×
Bajaj Top
Khukuri
FONEPAY

सन्दर्भ : एमाले महाधिवेशन

अध्यक्षमा ओलीलाई चुनौती दिने कोही छैन, अन्य पदमा प्रतिस्पर्धा हुनसक्छ– पीएस गुरुङ [अन्तर्वार्ता]

काठमाडाैं | मंसिर १, २०७८

NTC
TVS INSIDE

२०७१ सालको एमालेको नवौं महाधिवेशनबाट सचिव निर्वाचित भएका पृथ्वीसुब्बा गुरुङ २०७४ सालसम्म एमालेको संगठन विभाग प्रमुख थिए । २०७४ सालको निर्वाचनपछि उनी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भए ।

Sanima Bank
morang Auto yamaha

नेकपा एमालेमा संस्थापन पक्षमा रहेका गुरुङ पार्टीभित्र र अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रस्टसँग आफ्नो कुरा राख्न सक्ने र पार्टीभित्रको गलत प्रवृत्तिको खुलेर आलोचना गर्ने नेताका रूपमा चिनिन्छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बनेपछि गुरुङ गण्डकी प्रदेशमा पार्टीको इन्चार्ज बनेका थिए । नेकपा विभाजन भएर साविकको एमाले र माओवादी केन्द्रमा विभक्त भएपछि गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी पनि छाड्नुपर्ने परिस्थिति बन्यो ।

तत्कालीन नेकपाका २ अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको विवाद समाधानको प्रयासमा पनि उनले भूमिका निर्वाह गरेका थिए । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

एमालेका सचिव गुरुङसँग एमालेको दशौं राष्ट्रिय महाधिवेशन, नेतृत्वको निर्वाचन र उनको पदीय आकांक्षाबारे लोकान्तरका लागि उद्धव थापाले गरेको कुराकानीको सारांश ः–

एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तयारी कसरी भइरहेको छ ?

– महाधिवेशनको मूल व्यवस्थापनको तयारीमा लागेका छौं । केही समयअघि सम्पन्न विधान महाधिवेशनमा हामीले व्यापक रूपमा कार्यकर्तालाई सहभागी गराएर एमाले सग्लो छ, एकताबद्ध छ र आन्तरिक शक्ति बरकरार छ भन्ने सन्देश दियौं । राष्ट्रिय महाधिवेशनमा जनताको ठूलो हिस्सा एमालेसँगै छ भन्ने सन्देश दिने गरी ‘मास–शो’ गर्न चाहन्छौं । 

मंसिर १० गते चितवन जिल्लाको मुख्य शहरका सडक मान्छेले भरिभराउ पार्न चाहन्छौं । देश दुनियाँलाई यो महसूस होस् कि नेपाली जनता पहिले पनि एमालेको साथमा थियो, अहिले पनि एमालेको साथमा छ । जनसमर्थन अझ बढेको छ भन्ने सन्देश दिन चाहन्छौं । तसर्थ व्यापक जनपरिचालनको तयारी गरेका छौं । 

एमाले महाधिवेशन, बैठक, भेला व्यवस्थित रूपमा गर्न सक्ने क्षमता भएको, ख्याती कमाएको सुदृढ पार्टी हो । एमालेको नवौं महाधिवेशन र विधान महाधिवेशनभन्दा भव्य, प्रजातान्त्रिक र प्रतिबद्धरूपमा कसरी सफल बनाउने भन्ने काममा केन्द्रित छौं । 

त्यसबाहेक महाधिवेशन प्रतिनिधिको खाने, बस्ने व्यवस्था, प्रचारप्रसार, सूचना प्रविधिको संयोजन र व्यवस्थापन लगायत कामको तयारीमा हामी जुटेका छौं । नेतृत्व चयनको विषय कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा पनि अहिलेदेखि नै गृहकार्य गरिरहेका छौं । महाधिवेशन भव्य बनाउनका लागि पार्टीका सबै कमिटी र नेता कार्यकर्ताहरु जुटेका छन् । 

दशौं राष्ट्रिय महाधिवेशनलाई तपाईंहरूले ‘एकताको महाधिवेशन’ भन्नुभएको छ । त्यसको तयारी के छ ?

– दशौं राष्ट्रिय महाधिवेशन एकताको महाधिवेशन भन्ने त हामीले तल्लो तहबाटै सन्देश दिइसकेका छौं । एकाधबाहेक वडा र पालिका अधिवेशनमा सहमतिमै नेतृत्व चयन भएका छन् । सबैजसो ठाउँमा निर्विरोध रूपमा नेतृत्व चयन भएको छ । राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्दा पनि सहमतिमै चयन भएका छन् । केही ठाउँमा चयन हुन बाँकी छन् । हामीले एकताको महाधिवेशनको करीब–करीब ४० प्रतिशत सन्देश दिइसकेका छौं । दशौं राष्ट्रिय महाधिवेशनको हलमा गएर नेतृत्व चयन पनि एकताको सन्देश दिने ढंगले सर्वसम्मत रूपमा सम्पन्न गर्छौं ।

एमालेमा केन्द्रीय कमिटी र पदाधिकारीका लागि अधिकांशको आकांक्षा छ । तपाईंहरू सहमतिमै सबै मिलाउँछौं भन्दै हुनुहुन्छ । नेताहरूको व्यवस्थापन त्यति सजिलो छ र ?

– एमाले भनेको ‘युनिफर्मिटी’ भित्र मात्रै ‘युनिटी’ गर्ने पार्टी होइन, डाइभर्सिटीभित्र युनिटी खोज्ने सिद्धान्त हो । पृष्ठभूमिको हिसाबले हामीभित्र विविधता छ । नेताहरूको योग्यता र क्षमताको हिसाबले पनि विविधता छ । प्रतिनिधित्वको हिसाबले पनि विविधता छ । विविधताभित्र एकता कायम गर्ने महाधिवेशनको मूल ध्येय हो । विभिन्न पृष्ठभूमि, क्षमता, योग्यता, पुस्तान्तरको कारणले भएको विविधतालाई एडप्ट, एड्रेस र एडजस्ट गर्न सक्ने क्षमता भएको पार्टी एमाले मात्रै हो । सबै प्रवृत्ति, सबै धार, चिन्तनहरूलाई हामी एकबद्ध बनाएर महाधिवेशन सम्पन्न गर्छौं । 

मूलतः केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मको नेतृत्व चयन सहमतिमै टुंगो लाग्छ । २२५ केन्द्रीय सदस्यमध्ये १५ जना पदाधिकारी हो । त्यसबाहेक २१० जना केन्द्रीय सदस्य हुन्छन् । भूगोल, खुला र आरक्षणको विधिबाट केन्द्रीय सदस्य बन्न सक्छन् । महिला, दलित, जनजाति, मुस्लिम, पिछडिएको क्षेत्रको आरक्षण छ । संविधानले जति आरक्षणको क्षेत्र सुनिश्चित गरेको छ, त्यसैलाई आधार मानेर आरक्षणका क्षेत्रहरू तोकेका छौं । चुनाव हुँदै हुँदैन त म भन्दिनँ, कहीँ चुनाव हुन पनि सक्छ । 

एकता भएर नेकपा हुँदा साविक एमाले र साविक माओवादी केन्द्रमा रहेका साथीहरू अहिले नेकपाको निरन्तरता भएको एमालेमा पृष्ठभूमिको हिसाबले २ धार छ । एमालेभित्रै पनि १० बुँदे सहमति भएपछि पार्टीमा फर्किएर निरन्तर भएका साथीहरू हुनुुहुन्छ । अर्थात, विगतका २ वटै गुटका साथीहरू पनि हुनुहुन्छ । थप अरू पार्टीबाट प्रवेश गर्नुभएका साथीहरू पनि हुनुहुन्छ । सहमतिमार्फत नेतृत्व चयन गर्दा यी सबै विषयको सम्बोधन हुन्छ ।

निर्वाचनबाट नेतृत्व चयन भए पनि यी सबै प्रवृत्तिको सम्बोधन भयो भने एकताबद्ध पार्टी बनाउन सकिन्छ । त्यसले मात्रै एकताको महाधिवेशन भयो भन्ने सन्देश दिन्छ ।

पार्टीमा विवाद नदेखाउने उद्देश्यले वडा र पालिका तहको अधिवेशनमा केन्द्रको निर्देशनमा सहमति लपेट्ने प्रयास भयो, प्रतिनिधि चयनमा पनि केन्द्रकै निर्देशन हावी भयो, सहमतिको नाममा नेताले चाहेका व्यक्ति मात्रै प्रतिनिधि चुनिए भन्ने टिप्पणी एमाले वृत्तमै सुनिन्छ । केन्द्रले तल्लो तहको असन्तुष्टि दबाउने प्रयास गरेको हो ?

– एउटा कोणबाट त्यस्तो भन्न सकिएला । नेपालको राजनीतिमा त्यस्तो टिप्पणी अनौठो कुरा पनि होइन तर सबै ठाउँमा एकता गरौं भनेको के हो भने फेरि पनि जो एकताको अभियानमा निरन्तर हुनुभयो, उहाँहरूको संख्या त साविक एमालेको भन्दा त थोरै छ । साविक एमालेका २ वटा गुटमध्ये केही साथीहरू आन्तरिक एकता भएर पार्टीभित्रै हुनुुहुन्छ । उहाँहरूको संख्या पनि अलि कमजोर होला । तलदेखि चुनाव हुँदै आयो भने त उहाँहरू सबै पराजित हुनुपर्ने स्थिति आउँछ । साविक संस्थापन पक्षमा जो थिए उनीहरू मात्रै जितेर आउने भए । त्यसकारण, चुनाव नगरौं भनेको हो । चुनाव गरेपछि त जसले बढी भोट ल्याउँछ, उही जितेर आउने हो । त्यसमा संस्थापन पक्ष नै हावी हुन्थ्यो । त्यसले राम्रो सन्देश पनि जाँदैन । कतिपय योग्य साथीहरू आउट हुन्छन्, नेतृत्व गर्ने ठाउँबाट उनीहरू वञ्चित हुन्छन् भनेर तल्लो तहबाटै मिलाएर ल्याएका छौं । 

केपी ओलीसँग रहेका साविकका एमालेहरू, १० बुँदे सहमतिपछि एमालेमै फर्र्किएका एमालेहरू, एकताको प्रक्रियामा एमालेमा आएका एमालेहरू र अरू पार्टीबाट आएका एमालेहरू गरेर विशेषगरी ४ प्रवृत्तिका एमालेहरू एमालेभित्र छन् । त्यसमध्ये शक्तिशाली त संस्थापन पक्षका एमाले नै छ । चुनावमा जाने बित्तिकै उनीहरू मात्रै आउने हो । एकताको भावनालाई उजागर गर्नको लागि, अल्पमतलाई पनि सुरक्षित गर्ने उद्देश्यले तल्लो तहबाटै सहमति गर्ने प्रयास गरिएको हो । त्यसो गर्दा सबै प्रवृत्तिका मान्छेहरू छुटेका छैनन्, समेटिएर आएका छन् । 

दशौं राष्ट्रिय महाधिवेशनको एउटै काम नेतृत्व चयन हो । अबको महाधिवेशनबाट आउने पार्टी नेतृत्व को हो ?

– एमालेको अबको नेतृत्व को हो भन्नेबारे धेरै दायाँबायाँ कुरा गर्नै परेन । एमालेको अबको अध्यक्ष पनि केपी शर्मा ओली नै हो । हुन त उहाँले प्रधानमन्त्री हुनका लागि प्रतिनिधि सभामा पनि उठ्दिन, अध्यक्षका लागि महाधिवेशनमा पनि उठ्दिन भन्नुभएको थियो तर परिस्थितिले यसरी कोल्टे फेर्‍यो कि उहाँ नै पार्टीको नेतृत्वमा आउनुपर्ने बाध्यता बन्यो । एमालेलाई बाहिर र भित्रबाट प्रहार भयो । एमाले एकदमै असहज परिस्थितिबाट गुज्रियो । एमालेको प्रधामन्त्रित्वमाथि र एमालेको एमालेको नेतृत्वमाथि पनि चारैतिरबाट हमला भयो, त्यसको सामाना गरेर पार्टी अहिलेको अवस्थामा आइपुगेको छ । 

केपी ओलीको नेतृत्व बच्यो भने पार्टी बच्ने, पार्टी बच्यो भने केपी बच्ने भन्ने ठाउँबाट अहिलेको अवस्थामा आइपुगेका छौं । त्यसकारण एमालेले फेरि एक पटक भन्यो, एमालेको र्‍याङ्क एण्ड फाइलले भन्यो केपी ओली फेरि एक पटक एमालेको अध्यक्ष बन्नुपर्ने अवस्था आइलाग्यो । समय र परिस्थितिले एक पटक फेरि केपी ओलीले पार्टीको नेतृत्व गर्नुपर्ने र प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्नुपर्ने अवस्था माग्यो । हामी सबैको अनुरोधमा उहाँ फेरि एक पटक एमालेको अध्यक्षको उम्मेदवार बन्दै हुनुहुन्छ ।

अहिले एमाले अध्यक्षमा केपी ओली विकल्प छैन । अहिले नै उहाँ अध्यक्ष निर्वाचित भइसक्नुभयो भन्दिए पनि हुन्छ तर एमाले लोकतान्त्रिक पार्टी पनि भएको हुनाले अध्यक्षमा मेरो पनि दाबी छ भन्न त सबैले पाउँछ । उम्मेदवार बन्न पनि पाउँछ । भोलि केपी ओलीले प्रतिस्पर्धा गर्नु पनि पर्छ । प्रतिस्पर्धा हुँदा पनि नहुँदा पनि अबको अध्यक्ष केपी ओली नै हो भन्ने कुरामा द्विविधा छैन । 

तर केपी ओलीले नेकपाको एकता जोगाउन सकेनन्, दुईतिहाइ नजिक बहुमतको सरकार पनि जोगाउन सकेनन्, २ पटक संसद विघटनको सिफारिस गरे, जुन अदालतले अवैधानिक भनिदियो । एमालेको एकता पनि जोगाउन सकेनन् उनैलाई किन अध्यक्ष बनाउनुपर्‍यो भन्ने तर्क पनि त छ नि !

– यो त मिडियाले बनाएको तर्क हो । अहिलेको नेपालको राजनीतिमा यो विषय उठेको छ भन्ने मलाई लाग्दैन । केपी ओलीकै कारण यो सबै भएको भए अहिलेको गठबन्धन किन बन्नुपर्थ्यो ? ५ दलीय गठबन्धनको कारण सरकार गिरेको हो । माधव नेपालहरूको महत्त्वकांक्षा र पदलोलुपताको कारण यो परिस्थिति आएको कुरा त घामजत्तिकै छर्लङ्ग छैन र ? माधव नेपाल, प्रचण्डले गरेको दोष पनि केपी ओलीले बोक्नुपर्ने, कांग्रेस, बाबुराम भट्टराई, उपेन्द्र यादवले गरेको गल्ती पनि केपी ओलीले बोक्नुपर्ने, यो मुलुकमा नेपाली जनताको न्याय यस्तो त होइन होला !

केपी ओलीको पनि कमजोरी नभएको होइन, कमजोरी त पक्कै भएको छ । कमजोरी नभएको भए यो स्थिति हुने थिएन होला तर यो सबैको दोष केपी ओलीलाई लगाउन मिल्दैन । केपी ओलीलाई असफल बनाउनका लागि यी सबै कुराको डिजाइन गरिएको छ । यो सबै डिजाइनलाई पराजित गर्ने क्षमता भनेको केपी ओलीसँग मात्रै छ । यो सबै चिजलाई परास्त गर्नका लागि केपी ओलीको नेतृत्व आवश्यक छ भन्ने कुरा हाम्रो पार्टीले महसूस गरेको छ । महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दाबी त जसले पनि गर्न सक्छ नि !

भीम रावल लगायतका नेताहरूले अध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गर्नुभएको छ । तपाईंहरू एकताको महाधिवेशन भन्नुहुन्छ । केपी ओलीलाई फेरि अध्यक्षमा दोहोर्‍याउँदा नेतृत्वको आकांक्षा राखेका अरु नेताहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्न सकिएला ?

– अहिले हामी नवौं राष्ट्रिय महाधिवेशनको परिस्थितिमा छैनौं । नवौं राष्ट्रिय महाधिवेशनमा २ वटा गुट बनेको थियो । त्यसले गुटले जसलाई उम्मेदवार बनायो, त्यही चुनावमा  लड्ने र जसले बढी मत ल्यायो, उसलै जित्ने हुन्थ्यो । उनीहरू पार्टीप्रति भन्दा पनि आ–आफ्नो गुटप्रति बफादार हुन्थे । अहिले हामी त्यो सबै कुराबाट माथि आएका छौं । अब हामी गुटका आधारमा उम्मेदवारी दिँदैनौं । कसैले उम्मेदवारी दिन पाउँदैन भन्ने पनि छैन । व्यक्तिगत रूपमा उम्मेदवारी दिन पाइन्छ । त्यसो हुँदा अध्यक्षमा जो पनि उठ्न पाउँछ । म पनि उठ्न सक्छु, भीम रावल, युवराज ज्ञवाली, ईश्वर पोखरेल जो पनि उम्मेदवार बन्न पाउनुहुन्छ तर यी सबै कुरालाई सम्बोधन गर्न सकियो भने एकताको महाधिवेशन हुन्छ । त्यो सन्देश हामी दिन चाहन्छौं । 

तपाईं अहिले एमालेको सचिव हुनुहुन्छ । महाधिवेशनबाट तपाईंले कुन भूमिकामा रहेर पार्टीको काम गर्ने योजना बनाउनुभएको छ ?

– यो पार्टीको म एउटा अंश मात्रै हो, पार्टी पूर्ण हो । त्यो अंशले कुन भूमिकामा रहेर पार्टीको सेवा गर्न चाहन्छ भन्ने कुरा राख्न पाउँछ । नवौं राष्ट्रिय महाधिवेशनपछि अहिले करीब ७–८ वर्षको अवधिको कामको अनुभवले चाहे म मुख्यमन्त्री भएर काम गरेको अनुभव होस्, चाहे प्रदेशको इन्चार्ज भएर काम गरेको अनुभव वा नवौं राष्ट्रिय महाधिवेशनपछि पार्टीको संगठन विभाग प्रमुख भएर काम गरेको अनुभवमा पार्टी भित्रका यावत समस्या छन् भन्ने बुझाइ छ ।

पार्टीभित्र भएको प्रवृत्तिगत हिसाबले जडसूत्रवादी चिन्तन, मनोगतवादी चिन्तनलाई पराजित गर्ने केही विशेष योजनाहरू छन् । पार्टीको स्थायी कमिटी वा केन्द्रीय कमिटीमा छलफल हुँदा होस्, हाम्रो संगठन कस्तो बन्नुपर्छ, आजको संठगन भित्रको समस्या कस्ता छन् भन्ने कुरा धेरै पहिचान गरेको पाइएन । मनोगतवादी चिन्तनभित्र जडसूत्रवादी, संकीर्णतावादी चिन्तन, सिद्धान्तलाई व्यवहारमा नउतार्ने चिन्तनले पार्टीभित्र व्यक्तिवाद हाबी भयो । व्यक्तिगत अवसरवादले स्थान पायो । त्यसलाई पराजित नगरी संगठन बलियो हुँदैन । नेतृत्व राम्रो चयन गरेर मात्रै हुँदैन, नेतृत्वको कार्यान्वयन गर्ने संगठनको माध्यमबाट हो । नेतृत्वको शक्ति, योग्यता, क्षमता प्रदर्शन हुने मुख्य साधन र हतियार भनेकै संगठन हो । हाम्रो संगठनभित्र उदारवाद, व्यक्तिगत दक्षिणपन्थी प्रवृत्ति हाबी भयो, त्यसलाई पराजित गर्नुपर्नेछ ।

संगठनभित्र डरलाग्दो भनेको चाहिँ सांगठनिक अराजकता हो । त्यसकारण महाधिवेशनको नारा पनि सांगठनिक अराजकता अन्त्य गरौं भन्ने छ । जनसंगठनमा जुन खालको मनपरी देखिएको छ, कुनै विधि विधान छैन, पार्टीको कुनै नियन्त्रणमा छैन । पार्टीका तल्लो तहका कमिटी, नेताहरू चल्ने शैली, बोल्ने शैली, तौरतरिकामा जुन ढंगको अराजकता देखापरेको छ, त्यो समस्या समाधान गर्न आवश्यक छ । 

बिरामीको अनुहार हेरेर उपचार गर्ने होइन, रोग पहिचान गरेर समाधान गर्ने हो । रोगको उपचार गरेर मात्रै बिरामीलाई बचाउन सकिन्छ भनेको जस्तै यी यावत चिन्तन प्रवृत्तिको उपचार गरेर मात्रै हाम्रो संगठनलाई बचाउन सक्छौं । पार्टी र सरकार बीचको जुन खालको समस्या र अन्तरद्वन्द्व देखिने गरेको छ, त्यो समस्या समाधानको उपाय के भन्नेबारे कसैले उठान गरेको देखिँदैन । वैचारिक रूपले एकताबद्ध, सांगठनिक रूपले सुदृढ र कार्यशैलीमा पनि एकरूपता कायम गर्ने, भावनात्मक रूपमा एकता कायम गर्ने कुरामा ठोस योजना, दृष्टिकोणसहित आजको दिनमा एमाले कस्तो पार्टी हुनुपर्छ भन्ने योजनासहित खुला हृदय भएको, बीचमा बसेर न्याय दिन सक्ने पात्र म पनि हुँ भन्ने लाग्छ । 

त्यसकारण मैले अध्यक्षज्यूलाई, तपाईंको चाहना अनुसार पार्टीलाई सुदृढ बनाउने हो भने महासचिवको लागि म तपाईंको योग्य उम्मेदवार हुनसक्छु भनेको छु । अहिले नै म महासचिवको उम्मेदवार भइसकें भन्दिनँ । महासचिवको पदमा दाबी गर्ने २–३ जना साथीहरू छौं । अध्यक्षले जसलाई योग्य ठान्नुहुन्छ, उहाँलाई महासचिव बनाउनुहुन्छ । त्यसभित्र म योग्य हुँ भन्ने मेरो दाबी उहाँसँग राखेको छु । तपाईंको छनौट सही भएछ भन्ने कुरा म प्रमाणित गर्छु । संगठनका साथसाथै सरकार चलाउने कुरामा पनि कसैको योजना देखिँदैन । 

हामी मुख्यमन्त्री, मन्त्री, उपप्रधानमन्त्री सारा भएका मान्छे पार्टीमा छौं तर हामीले साँचो अर्थमा हाम्रो क्षमता प्रकट गर्न सकेका छैनौं । अयोग्य नै अयोग्य भएको ठाउँमा एमाले योग्य देखिन्छ नै, देखिएकै छ । एमालेले प्रदर्शन गर्ने सरकारको क्षमता विगतको जस्तो मात्रै होइन । योभन्दा क्षमतावान सरकार हुनुपर्छ, जहाँ सुशासन होस्, जहाँ शान्ति सुव्यवस्था होस्, जहाँ समृद्धिले ठाउँ पाओस्, त्यस्तो सरकार चलाउने क्षमता भएको पार्टी एमालेबाहेक अर्को हुन सक्दैन । त्यसलाई स्थापित गर्नका लागि म तपाईंको उचित सहयोगी भएर पार्टीमा भूमिका प्रदान गर्न सक्छु भन्ने मेरो आत्मविश्वास, अठोट र दृढता बढेको छ, तपाईंले त्यसरूपमा हेरेर उपयुक्त जिम्मेवारी दिनुपर्छ भनेर अध्यक्षलाई भनेको छु । उहाँले मलाई यो जिम्मेवारी दिनुभयो भने न्याय गर्नसक्छु भन्ने आत्मविश्वास छ । 

तपाईंले दाबी राख्दा ओलीको जवाफ के थियो ?

– मैले आफ्नो कुरा राखें, उहाँले सकारात्मक रूपमा सुन्नुभएको छ । पदाधिकारीको उम्मेदवार म यसै पनि हुँदै हो तर पदाधिकारीमध्ये सचिवको उम्मेदवार चाहिँ होइन । वरिष्ठ उपाध्यक्षमा पनि दाबी छैन । मेरो प्राथमिकता महासचिवमा हो । 

उपमहासचिव बन्नुस् भनेर अध्यक्षले भन्नुभयो भने मान्नुहुन्छ कि मान्नुहुन्न ?

– त्यस्तो परिस्थितिमा भोलिकै दिनमा छलफल र निर्णय हुन्छ नि !

एमालेको दशौं राष्ट्रिय महाधिवेशनको लागि छानिएर आउनुहुने प्रतिनिधिका लागि तपाईंले भन्नुपर्ने केही कुरा छन् ?

– एमालेको ऐतिहासिक, नेपालकै राजनीतिक पार्टीहरूमध्ये पनि ऐतिहासिक दशौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधिमा निर्वाचित हुनुभएका सबैलाई सफलताको शुभकामना छ । निर्वाचित हुनुभएकोमा बधाई दिन चाहन्छु । चुन्ने र चुनिने अधिकार भएको ठाउँमा तपाईंहरू आउनुभएको छ, अब एमाले कस्तो बनाउनुपर्छ, कस्तो नेताहरूको पार्टी बन्नुपर्छ भन्ने गहन दायित्व बोकेर आउनुभएको छ । तपाईंहरूलाई सफलता मिलोस् । उम्दा, योग्य र २१औं शताब्दीको एमालेको नेतृत्व चयन गरेर यो मुलुकको समृद्धि र समाजवाद निर्माणको अभियानमा योगदान दिनसक्ने नेतृत्व चयनमा सफलता मिलोस् भन्ने शुभकामना छ । केन्द्रीय सदस्य बन्ने वा पदाधिकारी बन्ने चाहनाले उम्मेदवारी दिने साथीहरूलाई पनि सफलताको शुभकामना छ ।

यो पनि पढ्नुहोस्

सर्वसम्मत अध्यक्ष बन्लान् ओली ? यी हुन् सम्भावित ३ विकल्प

कसरी चयन हुँदैछ एमालेको नयाँ नेतृत्व ?

ओलीपछि कसले हाँक्ला एमाले ?

 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
पुस ६, २०७८

कांग्रेसको महाधिवेशनको समीक्षा गर्नुपूर्व राजनीति र देशको अवस्थाबारे केही कुरा गरौं । मेरो देश प्राकृतिक रूपले धेरै नै सुन्दर देश छ । देश हाँक्ने व्यक्ति दूरदर्शी हुँदा अरबका मरुभूमि स्वर्ग बन्दो रहेछ । हिउँ नै ...

असोज २१, २०७८

नेकपा एमालेको पोलिटब्यूरो एवं केन्द्रीय कमिटी सदस्य अरुण नेपाल बागमती प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री भइसकेका नेता हुन् । एमालेमा यसअघि माधव नेपाल समूहमा रहेका उनले पार्टी विभाजनको समयमा उनल...

माघ ४, २०७८

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी वैशाखमा स्थानीय तहको चुनाव हुने बताएका छन् ।  लोकान्तर डटकमसँगको अन्तर्वार्तामा थापाले संविधान अनुसार वैशाखमा जसरी पनि चुनाव गर्नैपर्ने र त्यसलाई कुनै पनि ...

मंसिर २२, २०७८

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन्, राजेश्वर ज्ञवाली । राजधानी शहर रहेको देशकै पुरानो महानगरको प्रशासकीय नेतृत्व गरिरहेका ज्ञवालीले एक कुशल प्रशासकको परिचय बनाइसकेका छन् । देश ...

पुस ९, २०७८

कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाको निवास रातोपुलमा शुक्रवार बिहान देशका विभिन्न जिल्लाबाट आएका कांग्रेस नेता/कार्यकर्ताको भीड थियो । डेमोक्रेटिक चिकित्सक संघलगायत संगठित तप्का पनि गगनलाई बधाई ...

मंसिर ७, २०७८

वामपन्थी राजनीतिमा रुचि राख्नेका लागि लिलबहादुर थापा मगर (लीला थापा) नौलो नाम होइन । २०४६ सालको जनआन्दोलनदेखि २०६२/०६३ सालको जनआन्दोलनसम्म अग्रस्थानमा खटिनेमध्ये एक थिए, लीला । त्यसअघि २०३७ सालमा भएको जन...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...