२५ असार २०८३, बिहीबार
खुम्चिँदो जनवाद

महाधिवेशन आउन ४ दिन छँदा एमाले नेताहरूको हालत– न उम्मेदवारी घोषणा गर्न सक्ने, न खुलेर प्रचार !

मंसिर ६, २०७८
महाधिवेशन आउन ४ दिन छँदा एमाले नेताहरूको हालत– न उम्मेदवारी घोषणा गर्न सक्ने, न खुलेर प्रचार !

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन हुन ठ्याक्कै चार दिन बाँकी छ । 

मंसिर १० मा चितवनमा नारायणी नदीको किनारमा एमालेको दशौं राष्ट्रिय महाधिवेशन विधिवत उद्घाटन गर्ने तयारीमा एमालेका नेता कार्यकर्ता जोडतोडले जुटेका छन् ।

महाधिवेशनमा सहभागी हुनका लागि देशभरबाट दुई हजारभन्दा बढी प्रतिनिधि चुनिएका छन् । एमालेको दशौं राष्ट्रिय महाधिवेशनको एउटै काम हो, पार्टीको नेतृत्व निर्वाचित गर्ने ।

एमालेले विचार र विधान टुंगो लगाउनका लागि असोजको १५–१७ मा विधान महाधिवेशन आयोजना सम्पन्न गरिसकेको छ । दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटनपछि सोझै नेतृत्व चयनको काम शुरू हुन्छ ।   

तर, इतिहासमै पहिलोपटक एमालेमा राष्ट्रिय महाधिवेशन उद्घाटनको संघारमा पुग्दा पनि आफ्नो उम्मेदवारीको विषयलाई लिएर पार्टीभित्र सन्नाटा छाएजस्तो देखिन्छ । 

पार्टीको केन्द्रीय कार्यकारी निकाय केन्द्रीय कमिटीमा पुग्न चाहने व्यक्तिहरूले महाधिवेशन शुरू हुन चार दिन मात्रै समय बाँकी हुँदा पनि न त उम्मेदवारी घोषणा गर्न सकेका छन्, न खुलेर आफ्नो प्रचारमा नै लाग्न सकेका छन् । 

भलै, एमाले उपाध्यक्ष भीम रावलले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर महाधिवेशनमा एमालेको अध्यक्षको उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन् । 

एमालेमा महासचिवको दाबी गरेका विष्णु पौडेल र शंकर पोखरेलका सहयोगीहरूले ब्यानर बनाएर प्रचार गरिरहेका छन् ।

त्यसबाहेक केही सीमित नेताहरूले मिडियालाई अन्तर्वार्ता दिएर आफूले चाहेको पदमा दाबेदारी प्रस्तुत गरेका छन्, तर उक्त पदमा तीव्र प्रचारमा भने उनीहरू देखिएका छैनन् । 

एमालेका केही नेताहरूले आन्तरिकरूपमा भेटघाट र छलफल गरिरहेका छन् । तर, सार्वजनिक रूपमा उम्मेदवारी भने घोषणा गर्न सकेका छैनन् । 

एमालेले गत कात्तिकमा गरेको वडा र पालिका तहको अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । 

त्यसबाहेक कात्तिक २७ मा भएको महाधिवेशन प्रतिनिधि चयनमा पनि ओलीले सर्वसम्मतिको विधि अपनाउन निर्देशन दिएका थिए ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपा विभाजन र एमाले पनि टुक्रिएपछिको पहिलो राष्ट्रिय महाधिवेशन एमालेले आयोजना गर्दैछ ।

विभाजनपछिको महाधिवेशन भएकाले ओली पार्टीभित्र कुनै समस्या नरहेको देखाउने प्रयासमा छन् । त्यसका लागि उनले सहमतिबाटै नेतृत्व चयन हुने बताएका छन् । 

अर्कातर्फ, एमालेमा अहिले परम्परागत गुट छैन । अध्यक्ष ओली नै सर्वेसर्वा छन् । गुटगत रूपमा डिमान्ड राख्ने अवस्था पनि छैन । एमालेबाट टुक्रिएर गएको समूहलाई साथ नदिएर एमालेमै रहेका तत्कालीन माधव नेपाल पक्षका १० जना स्थायी कमिटी सदस्य पनि अहिले भावनात्मक रूपमा एक छैनन् ।

बरू उनीहरू अध्यक्षलाई ‘राजी’ गराएर अध्यक्षको निर्णय आफ्नो पक्षमा पार्ने प्रयासमा छन् । 

महाधिवेशनको सम्मुखमा पनि एमालेका नेताहरू आगामी केन्द्रीय कमिटीमा कुन पदमा रहेर काम गर्ने भन्ने अनुमान गर्ने अवस्थामा समेत छैनन् । योजना मनमा छ, तर व्यक्त गर्न सकिरहेका छैनन् । 

पहिले संस्थापनइतर खेमामा रहेका एक केन्द्रीय सदस्य भन्छन्, ‘नेताहरू आफ्नो रूचि सार्वजनिक गर्ने पक्षमा छैनन् । जसले पदीय रूचि सार्वजनिक गर्‍यो त्यो महाधिवेशनमा सहमति बिथोल्ने प्रयास गरेको आरोप लाग्न सक्छ । त्यसैले अहिल्यै कोही पनि उम्मेदवारी घोषणा गर्ने पक्षमा छैन ।’

कसको उम्मेदवारी कुन पदमा हुने भन्ने उद्घाटन सत्र सकिएपछि मात्रै टुंगो लाग्न सक्ने ती नेता बताउँछन् । 

नेताहरू स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गर्नेभन्दा पनि आफूप्रति अध्यक्ष ओलीको बुझाइ जान्ने प्रयासमा रहेको ती नेताले बताए । पार्टीको केन्द्रीय सदस्य र पदाधिकारीमा आउन चाहने सबैजसो नेताहरूले अध्यक्ष ओलीलाई भेटेर आफ्नो कुरा एक चरणमा राखिसकेको ती नेताको दाबी छ । 

‘केन्द्रीय कमिटी र पदाधिकारीमा आउन चाहने सबैजसो नेताहरूले अध्यक्षलाई भेटेर आफ्ना कुरा राखेका छन् । अब उनीहरू अध्यक्षको प्रतिक्रिया पर्खेर बसेका छन्’, एक केन्द्रीय सदस्यले भने । 

महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवार हुन चाहने नेताहरू पनि प्रनितिधिहरूलाई फोन गरेर चितवनमा भेटौंला है त मात्रै भनेर बिदाबारी हुने गरेका छन् । 

धेरैजसो नेताहरूले आफ्नो प्रचारका लागि सामाजिक सञ्जालमा आफ्नो फोटो पोस्ट गर्दै महाधिवेशन प्रतिनिधि चयन भएकाहरूलाई बधाई दिने गरेका छन् । 

त्यसबाहेक, आफूले विभिन्न सन्दर्भमा गरेको महत्त्वपूर्ण भाषणको भिडियो क्लिप पनि सोसल मिडियामा शेयर गरेर उपस्थिति देखाउने गरेका छन् । 

प्रचारका लागि किन यस्तो अप्रत्यक्ष शैली अपनाएको भन्ने प्रश्नमा एमालेका एक केन्द्रीय सदस्यले भने, ‘चुनाव हुँदा कुन पदमा उम्मेदवारी दिने आफ्नो मनमा छ । अहिले नै सार्वजनिक गरिहाल्ने अवस्था छैन । चुनाव हुँदा कम्तिमा यो व्यक्तिलाई चाहिँ भोट हाल्नुपर्छ भन्ने पारिराख्नु त पर्‍यो नि !’

एमालेको महाधिवेशनमा पदाधिकारी तहमा सर्वसम्मति भएपनि खुल्ला केन्द्रीय सदस्यमा भने चुनावै हुनसक्ने धेरैको विश्लेषण छ । ‘केन्द्रीय सदस्यको आकांक्षी धेरै छन् । उनीहरूको व्यवस्थापन महत्त्वपूर्ण विषय हो । नेताहरूले सबैको चित्त बुझाउन सक्ने अवस्था नहुँदा चुनिएर आउने ठाउँ खोलिदिनुपर्छ’, केन्द्रीय सदस्य दोहोरिने योजनामा रहेका एक नेताले भने । 

संस्थापननिकट नेताहरू भने एमालेलाई आगामी निर्वाचनबाट एकल बहुमत ल्याउने र देशको नेतृत्व गर्ने पार्टी बनाउनुपर्ने भएकाले पार्टीमा आफ्नो भूमिकाको खोजी नगरी पार्टीलाई मजबुद बनाउने काम गरिरहेको दाबी गर्छन् । ​

 


 


salt training

कमेन्ट गर्नुहोस्