१४ असार २०८३, आइतबार
वामपन्थी ब्याटल

ओलीको दाउ हैसियत देखाइदिने, प्रचण्ड–नेपाल सके आफू जित्ने, नसके एमाले हराउने !

माघ २७, २०७८
ओलीको दाउ हैसियत देखाइदिने, प्रचण्ड–नेपाल सके आफू जित्ने, नसके एमाले हराउने !

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने गरी सरकारले मिति तोकेपछि राजनीति दलहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । 

निर्वाचनलाई लक्षित गरेर संगठन विस्तार, आन्तरिक सर्वेक्षण र शक्ति सन्तुलनको विश्लेषणमा दलहरू केन्द्रित छन् ।

पार्टीको बैठक बस्ने, योजना र निर्वाचन रणनीति तय गर्ने तथा पार्टी पंक्तिलाई निर्वाचनमा परिचालनको काममा राजनीति नेतृत्व व्यस्त हुन थालेका छन् । तर, यसपटकको स्थानीय चुनावमा मुख्यगरी तीन कम्युनिस्ट पार्टीको चुनावी प्रतिस्पर्धालाई अहिलेबाटै धेरैले चासोपूर्वक लिएका छन् ।

२०७४ को संसदीय निर्वाचनमा एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गरेर पार्टी एकतासम्म गरेका थिए । दुई पार्टी एक बन्ने नारालाई मतदाताले पनि मन पराए, र मत दिए । तर, अहिले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी तीन टुक्रा बनेको छ । २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलाबाट नेकपा पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्कियो । तर, एमाले पनि सग्लो रहन सकेन । एमालेबाट माधव नेपालको नेतृत्वमा पार्टी विभाजित भएर नेकपा एकीकृत समाजवादी बन्यो । 

अबको स्थानीय तहको निर्वाचनमा यी तीन पार्टीको उपस्थिति र प्रतिस्पर्धा एक–अर्काका लागि चुनौती बन्ने अवस्था छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहकार्यमा छन् । सत्तारूढ गठबन्धनमा भएका यी दुवै पार्टी चुनावमा पनि गठबन्धन कायम गरेर जानुपर्छ भन्ने मान्यतामा छन् । दुवै पार्टी प्रमुख राजनीतिक एजेण्डामा एकमत छन् ।

सत्तारूढ गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस चुनावी गठबन्धनमा सहमत नभए पनि अरू चार दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको चुनावी गठबन्धन बन्ने सम्भावना छ । कांग्रेसको मुख्य नेतृत्व गठबन्धनकै पक्षमा भए पनि यस बीचमा अगाडि आउने राजनीति एजेन्डाले कांग्रेस–कम्युनिष्टको चुनावी गठबन्धन बन्ने वा नबन्ने भन्ने कुराको निर्क्यौल गर्छ । 

मुख्य गरी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)सँगको सम्झौता संसद्मा लैजाने विषयमा उनीहरू कसरी प्रस्तुत हुन्छन् भन्ने कुराले चुनावी गठबन्धनको विषय निर्धारण गर्नेछ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहमा सकेसम्म आफ्नो उम्मेदवार जिताउने र त्यस्तो सम्भावना नभएमा कुनै हालतमा एमालेको उम्मेदवारलाई जित्न नदिने रणनीति अपनाउने ती दलका नेताहरू बताउँछन् । 

यद्यपि, नेकपा एकीकृत समाजवादीले विज्ञप्ति नै प्रकाशन गरेर आगामी चुनावमा सत्तारूढ गठबन्धनमा रहेका दलहरूबीच सहकार्य हुनुपर्ने प्रस्ताव गरेको छ । मंगलबार अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनमा सामेल सबै दलहरूलाई स्थानीय तहको चुनावमा मिलेर जाने प्रस्ताव गरेको थियो । 

कांग्रेस चुनावी गठबन्धनमा रहँदा वा नरहँदा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सके आफू जित्ने, नसकै एमालेलाई हराउने रणनीतिमा लाग्ने देखिएको छ ।

नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेयता माधव नेपाल र प्रचण्ड उनीसँग रुष्ट छन् । ओलीले पार्टीमा एकलौटी व्यवहार गरेको, व्यक्तिवाद हावी भएको, अहंकार देखाएको जस्ता आरोप नेकपामा रहँदा नै उनीहरूले लगाउने गरेका थिए । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सार्वजनिक भाषणमा आगामी चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने बताउने गरेका छन् । 

अहिले उनीहरू एक अर्काको अस्तित्व नै नस्वीकार्ने अवस्थामा छन् । जसरी हुन्छ एकले अर्कालाई कमजोर पार्ने र सिध्याउने रणनीतिमा यी तीन पार्टी लागेका छन् । आगामी चुनावी प्रतिस्पर्धा पनि यही रणनीतिअनुसार हुने सम्भावना छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहमा सकेसम्म आफ्नो उम्मेदवार जिताउने र त्यस्तो सम्भावना नभएमा कुनै हालतमा एमालेको उम्मेदवारलाई जित्न नदिने रणनीति अपनाउने ती दलका नेताहरू बताउँछन् । 

एमालेको बुझाइ : प्रचण्ड– नेपाल प्रतिस्पर्धी नै होइनन् 

मुख्यगरी माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डकै भूमिकाका कारण केन्द्रदेखि प्रदेशसम्मको सरकारमा प्रतिपक्षमा धकेलिएको एमालेका नेताहरू आगामी चुनावमा माधव नेपाल र प्रचण्डको पार्टीलाई धुलिसात पार्ने योजनामा छन् । 

त्यसका लागि एमाले नेतृत्वले अहिलेको सत्तारूढ गठबन्धन भत्काउन भरमग्दुर प्रयास गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसका नेताहरूसँग संवाद बाक्लो बनाएका छन् । 

गठबन्धन छाड्ने हो भने कांग्रेसलाई एकलौटीरूपमा सरकार चलाउन र एमसीसी समेत संसद्मा अनुमोदन गराउन सघाउने प्रस्ताव एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासमक्ष राखेको चर्चा छ ।

गठबन्धन भत्काउन सके एकीकृत समाजवादी र माओवादी केन्द्रलाई चुनावबाट नामेट गराउन सकिने एमालेको विश्लेषण छ । एमालेका नेताहरू आगामी स्थानीय तहको निर्वाचनमा मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुने दाबी गर्छन् ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आगामी निर्वाचनमा एमाले र कांग्रेसबीचमा प्रतिस्पर्धा हुने बताए । ‘वामपन्थी मत एमालेको पक्षमा आउँछ, वामपन्थीविरोधी मत कांग्रेसमा जान्छ । मतदाता पनि कांग्रेसलाई पराजित गर्न सक्ने शक्ति एमाले नै हो भन्नेमा छन् । त्यसो हुँदा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसको बीचमै हो’, उनले भने । 

आगामी निर्वाचनबाट एमालेले २०७४ को भन्दा राम्रो नतिजा ल्याउने उनले दाबी गरे । ‘स्थानीय तहमा एमालेका जनप्रतिनिधिले गरेको काम र सकारको नेतृत्व गर्दा भएका काम राष्ट्रियता र जनताको पक्षमा छन् । यसले पार्टीको जनमत बढेको विश्लेषण गरेका छौं । आगामी चुनावमा अघिल्लो चुनावको भन्दा बढी स्थानीय तहमा एमालेले जित निकाल्छ’, उनले भने । 

एमाले विभाजनको असरमा चुनावमा नपर्ने उनले बताए । ‘नेताहरू विभाजित भए पनि मतदाता विभाजित छैनन् । फुटको पक्षमा मत जाँदैन । फुटको असर चुनावमा पर्ने ठानेका छैनौं । केही नेताहरू पार्टी छाडेर गए पनि माओवादी केन्द्र र अन्य पार्टीबाट एमालेमा प्रवेश गर्ने त्यो भन्दा बढी संख्यामा छन् । त्यसो हुँदा जनमत बढेकै छ’, ज्ञवालीले भने ।

आगामी चुनावमा एमालेले देशभर एक्लै अरू पार्टीसँग प्रतिस्पर्धा गर्ने उनले बताए । ‘केही निश्चित ठाउँमा त्यहाँको परिस्थितिको आधारमा पार्टी केन्द्रको अनुमति लिएर स्थानीय तहले चुनावी तालमेल गर्न सक्छ । तर, आमरूपमा देशभर एमाले एक्लै चुनावी प्रतिस्पर्धामा जान्छ’, उनले भने । 

गठबन्धनको बलमा एमालेलाई हराउने प्रचण्ड–नेपाल रणनीति

सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका पार्टी भने गठबन्धनको बलमा एमालेको घमण्ड तोड्नुपर्ने पक्षमा छन् ।

मुख्यगरी एमाले नेतृत्वको कारण पार्टी विभाजन भएको, एकीकृत बनेको कम्युनिष्ट आन्दोलन विभाजित भएको, एकलौटी निर्णयको आधारमा संविधान र व्यवस्थालाई खतरामा लैजान खोजेकाले त्यसको नसिहत चुनावबाट दिनुपर्ने ती पार्टीका नेताहरू बताउँछन् । २०७८ जेठ ८ मा गरेको संसद् विघटनपछि एमाले राजनीतिक रूपमा एक्लिएको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूको तर्क छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ आगामी चुनावबाट एमालेको घमण्ड तोडिने दाबी गर्छन् । चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रको त्रिपक्षीय भीडन्त हुने उनको विश्लेषण छ ।

स्थानीय चुनावमा एकअर्कालाई देखाइदिने अभिष्ट पूरा भएपछि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा फेरि कम्युनिस्टहरू एक भएर अगाडि बढ्न सक्ने सम्भावनालाई पनि नेताहरू नकार्दैनन् । ‘सबैको घमण्ड तोडिएपछि आ–आफ्नो कमजोरी रियलाइज गरेर कम्युनिस्टहरू फेरि मिल्न सक्ने सम्भावनालाई समेत नकार्न सकिन्न,’ एक नेताले भने ।

‘एमसीसीका कारण कांग्रेस जनतामा बद्नाम भएको छ । एमाले फूटबाट ग्रसित छ । एमालेलाई सत्ता दिनु बाँदरको हातमा नरिवल हो भन्ने जनताले बुझेका छन् । त्यसो हुँदा जनमत माओवादी केन्द्रको पक्षमा छ’, उनले भने ।

त्यसबाहेक, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको एजेण्डा मिल्ने र राष्ट्रिय सरोकारका विषयमा पनि एक ठाउँमा भएकाले चुनावमा पनि सहकार्य हुने उनले बताए । 

‘हामी एमसीसी पास गर्नुहुन्न र गठबन्धन पनि तोड्नुहुन्न भन्ने पक्षमा छौं । सकेसम्म चुनावमा पाँचै दलको गठबन्धन कायम गरेर एमालेको घमण्ड आगामी चुनावबाट तोडिन्छ’, सापकोटाले भने । 

स्थानीय तहको चुनावमा एमालेलाई पराजित गर्न सके त्यसपछिको समयमा कम्युनिष्ट पार्टीहरूका बीचमा सहकार्यको वातावरण बन्न सक्ने प्रचण्ड र माधव नेपालको आंकलन रहेको उनीहरू निकट नेता बताउँछन् ।

स्थानीय तहको चुनावमा सकेसम्म पाँचै दलको गठबन्धन बनाउन प्रयास गर्ने र त्यो सम्भव नभए कम्तिमा तीन दलको भए पनि गठबन्धन बन्ने एकीकृत समाजवादीका नेताहरू बताउँछन् । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच मात्रै भए पनि चुनावी गठबन्धन बन्ने समाजवादी पार्टीका नेताहरूको विश्लेषण छ । 

‘तीन पार्टीको मात्रै चुनावी गठबन्धन बने पनि पहिलो प्रयास आफ्नो उम्मेदवार जिताउने हुन्छ । त्यस्तो अवस्था नहुने स्थानीय तहमा एमालेको उम्मेदवारलाई कुनै हालतमा जित्न नदिने रणनीति हुन्छ’, समाजवादीका एक नेताले भने । त्यस्तो अवस्थामा बरू कांग्रेस उम्मेदवारको पक्षमा मत जान सक्ने ती नेताले बताए । एकीकृत समाजवादीका नेताहरू चुनावमा एमालेसँग रिस फेर्ने पक्षमा देखिन्छन् ।  

स्थानीय चुनावमा एकअर्कालाई देखाइदिने अभिष्ट पूरा भएपछि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा फेरि कम्युनिस्टहरू एक भएर अगाडि बढ्न सक्ने सम्भावनालाई पनि नेताहरू नकार्दैनन् ।

‘सबैको घमण्ड तोडिएपछि आ–आफ्नो कमजोरी रियलाइज गरेर कम्युनिस्टहरू फेरि मिल्न सक्ने सम्भावनालाई समेत नकार्न सकिन्न,’ एक नेताले भने ।

salt training

कमेन्ट गर्नुहोस्