
अमेरिकाका राष्ट्रपति जो बाइडन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मंगलवार दुई घन्टाभन्दा बढी चलेको वार्तामा अन्य कुराका अलावा युक्रेन संकटको बारेमा चर्चा भएको रुस सरकार तथा ह्वाइट हाउस दुवैले जारी गरेको ‘रीडआउट’मा उल्लेख छ ।
पुटिनले युक्रेनमा आक्रमण गरेमा अमेरिकाले रुसमाथि कठोर प्रतिबन्ध लगाउने चेतावनी बाइडनले दिएको बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले शिखरवार्ता सकिएपछि सञ्चारकर्मीहरूलाई जानकारी दिए ।
सन् २०१४ मा रुसले युक्रेनमा आक्रमण गरेर क्राइमिया हात पारेको बेलामा अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्ध निष्फल भएको थियो । तर त्यसभन्दा कठोर प्रतिबन्ध लगाएर पुटिनलाई अप्ठ्यारोमा पार्ने चेतावनी बाइडनले दिएको बताइएको छ । यद्यपि पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय लिइसकेको जस्तो नलागेको जानकारी पनि सलिभानले दिए ।
अमेरिकाका गुप्तचर संस्थाहरूले युक्रेनमाथि रुसले सन् २०२२ को आरम्भतिर आक्रमण गर्न लागेको चेतावनी दिएको भए पनि मस्कोले त्यो झूटो खबर भएको दाबी गरेको छ । बाइडनसँग पुटिनको वार्तापछि अमेरिकी अधिकारीहरूले युक्रेनमाथि रुसले तत्काल आक्रमण नगर्ने संकेत पाएको देखिन्छ ।
रुसले युक्रेन सीमा नजिक विगत कैयौं महिनादेखि लगभग १ लाख सैनिक तथा सैन्य उपकरणहरू तैनाथ गरेपछि अमेरिकाले सम्भावित आक्रमणको आकलन सार्वजनिक हो । रुसले चाहिँ युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै योजना नरहेको बरू युक्रेनले नै रुसमाथि आक्रमण गर्ने योजना बनाइरहेको थाहा पाएकाले निवारणका लागि सैन्य तैनाथी गरिरहेको बताएको छ । युक्रेनले रुस सीमा नजिक १ लाख २५ हजार सैनिक तैनाथ गरेको बताइन्छ ।
युक्रेनलाई रुसले आफ्नो प्रभावक्षेत्र मान्ने गरेको छ र त्यहाँ पश्चिमी सैन्य गठबन्धन नेटोको उपस्थिति नहोस् भन्ने चाहना राखेको छ । युक्रेन नेटोको सदस्य हैन तर सन् २०१९ मा त्यहाँको संसद्ले दुईतिहाइ बहुमतका साथ मुलुकलाई नेटो तथा युरोपेली संघको सदस्य बन्नका लागि बाटो खोलेको छ ।
त्यति हुँदा पनि युक्रेन नेटोको सदस्य चाहिँ बनिसकेको छैन । तर नेटोका सदस्य मुलुकहरूले युक्रेनलाई जेभलिन एन्टी–ट्यांक क्षेप्यास्त्र, गाइडेड मिसाइल युद्धपोत तथा एन्टी–एयर मिसाइल ब्याट्रीज लगायतका घातक हातहतियार उपलब्ध गराएका छन् । युक्रेन र नेटोका सैनिकबीच सैन्य सहकार्यका लागि समझदारी समेत बनेको छ ।
सबभन्दा खतरनाक कुरा, युक्रेनमा मिसाइल बेस राख्दा रुसको राजधानी मस्को नै सुरक्षा जोखिममा पर्ने भएकाले रुस सतर्क बनेको हो । ती बेसहरूबाट प्रहार गरिएका क्रुज क्षेप्यास्त्रहरू जम्मा ६ मिनेटमा मस्कोको मध्यभाग पुग्ने सैन्य विश्लेषकहरूको आकलन छ ।
त्यसैले युक्रेनमा मिसाइल बेस राख्नु भनेको रुसले बनाएको लक्ष्मणरेखा नाघ्नु हो भनी पुटिनले चेतावनी दिएका छन् । तर बाइडनले यस्तो लक्ष्मणरेखालाई वास्ता नगर्ने बताएका छन् ।
यसैलाई ध्यानमा राखेर बाइडनसँग मंगलवार भएको शिखरवार्तामा पुटिनले नेटोको थप विस्तार नहुने कानूनी प्रत्याभूतिको माग गरेका छन् । नेटोले रुसविरुद्ध आक्रामक कदमहरू चालिरहेको आरोप लगाउँदै पुटिनले रुसको सीमामा रहेका कुनै पनि मुलुकमा आक्रामक हतियार प्रणाली स्थापित नगर्नका लागि ठोस प्रत्याभूतिको अपेक्षा गरेका छन् ।
तर आफ्ना शत्रुहरूलाई घेराबन्दी गरेर उनीहरूमाथि सुरक्षा जोखिमको तरवार झुण्ड्याउने अमेरिकाको नीतिअन्तर्गत नेटोले रुसको सीमा नजिक आफूलाई विस्तार गर्न खोजेको छ । पुटिन जस्ता चतुर रणनीतिक खेलाडीले यो चाल नबुझ्ने कुरै थिएन । त्यसलाई रोक्नका लागि उनले युक्रेन सीमा नजिक सेना तैनाथी गरेका हुन् र युक्रेनको दोनेत्स्क र लुहान्स्क क्षेत्रमा रहेका विद्रोही समूहहरूलाई समर्थन गरिरहेका हुन् ।
नेटोको आक्रामकतासँगै अमेरिकाको आर्थिक स्वार्थ समेत युक्रेन संकटको प्रमुख कारण हो । रुसले बाल्टिक समुद्र हुँदै जर्मनीसम्म ग्यास पुर्याउन १२ अर्ब डलर लगानीको नोर्ड स्ट्रीम २ पाइपलाइन बनाएपछि अमेरिका र (जर्मनीबाहेक अन्य) युरोपेली मुलुकहरूको पारा तातेको हो ।
संसारको लगभग २४ प्रतिशत प्राकृतिक ग्यासको भण्डार भएको रुसको ग्याजप्रोम कम्पनीले बनाएको यस पाइपलाइनको काम पूरा भइसकेको छ र ग्यास प्रवाह गर्न मात्र बाँकी छ । जर्मनीको उत्पादनमा आधारित अर्थतन्त्रका लागि रुसबाट आएको ग्यास अत्यन्तै महत्त्वपूर्ण स्रोत भएकाले ऊ नोर्ड स्ट्रीम २ को पक्षमा दृढतापूर्वक उभिएको छ ।
उता अमेरिका चाहिँ जर्मनी तथा युरोपलाई आफ्नो लिक्वेफाइड नेचुरल ग्यास (एलएनजी) बेच्न चाहन्छ । तर टाढाबाट ल्याइएको महंगो ग्यास किन्न युरोप इच्छुक छैन ।
युरोपले रुससँग मात्र ग्यास किनेकोमा अमेरिका असन्तुष्ट छ र आफ्नो ग्यासले पनि युरोपेली बजारमा पहुँच पाउनुपर्ने माग गरिरहेको छ । ग्यासमार्फत रुसले शक्ति आर्जन गर्न लागेको अमेरिकाले पचाउन सकेको छैन ।
यहाँ युक्रेन कसरी जोडिन्छ त ? अहिले युक्रेनको बाटो हुँदै पाइपलाइनमार्फत रुसी ग्यास युरोप पुगिरहेको छ । युक्रेनले त्यसबापत ग्यास ट्रान्जिट फी कमाइरहेको छ ।
नोर्ड स्ट्रीम २ ले चाहिँ युक्रेनको बाटो छलेर बाल्टिक समुद्रको बाटो अपनाएपछि युक्रेनमाथि लगाम कस्न रुसलाई सजिलो हुने भएको छ ।
युक्रेन र पोल्यान्ड जस्ता रुसका छिमेकी पूर्वी युरोपेली मुलुकहरू र लिथुआनिया, लाट्भिया र एस्टोनिया जस्ता बाल्टिक मुलुकहरूले रुससँग निहुँ खोजेमा रुसले उनीहरूको ग्यास आपूर्ति रोकिदिन सक्छ । त्यसरी ग्यास आपूर्ति रोकेको सजाय पनि उसले भोग्ने छैन किनकि नोर्ड स्ट्रीम २ मार्फत उसले युरोपेली संघका बजारहरूमा पहुँच कायम राख्नेछ र पैसा पनि कमाइरहनेछ ।
अनि युरोपेली मुलुकहरूले रुससँग निहुँ खोजेमा उसले ग्यास आपूर्ति रोकिदिन सक्ने भएकाले यो रुसको बलियो हतियार भएको विरोधीहरूको तर्क छ । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले यो पाइपलाइन परियोजना क्रेमलिन (रुस सरकार) को खतरनाक भूराजनीतिक हतियार भएको दाबी गरेका छन् ।
अनि क्राइमिया हात पारेको र युरोपेली संघलाई कमजोर बनाउनका लागि विभिन्न गतिविधि गरिरहेको रुसलाई पाइपलाइन परियोजनामार्फत किन पुरस्कृत गर्नुपर्ने भनेर समेत केही युरोपेली मुलुकहरूले प्रश्न उठाइरहेका छन् ।
रुसले चाहिँ ग्यास आपूर्तिको अविरल प्रवाह रोक्ने गैरजिम्मेवार काम आफूबाट नहुने बताउँदै आएको छ ।
नोर्ड स्ट्रीम २ पाइपलाइन जसरी पनि विफल होस् भन्ने अमेरिका र केही युरोपेली मुलुकको उत्कट चाहना रहेको रहस्य ब्लूमबर्ग पत्रिकाले मंगलवार छापेको एउटा खबरमा खुलेको छ । ब्लूमबर्गले हात पारेको दस्तावेजमा उल्लेख भएअनुसार, रुसले युक्रेनमाथि आक्रमण गरेमा अमेरिकाले जर्मनीलाई नोर्ड स्ट्रीम २ ग्यास पाइपलाइन परियोजना बन्द गर्नका लागि दबाब दिनेछ ।
बाइडन प्रशासनले यस्तो परिस्थिति निर्माण भएमा जर्मनीको नयाँ सरकारबाट पाइपलाइन रोक्ने विषयमा प्रतिबद्धता खोजिरहेको ब्लूमबर्गले गोप्य वार्तामा सहभागी एक स्रोतलाई उद्धृत गर्दै लेखेको छ । भनाइको मतलब, नोर्ड स्ट्रीम २ पाइपलाइन रोकियोस् भन्ने अमेरिकी चाहनालाई युक्रेनमाथि रुसको आक्रमणले साकार पार्नेछ । त्यही कारणले गर्दा युक्रेनमाथि आक्रमण गर्न रुसलाई उत्तेजित पार्ने गतिविधिहरू नेटोले हालका दिनमा गरिरहेको हो ।
जर्मनीकी बहालवाला चान्सलर अंगेला मर्कलले अमेरिकाको दबाब सहेर भए पनि नोर्ड स्ट्रीम २ लाई अघि बढाइरहेकी छन् । उनका उत्तराधिकारी (चान्सलर बन्न लागेका) ओलाफ शोल्ज पनि यस पाइपलाइनको पक्षमा देखिएका छन् भने भाइस चान्सलर बन्न लागेका रोबर्ट हाबेकले चाहिँ युक्रेनमा विकसित घटनाक्रमले पाइपलाइन परियोजनामा असर पार्ने बताएका छन् ।
जर्मनीको नियामक संस्थाले यस पाइपलाइनलाई प्रमाणीकरण गर्न मानेको छैन किनकि पाइपलाइनको जर्मन सञ्चालकले जर्मनीको कानूनबमोजिमको काम नगरेको उसको तर्क छ । युक्रेन संकटको बहाना बनाएर अमेरिका र युरोपेली मुलुकहरूले जर्मनीलाई यस पाइपलाइनमार्फत रुसबाट ग्यास प्रवाह नगराउनका लागि दबाब दिने सम्भावना पनि प्रबल छ ।
युरोपलाई आफ्नो ग्यास बेच्नका लागि दबाब दिने उद्देश्यले युक्रेनलाई अमेरिका तथा नेटोले रणभूमि बनाउन खोजेको यसबाट देखिन्छ । बाइडन र पुटिनबीच मंगलवार भएको वार्तामा युद्ध चर्किने परिस्थिति बन्न नदिने भनिए पनि दुवै पक्षको भूराजनीतिक र भूआर्थिक स्वार्थका कारण युद्ध हुन सक्ने सम्भावनालाई पूरै नकार्न भने सकिँदैन ।