
युवापुस्तामाझ लोकप्रिय नाम हो एकदेव लिम्बू । उनले गाएका गीतहरू युवापुस्तामाझ चर्चित छन् ।
त्यही चर्चित गीत र उनको जादूमय स्वरकै कारण उनका फ्यान फलोइङ पनि बढ्दै गएको छ । उनी आफ्नो कलाका कारण मात्रै होइन, फ्यानहरूलाई गर्ने व्यवहारका कारण पनि चर्चामा आउँछन् ।
हालै उनी एक फ्यानको घरमै ‘कन्सर्ट’ गर्न पुगे । स्पीकर, माइक र कन्सर्टमा लगाउने ड्रेससँगै फ्यानको घर पुगेका हुन् ।
खासमा उनी धरान कन्सर्टका लागि गएका थिए । उनकी एक फ्यान जो शारीरिकरुपमा अपाङ्गता छिन्, उनी भने मन भएर पनि सो कन्सर्टमा जान पाइनन् ।
एकदेवले कन्सर्टको सानो झलक फेसबुकमा राखेका थिए । सो भिडियोमा प्रतिक्रिया दिँदै फोङसु लिम्बु नाम गरेकी फ्यानले आफू एकदेवको ठूलो फ्यान भएको र शारीरिकरुपमा अपाङ्गता भएका कारण आउन नसकेको लेखिन् । धरानमै आएर भेट्न नपाउँदा आफूलाई दुःख लागेको र जीवनमा केही गुमाएको महसुस भएको उल्लेख गरेकी थिइन् ।
त्यसपछि एकदेवले सो प्रतिक्रियाको जवाफ दिँदै ठेगाना पठाउन भने ।
ठेगाना पाइसकेपछि एकदेव स्पीकर, माइक र कन्सर्टमा लगाउने ड्रेससहित पुगे फोङसुको घर । उनलाई आफ्नो घरमा देख्दा फोङसुको खुशीको सीमा नै थिएन । उनलाई सपना जस्तो महसुस भएको थियो रे ।
एकदेवले त्यहाँ 'तिम्रो मुटुमा', 'सिउँदोमा सिन्दूर'लगायतका गीत गाएका थिए । ‘मेरो प्रोफाइलमा कमेन्ट गरेपछि मैले उनीसँग भेट्ने फैसला गरेँ र उनले कन्सर्ट जस्तै महसुस गरुन् भनेर स्पिकर, माइक र जुन ड्रेस मैले कन्सर्टमा लगाएको थिएँ, त्यही लगाएर उनको सामु गीत गाएँ,’ एकदेवले फेसबुकमा लेखेका छन्, ‘मेरा लागि मेरा सबै स्रोताहरू महत्त्वपूर्ण हुनुहुन्छ, म आज जे छु उहाँहरूले नै बनाउनु भएको हो ।’