
कोरोना महामारीपछि सुनसान बनेका सौराहाका होटल अहिले एकाएक चम्किएका छन् ।
होटलमा पाहुना नआएर निराश हुँदै बन्द गर्नुपर्ने अवस्था हटेर अहिले होटल सञ्चालकहरूलाई ‘रूम’ व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने अवस्था आयो ।
नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा आयोजना हुँदा सौराहाको पर्यटन क्षेत्र फस्टाएको हो ।
मंसिर १० गतेदेखि चितवनको सौराहामा शुरू भएको एमालेको महाधिवेशन १४ गते साँझ नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेपछि समापन भयो ।
महाधिवेशनमा एमालेले २१५३ प्रतिनिधि उपस्थित गराएको थियो भने करीब ५ लाख कार्यकर्ता उद्घाटन सत्रमा उतारिएको थियो ।
एमालेका महाधिवेशन प्रतिनिधि, तिनका सहयोगीसहित गरी ४ हजारभन्दा बढी नियमित सौराहामा नै रहे ।
एमालेको महाधिवेशन अवधिभर चितवनका ठूला तारे होटलदेखि सामान्य होटल तथा होमस्टेसम्म भरिभराउ भए ।
चितवनको सौराहामा रहेको होटल पार्क ल्यान्डमा महाधिवेशन अवधिभरमा १६ वटा रुम एमालेका प्रतिनिधि तथा पाहुनाहरूले बूक गरेका थिए ।
सो होटलमा २२ प्रतिनिधि बसेका थिए, जसमा १० जना विदेशी प्रतिनिधि थिए भने बाँकी नेपाली ।
उनीहरूको कारण ४ दिनमा सो होटलले करीब ४ देखि ५ लाख रुपैयाँसम्म नाफा गर्यो ।
‘खर्च कटाएर ४ देखि ५ लाख रुपैयाँ नाफा भएको अनुमान छ,’ होटल पार्क ल्यान्डका सञ्चालक अञ्जनकुमार पाण्डेले लोकान्तरसँग भने ।
कोरोना महामारीपछि ३० प्रतिशत क्षमता (अकुपेन्सी)मा सञ्चालन भइरहेको सो होटल महाधिवेशन अवधिमा भरिभराउ भयो ।
एमाले र होटल एसोसिएसन हानसँगको समझदारीमा होटलमा बस्ने प्रतिनिधिहरूलाई रूम भाडा निर्धारण गरिएको थियो ।
जस अनुसार उनको होटलमा प्रति रूम २५ सय रुपैयाँ भाडा तोकिएको थियो भने खानाको मूल्य तीन दिनको १ लाख २० हजार रुपैयाँ तय भएको थियो ।
महाधिवेशनमा सबै ठीक थियो । तर रक्सी भने खासै बिक्री नभएको सञ्चालक पाण्डे बताउँछन् ।
‘बाहिर प्रचार भयो, रक्सी बिकेन भनेर, मैले नि तपाईंलाई भन्छु, रक्सी खासै बिकेको थिएन,’ उनले भने, ‘व्यस्तता र प्रेस्टिजलाई ध्यानमा राखेर धेरैले रक्सी लिनुभएन ।’
सौराहाकै अर्का होटल व्यवसायी ज्ञानेन्द्रकुमार विष्ट पनि एमालेको महाधिवेशनपछि निकै उत्साहित छन् ।
‘कोभिडपछि बल्ल हामी व्यस्त हुने दिन आयो,’ लोकान्तरसँग उनले भने, ‘एमालेको महाधिवेशनपछि अब चितवनमा पर्यटकको घुइँचो लाग्ने अपेक्षा छ ।’
रेजनल होटल चितवनका पूर्व अध्यक्ष समेत रहेका होटल रेन फरेस्टका सञ्चालक विष्टले अब चितवनमा पारिवारिक घुमघाम गर्ने पर्यटकको संख्या निकै बढ्ने अपेक्षा गरिएको सुनाए ।
‘हामीले विभिन्न पटक प्रचार–प्रसार गरेको भन्दा पनि अहिले सर्वाधिक चर्चा भएको छ,’ सञ्चालक विष्टले भने, ‘यसले दीर्घकालमा समेत सौराहालाई फाइदा हुने अपेक्षा छ ।’
कति भयो कारोबार ?
रेजनल होटल एसोसिएसनका अनुसार एमालेसँग ४ दिनका लागि ३५ सय बेडका लागि सम्झौता भएको थियो ।
महाधिवेशन अवधिभरका लागि भनेर ३ दिनका लागि १ करोड ९० लाख रुपैयाँको सम्झौता भएपनि बन्दसत्र लम्बिएपछि एक दिन थप गरिएको रेजनल होटल एसोसिएसन चितवनका अध्यक्ष दीपक भट्टराईले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार, एमाले महाधिवेशन अवधिभर (४ दिन)मा चितवन–सौराहामा होटल तथा पर्यटन क्षेत्रमा करीब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
अध्यक्ष भट्टराईका अनुसार सौराहाका होटलहरू भरिभराउ भएको इतिहासमै यो पहिलोपटक हो ।
हाल चितवनमा होटल एसोसिएसन नेपाल (हान) सँग १ सय २० वटा पर्यटकीय होटल आबद्ध छन्, जसमा ६ हजार ५ सय बेड संख्या रहेको छ ।
एमाले महाधिवेशनमा ६ हजार ५ सय बेडमात्र भरिएन अन्य दर्ता भएका–नभएका तथा स–साना होटल तथा होमस्टेसमेत गरेर १० हजारभन्दा बढी बेडसंख्या भरिभराउ भएको अध्यक्ष भट्टराई बताउँछन् ।
‘रूम अभावले धेरै पाहुनाहरू फर्किएर जानुपरेको थियो,’ उनले सुनाए ।
अध्यक्ष भट्टराईका अनुसार एमाले महाधिवेशन अवधिभरमा स्थानीय उत्पादनहरू करीब ९० प्रतिशतभन्दा बढीको खपत भएको थियो ।
‘स्थानीयहरूले उत्पादन गरेका लोकल तरकारीहरू बढी मात्रामा बिक्री भयो । तरकारी लोकल थिए भने चामल पनि चितवनकै थियो,’ अध्यक्ष भट्टराईले सुनाए ।
सुनसान होटलहरू जब जुर्मुराए...
महाधिवेशनपछि चितवनका होटल तथा पर्यटन व्यवसायीहरू घरमा बसेका जनशक्तिहरू होटलमै फर्काउने सोचमा छन् ।
कोभिड महामारीअघि चितवनका होटलहरूमा करीब ८० प्रतिशत अकुपेन्सी हुने गरेको थियो । तर कोभिड १९ रोगसँगै पर्यटन क्षेत्र ठप्प हुँदा चितवनका होटलहरू पनि सुनसान नै थिए ।
महामारी कम हुँदै जाँदा विस्तारै होटलहरूको अकुपेन्सी २५ देखि ३० प्रतिशतसम्म पुग्ने गरेको थियो ।
तर एमालेको महाधिवेशनका कारण होटल क्षेत्र भरिभराउ हुँदा अब भने पुराना कर्मचारी पनि फिर्ता बोलाउने तयारीमा होटलहरू रहेको अध्यक्ष भट्टराई बताउँछन् ।
उनका अनुसार, चितवनको होटल तथा पर्यटन क्षेत्रमा करीब ५ हजार ५ सय मजदुर आबद्ध छन् ।
कोरोनापछि विस्तारै मजदुरहरू होटल फर्काइए पनि २५ प्रतिशत मजदुर भने अर्को पेशामा पलायन भइसकेका छन् ।
अब होटल क्षेत्रमा नयाँ जनशक्ति ल्याउनका लागि आवश्यक तालिम समेत दिएर रोजगारी सिर्जना गर्ने तयारीमा होटल सञ्चालक र हानबीच छलफल हुन थालेको अध्यक्ष भट्टराईको भनाइ छ ।
उनले भने, ‘अब नयाँ जनशक्तिलाई तालिम दिने र होटलमा नयाँ स्टाफ थप्ने तयारीमा छौँ ।’
खुशी भए अध्यक्ष ओली
महाधिवेशन सम्पन्न भएसँगै एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनका होटल व्यवसायीहरूलाई धन्यवाद दिएका छन् ।
‘कोभिडले व्यवसायमा मजदुर कम भएपनि भएको मजदुरले उत्साहका साथ काम गरे, त्यो एकदम सराहनीय छ,’ अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै रेजनल होटल एसोसिएसन चितवनका पूर्व अध्यक्ष ज्ञानेन्द्र विष्टले लोकान्तरलाई जानकारी दिए ।