
बागलुङ नगरपालिकाले आगामी असोज ४ गतेदेखि नगरपालिका भित्रका विद्यालय खुलाउने भएको छ ।
पूर्ण जनस्वास्थ्यका मापदण्डको पालना गरी विद्यालय खुलाउने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले जानकारी दिए ।
यसअघि जिल्ला सदरमुकामस्थित बागलुङ–१, २, ३ र ४ वडा बाहेकका विद्यालय सञ्चालनमा आइसकेका थिए । नगर शिक्षा शाखाले बुधवार आयोजना गरेको सामुदायिक तथा निजी विद्यालयका प्रतिनिधिसँगको बैठकले दैनिक ४ घण्टा मात्रै विद्यालय खोल्ने निर्णय गरेको हो ।
‘दैनिक ४ घण्टा विद्यालय सञ्चालन गर्ने, प्रार्थनाको समय, खाजा समय नगर्ने गरी विद्यालय सञ्चालनको अनुमति दिइएको छ,’ उनले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर एउटा डेस्कमा २ विद्यार्थी राखेर कम्तीमा २० मात्रै कक्षा कोठामा राखेर विद्यार्थी संख्याका आधारमा ३ सिफ्टमा विद्यालय सञ्चालन गर्न भनेका छौं ।’
विद्यालयको साप्ताहिक विवरण नगरपालिकाको शिक्षा शाखामा पेश गर्ने र विद्यालयमा समस्या आएमा वडाको सहजीकरणमा विद्यालय बन्द अथवा समय परिवर्तन गर्न सकिने छ । जिल्लामा अहिले कोरोना दर घटेर एक सयभन्दा तल आएपछि जिल्लाका विद्यालय खुल्न थालेका हुन् ।
विद्यालय सञ्चालन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको शिक्षा शाखालाई दिइसकेको छ ।