
अतिप्राचीन महोत्तरीको जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिर परिसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ ।
पुराणहरुमा वर्णित पुष्प वृष्टिको झल्को दिन महाशिवरात्रि पर्वका अवसरमा मंगलवार दिउँसो मन्दिर परिसर र जलेश्वर नगर परिसरमा पुष्प वृष्टि गराइएकोे हो ।
अति प्राचीन जलभित्र विराजमान भगवान् शिवको यो स्थलबारे थप चासो बढाउन हेलिकोप्टरबाट पुष्प वृष्टि गराइएको जलेश्वर नगर प्रमुख रामशंकर मिश्रले बताए ।
पुष्प वृष्टिका लागि काठमाडौंबाट हेलिकप्टर भाडामा झिकाइएको थियो । मन्दिर परिसरमा आकासबाट विमानले २ फन्का लगाएर पुष्प वृष्टि गराइएको जलेश्वर नगरवासीले बताए । यसका लागि स्थानीय मालीबाट २ क्विन्टल सयपत्री फूल सहयोगस्वरूप प्राप्त भएको थियो । हेलिकप्टरको भाडा लगायतका लागि करीब २ लाख २५ हजार रुपैयाँ खर्च भएको छ । यो खर्च नगरपालिकाको कोषबाट नभई श्रद्धालु शिवभक्तबाट दानस्वरूप जुटेको रकम भएको नगर प्रमुख मिश्रले स्पष्ट पारे ।
पुष्प वृष्टि हुने सूचना फैलिएपछि टाढाटाढाबाट श्रद्धालु भक्तजनको जलेश्वरमा आज भीड लागेको थियो । पुराणमा पुष्प वृष्टिको कुरा सुनेपनि प्रत्यक्ष भने मंगलवारै देखिएको मन्दिर परिसर पुगेका श्रद्धालुले बताए । अतिप्राचीन भएर पनि प्रचारले छायाँमा पर्दै आएको श्री जलेश्वरनाथबारे चासो बढाउन पुष्प वृष्टि कार्यक्रमले सहयोग पुग्ने उनीहरूको विश्वास थियो ।
‘श्री जलेश्वरनाथ पवित्र शिवधाम हो तर यसको प्रचार राम्रो हुन नसकेर ओझेल पर्दै आएको छ,’ जलेश्वर–१ का वासिन्दा सुधीर साहले भने, ‘पुराणवर्णित विमानबाट पुष्प वृष्टिको आज सम्पन्न कार्यक्रमले यस ठाउँबारे चासो बढ्ने अपेक्षा छ ।’
जलेश्वरनाथ अनादिकालमा भगवान् शिवले सपनामा दिएको संकेतका आधारमा ३ सन्तले ठाउँ पत्ता लगाएका विश्वास गरिए पनि माटोमुनि गडेको शिवलिङ्ग निकाल्न नसकेपछि सन्तहरूकै आराधनाबाट प्रशन्न भएका शिव आफैं प्रकट भएको वर्णन पुराणमा छ । गहिरो जलाशयभित्र रहेको शिवलिङ्ग १८ वटा सिँढीमुनि छ । महाशिवरात्रि, साउने सोमवार र अन्य पर्व नेपाली सेनाले लिङ्ग छोपिएको जलाशयको पानी बाहिर निकालेपछि शिवलिङ्गको दर्शन गर्न सर्वसाधारणलाई सहज हुँदै आएको छ ।