मेक्सिकोमा झुण्ड बाँधेर उडिरहेका चराहरू रहस्यमय तरिकाले अचानक भुइँमा खसेको अनौठो भिडियो सार्वजनिक भएको छ ।
आठ दिनअघि बिहान साढे ८ बजेतिर कुआउहतेमोक शहरमा चराहरू खसेर मरेपछि सडक र पेटी भरिएका थिए ।
स्तब्ध बनाउने घटनाको भिडियो फूटेज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पहेंलो टाउको भएका काला चराहरू अचानक जमीनमा खसेको देखिन्छ ।
भुइँमा आइपुगेका अधिकांश चरा फेरि उडेका थिए तर कैयौं चाहिँ सडकमा मरेका थिए ।
पशुचिकित्सकले मरेका चराहरूको जाँच गर्दा उनीहरूले विषाक्त धूवाँको सास फेरेको हुन सक्ने देखियो ।
अरू केहीले चाहिँ सयौं चराहरू सँगै उडिरहेको बेलामा शिकारी चरालाई झुक्याउन अचानक दिशा परिवर्तन गरेर खसेको हुन सक्ने अनुमान गरेका छन् ।