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षामा सोधिएका कूल ५ वटा प्रश्नको उत्तरमा कूल १७ पटक प्रश्न मात्र सारेको भए पनि पास गराइएको प्रमाण फेला परेको छ । 


Advertisement

परीक्षक विज्ञ प्रा.डा. चेतराज भट्टले जाँचेको उत्तरपुस्तिकामा प्रश्न मात्र सारिएको भए पनि अत्यधिक नम्बर दिएर पास गराइएको तथ्य फेला परेको छ । 

प्रश्न मात्र सारिएको त्यो उत्तरपुस्तिका जस्ताको तस्तै 

१ नम्बर प्रश्नको उत्तरमा उनले १ नम्बरकै प्रश्न मात्र हुबहु सारेकोमा पनि नम्बर दिएको पाइएको छ । २ नम्बर प्रश्नको उत्तरमा २ नम्बरकै प्रश्न हुबहु सार्नुका साथै ३ र ४ नम्बर प्रश्न मात्र सारेकोमा पनि नम्बर दिइएको छ । 

 

यसरी प्रथम पत्रको ३५ अंकका लागि सोधिएका कूल ५ वटा प्रश्नको उत्तर नै नलेखेका, उत्तर लेख्दा त्यही ५ वटा प्रश्नहरूलाई १७ पटक हुबहु जस्ताको त्यस्तै प्रश्न मात्र सारेकोमा कूल ११ अंक दिएर ती परीक्षार्थीलाई उत्तीर्ण गराइएको छ । जसमा १ अंक पनि दिन मिल्ने अवस्था छैन तर ११ अंक दिएर उनलाई पास गराइएको छ ।

 

३५ अंकको लागि दोस्रो खण्डको अर्को पत्रको उत्तरपुस्तिकामा पनि पूर्ण रूपमा गलत उत्तर लेखेकोमा बढीभन्दा बढी अंक दिएर पास गराइएको छ । जाँचकले शुरूमा उत्तरपुस्तिका जाँच्दा लेखाइलाई पूर्णरूपले गलत भनि काटेको पनि पाइन्छ तर  उत्तरपुस्तिकामा देखाइएका संकेत जाँचकले भेटाएपछि  व्यक्तिको पहिचान भई उत्तर पुस्तिकाको बाहिर पहिलो पृष्ठमा २६.५ अंक दिएको पाइएको छ । 

ती परीक्षार्थीले आफ्नो उत्तरपुस्तिका जाँचकलाई चिनाउन अंग्रेजीमा ‘रिमेनिङ’ लेखेर संकेत गरेको समेत भेटिएको छ ।

दोस्रो खण्डको उत्तरपुस्तिकामा उनले १ नम्बर प्रश्नको उत्तर लेख्दा उत्तरपुस्तिकामा जाँचकले १ अंक मात्र दिएको देखिन्छ तर मूल पृष्ठमा भने ९.५ अंक दिएको भेटिएको छ । उत्तरमा जाँचकले कैफियतमा ‘कम्प्लिट सेन्टेन्स’ भनी कैफियत लेखेर ०.५ अंक शुरूमा दिएको देखिन्छ तर पछि आएर फेरि ९.५ अंक दिएको भेटिएको छ ।

२ नम्बरको प्रश्नको उत्तर गलत लेख्दा पनि ५ अंक दिएको भेटिएको छ । ३ नम्बर प्रश्नको उत्तर उनले नेपाली भाषामा लेखेका कारण जाँचकले ‘प्रेस इन इङ्गलिश’ अर्थात् अंग्रेजी भाषामा मात्र उत्तर लेख भनेर कैफियत लेखेका छन् तर पनि त्यसमा ९.५ अंक दिइएको छ ।

४ नम्बर प्रश्नको उत्तरमा उनले केही पनि उत्तर लेखेका छैनन् । खाली नै छोडेका छन् तर पनि त्यसमा अंक दिइएको छ ।

५ नम्बर प्रश्नको उत्तर पूर्ण रूपमा गलत लेखेकोमा पनि २.५ अंक दिइएको छ ।

ससुरा बुवाले उत्तरपुस्तिका जाँचेर ज्वाइँलाई ३५ अंकमा ३२ अंक दिएर बनाए टपर

खुलातर्फ झन् रोचक तथ्य फेला परेको छ । उत्तरपुस्तिका जाँचक रामविश्वास प्रसाद साहले आफ्नै ज्वाइँको उत्तरपुस्तिका आफैं जाँचेर गलत उत्तरमा समेत बढीभन्दा बढी अंक दिएर टपर बनाएको तथ्य खुलेको छ ।

परीक्षामा ३०७१ रोल नम्बर भएका परीक्षार्थीले टप गरेका थिए । उनी जाँचक साहका ज्वाइँ हुन् । ती परीक्षार्थीले उत्तर नै नलेख्दा समेत अंक पाएका छन् । 

प्रथम पत्रको ४ नम्बर प्रश्नको उत्तर लेख्दा उनले उत्तरमा ४ नम्बरको प्रश्न मात्र सारेकोमा पनि २ अंक दिइएको उत्तरपुस्तिका नै प्रमाणको रूपमा भेटिएको छ । 

अन्य प्रश्नको उत्तर गलत लेखेको भए पनि उनलाई उच्च अंक दिएर परीक्षामा सर्वोत्कृष्ट बनाइएको देखिएको छ ।

प्रथम खण्डमा २५ र दोस्रो खण्डमा ३२ अंक दिएर कूल ५७ अंकसहित उनलाई ‘टप’ बनाइएको छ । दोस्रो खण्डको उत्तरपुस्तिका उनको आफ्नै ससुरा बुवा रामविश्वास प्रसाद साहले जाँचेका थिए । 

आर्थिक लेनदेनले फेरियो नतिजा : पास हुनेलाई फेल र फेल भएकालाई पास

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालीन सदस्य केदारप्रसाद घिमिरेले आफूलाई सम्पर्क गरी पैसाको लेनदेन मिलेका परीक्षार्थीका उत्तरपुस्तिकाहरू पहिचान गरी फेल भएका विभिन्न विद्यार्थीका उत्तरपुस्तिका परीक्षकलाई पटक–पटक बोलाई नम्बर थप्न लगाएको कुरा बाहिर आएको थियो ।

 त्यसपछि परीक्षार्थीहरू मध्येबाट केहीले प्रधानमन्त्री कार्यालयमा उजुरी गरेका थिए । त्यसपछि त्यो उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रमा छानबिन गर्नका लागि पठाएको थियो ।

केन्द्रले पनि छानबिन गर्दा परीक्षामा व्यापक अनियमितता भएको प्रमाण फेला पारेको थियो । त्यसपछि उत्तरपुस्तिकालाई पुनः परीक्षण गर्न केन्द्रले सेवा आयोगलाई निर्देशन दिएको थियो ।

त्यसपछि सेवा आयोगले प्राध्यापक प्रकाशरत्न शाक्य र प्राध्यापक रामविनोद चौधरीलाई पुनः उत्तरपुस्तिका परीक्षण गराएको भनी प्रतिवेदन तयार गरी २०७३ माघ १४ गते सेवा आयोगले राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र पठाएको थियो । 

खुला तर्फको गणित विज्ञानतर्फको २५४ र गणित मानविकी तर्फको १८६, विशेष आन्तरिक खुला तर्फको गणित विज्ञान र गणित मानविकीको कूल २३२ गरी कूल ६७२ उत्तरपुस्तिका पुनः परीक्षण गरेको प्रतिवेदन आयोगमा बुझाइएको थियो । पुनः परीक्षण गर्दा माथि उल्लेखित विषयको सम्पूर्ण उत्तरपुस्तिकाहरू पुनः परीक्षण गर्दा सन्तोषजनक देखिन्छ भनेर जाँचक प्राध्यापकद्वय शाक्य र चौधरीले हस्ताक्षरसहित लेखेका छन् ।

त्यसपछि आयोगले माघ १७ गते राष्ट्रिय सतर्कता केन्द्रलाई एउटा पात्र पठाएको थियो तर पत्रमा एकातर्फ शुरूमा जाँच्ने प्राध्यापक चेतराज भट्ट र रामविश्वास साहलाई कारवाही स्वरूप अब उप्रान्त आयोगको कुनै पनि काम कारबाहीमा विज्ञको रूपमा सहभागी नगराउने उल्लेख गरिएको थियो । त्यसका साथै अब निजहरूको नाम विज्ञको रोस्टरबाट समेत हटाई सोको जानकारी त्रिभुवन विश्वविद्यालय सभा तथा कार्यकारी परिषद्को सचिवालय र परीक्षा नियन्त्रण कार्यालयलाई समेत गराउने भनी पत्राचार गरिएको थियो ।

पुनः परीक्षण गर्दा उत्तरपुस्तिका सन्तोषजनक रहेको, उत्तरपुस्तिकामा दिएको साविकको अंकमा कुनै फेरबदल नभएकाले त्यस विषयमा पुनः थप विचार गर्नुपर्ने अवस्था नरहेको भनी उल्लेख गर्दै केन्द्रलाई पत्राचार गरेको थियो ।

यसरी सेवा आयोगले केन्द्रलाई गलत जानकारी सहितको पत्राचार गरेपछि केन्द्रले थप छानबिन गर्न आवश्यक रहेको भन्दै सबै फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको थियो । त्यसपछि अख्तियारले पनि छानबिन गर्दा विभिन्न परीक्षार्थीहरूले गलत उत्तर लेखेकोमा अंक पाएको, उपयुक्त उत्तर लेख्नेलाई कम नम्बर दिएको, गलत उत्तर लेख्ने तथा प्रश्न मात्र सर्ने परीक्षार्थीलाई बढी अंक दिएर पास गराएको तथ्य फेला परेको थियो ।

परीक्षार्थीहरूका उत्तरपुस्तिकामा विभिन्न संकेतहरू राखी सेवा आयोगका तत्कालीन पदाधिकारी र विज्ञ शिक्षकहरूको मिलेमतोमा संकेतहरू पहिचान गरी पास अंक दिएको कुरा अख्तियारले पनि अनुसन्धानबाट फेला पारेको थियो । त्यसपछि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्‍यो तर दर्ता गराउने बेलामा छानबिनबाट प्राप्त प्रतिवेदनको तथ्यलाई बंग्याएर, भेटिएका तथ्य लुकाएर मुद्दा अभियोजन गरेको थियो ।

यस सम्बन्धमा सेवा आयोगका पदाधिकारीलाई पनि मुद्दा नचलाइएकोमा विशेष अदालतले अख्तियारलाई प्रश्न समेत गरेको कुरा फैसलामा नै उल्लेख गरिएको छ ।  

जसले गर्दा सेवा आयोग विशेष अदालतबाट मुद्दा जित्न सफल भएको थियो । किनभने अख्तियारले पनि प्रमाण भेटिएको उत्तरपुस्तिका विशेष अदालतमा पेश नगरेका कारण सेवा आयोगलाई सफाइ दिइएको थियो । त्यसपछि केही परीक्षार्थीले अख्तियारलाई पुनः छानबिन गर्नका लागि पटक–पटक उजुरी दिएका थिए । ती उजुरी हालसम्म अख्तियारले तामेलीमा नै राखेको उजुरीकर्ताको भनाई छ ।

यस सम्बन्धमा अख्तियारले विशेष अदालतको फैसलाको विरुद्धमा पुनरावलोकन गर्नका लागि सर्वोच्च अदालतमा समेत मुद्दा दर्ता गरेको छ । सर्वोच्च अदालतमा हालसम्म मुद्दा विचाराधीन नै छ ।

पुनः परीक्षण गरेको भनी २ जना प्राध्यापकलाई सेवा आयोगका तत्कालीन सदस्य केदार घिमिरेले आफ्नो पूर्व योजनालाई सफल बनाउन पुनः परीक्षण गरेको भनी गलत प्रतिवेदन राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाएको स्रोतको दाबी छ ।

केही परीक्षार्थीहरूका अनुसार उत्तरपुस्तिका परीक्षण गर्ने विज्ञ शिक्षकहरूले परीक्षार्थीहरूलाई पास गराउन उत्तरपुस्तिका जाँच गर्ने समयमा थप उत्तरपुस्तिका बाहिर लेखाएर मूल उत्तरपुस्तिकामा समावेश गरेका छन् । यस सम्बन्धमा पटक–पटक गलत कार्य गर्ने सेवा आयोगका तत्कालीन सदस्य केदार घिमिरेमाथि पुनः छानबिन गरी कारबाही गर्नुपर्नेमा हालसम्म केही पनि कारवाही नभएको ती परीक्षार्थीहरूको गुनासो छ ।

 

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्