
रुस र युक्रेनबीच चलिरहेको युद्ध १२औं दिनमा प्रवेश गरिसकेको छ । यो युद्ध कुन दिशातिर मोडिँदैछ र यसले ल्याउने सम्भावित परिणाम के होलान् भनी विभिन्न किसिमका विश्लेषणहरू आइरहेका छन् ।
शनिवार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको सम्बोधनमा एउटा वाक्य परेको छ जसप्रति ध्यान दिनुपर्ने देखिन्छ । उनले भने, ‘युक्रेनको नेतृत्वले अहिले जे गरिरहेको छ त्यसलाई जारी राख्ने हो भने युक्रेन राज्यको भविष्यमै प्रश्न उठ्नेछ र त्यसको जिम्मेवारी उनीहरूकै हुनेछ ।’
पुटिनको यस चेतावनीयुक्त बयानलाई कसरी बुझ्ने ? युक्रेन राज्य नै अब रहँदैन भन्ने पुटिनको आशय हो ? कि युक्रेन राज्य त रहन्छ तर त्यसको क्षेत्रफल उल्लेख्य मात्रामा घट्छ भन्न खोजेका हुन् पुटिनले ?
कतिपय विश्लेषकहरूले नीपर नदीको पूर्वतर्फको भाग रुसको अधीनमा रहने र पश्चिम युक्रेन छुट्टै राज्य बन्ने समेत परिकल्पना गरिरहेका छन् । तर त्यसले जन्माउन सक्ने सशस्त्र विद्रोहलाई रुसले नियन्त्रण गर्न सक्ला ?
पुटिनको यस बयानले युद्धको वर्तमान स्थितिको पनि तस्वीर प्रस्तुत गरेको देखिन्छ । युक्रेनी अधिकारी तथा सञ्चारमाध्यमले निकै बढाइचढाइकन आफ्नो उपलब्धिहरूको बखान गरे पनि तटस्थ विश्लेषकहरूको कुरा सुन्दा रुसले यो युद्ध लगभग जितिसकेको छ ।
न्यूनतम नागरिक हताहती होस् भनेर रुसले आफ्ना खतरनाक हतियार प्रयोग गरेको छैन र अन्धाधुन्ध कारवाही पनि चलाएको छैन । त्यसैले रुसी कारवाही सोचेभन्दा ढिलो गतिमा अघि बढिरहेको छ । रुसी कारवाही सुस्त बनेको (स्टल्ड) भनी पश्चिमीहरूले व्याख्या गरे पनि त्यो थप आक्रामक कारवाहीका लागि लिइएको विश्राम (अपरेसनल पज) मात्र हुनसक्ने द गार्डियन पत्रिकामा पिटर बोमन्टले अनुमान गरेका छन् ।
सतहमा आएका भन्दा निकै भिन्न कुराहरू युद्धभूमिमा भइरहेको हुन सक्ने तथ्यलाई हामीले मनन गर्नुपर्ने हुन्छ ।
रुसीहरूका अनुसार, युक्रेनी सेना आफ्नो क्षमताको एक चौथाइमा झरिसकेको छ । अर्थात्, रुसले जुन कारण लिएर युद्ध शुरू गरेको हो त्यसमा ऊ सफल हुन थालेको छ । युक्रेनलाई असैन्यीकरण र नाजीविहीनीकरण गर्ने रुसको लक्ष्य हो ।
बाँकी रहेका युक्रेनी सैनिकहरू किएभ, ओडेसा, मारिउपोल लगायतका प्रमुख शहरहरूमा रुसीहरूसँग लडिरहेका छन् । रुसीहरूले रणनीति बनाएरै युक्रेनी सेनालाई शहरमा घेराबन्दी गरेर सफाइ कारवाही चलाइरहेका छन् ।
सन् १९९४ मा रुसी सैनिकहरूले शहर प्रतिरक्षा गर्ने चेचेनहरूको अठोटको आकलन गर्न नसक्दा निकै क्षति बेहोर्नुपरेको थियो भने दोस्रो चेचेन युद्धमा उनीहरूले त्यसबाट पाठ सिकेर युद्धमा सफलता पाएका थिए । त्यही किसिमको रणनीति अहिले युक्रेनमा रुसी सेनाले अपनाइरहेको बताइन्छ ।
तर शहरी युद्ध (अर्बन वारफेयर) मा नागरिक हताहतीको सम्भावना अत्यधिक छ किनकि युक्रेनका नवनाजीहरूले नागरिकलाई ढाल बनाएर युद्ध गरिरहेका छन् । नागरिकलाई सुरक्षित रूपमा बाहिर जान नवनाजीहरूले नदिँदा उनीहरू रोएको भिडियोहरू सार्वजनिक भएका छन् ।
रुसले युक्रेनको आकाशमा पूर्ण नियन्त्रण कायम गरिसकेको छ । युद्धको पहिलो दुई दिनमा रुसले आफ्नो खतरनाक एस–४०० प्रतिरक्षा प्रणाली उपयोग गरेर युक्रेनी वायुसेनालाई तहसनहस पारेको खबर छ ।
रुसले युक्रेनमा ‘एयर सुपेरियोरिटी’ कायम गरेको भएरै युक्रेनी राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पश्चिमलाई युक्रेनको आकाशमा ‘नो फ्लाई जोन’ घोषणा गराउन भरमग्दूर प्रयास गरिरहेका छन् । तर रुससँग सिधै भिडन्त हुने स्थिति आउने भएकाले पश्चिमले युक्रेनको यस मागलाई पूरा नगर्ने भएको छ ।
युक्रेनको जलसेनालाई पनि रुसले बेकामे बनाइसकेको छ । आजोभ सागरमा युक्रेनको जलसेनालाई रुसी जलसेनाले ‘न्युट्रलाइज’ गरिसकेको छ । हुँदाहुँदा रुसले कृष्ण सागरमा रहेको तटीय शहर ओडेसालाई नियन्त्रणमा लिन सक्ने देखिन्छ । त्यस्तो स्थितिमा युक्रेन वस्तुगत रूपमा भूपरिवेष्ठित मुलुक बन्नेछ । पुटिनले युक्रेन राज्यको भविष्य भनेर यसलाई संकेत गरेका त हैनन् ?
रुसले युक्रेनको पश्चिमी प्रान्त बाहेक अन्य सबै ठाउँका महत्त्वपूर्ण रणनीतिक विन्दुहरूमा नियन्त्रण कायम गरिसकेको वा गर्ने स्थितिमा रहेको देखिन्छ । माथि उल्लेख भएअनुसार, युद्ध लगभग समाप्त भइसकेको छ तर पश्चिम रुसको सहज विजय भएमा आफ्नो प्रतिष्ठा धूलिसात् हुने भएकाले यस युद्धलाई तन्काइरहन चाहन्छ । जेलेन्स्कीलाई आत्मसमर्पण गर्नबाट यही कारणले गर्दा पश्चिमले रोकिरहेको बताइन्छ ।
हुँदाहुँदा कतिसम्म भने अघिल्लो साता बेलारुसमा रुसी प्रतिनिधिसँग वार्ता गर्न गएका एक युक्रेनी अधिकारी डेनिस किरीभलाई युक्रेनकै सुरक्षाबलले गोली हानेर मारेको बताइएको छ । युक्रेनी सांसद ओलेक्सी होन्चारेन्कोले टेलिग्राममा यसबारे जानकारी दिएका हुन् । तर युक्रेनीहरूले उनी रुसबाट आफ्नो देशको प्रतिरक्षाका क्रममा मारिएको भन्दै उनलाई नायकका रूपमा मरणोपरान्त सम्मान गरेका छन् ।
भनाइको मतलब, रुससँग कूटनीतिक पहलमार्फत सम्झौता गर्न अधिकारीहरूलाई सुरक्षाबलमा रहेका नवनाजीहरूले रोकिरहेको प्रतीत हुन्छ । यस्तो स्थितिमा आज पुनः बेलारुसमा हुन लागेको दोस्रो चरणको वार्ताबाट सार्थक निष्कर्ष निस्कनेमा शंका गर्न सकिन्छ ।
रुसले युक्रेन तटस्थ बस्ने अनि आफ्नो भूमिमा घातक आणविक हतियार नराख्ने शर्त मान्नैपर्ने भनिरहेको छ । त्यसलाई नमानेमा युक्रेन राज्यको अस्तित्व नै नरहने पुटिनको भनाइबाट संकेत पाइन्छ । रुसको यस्तो अडान अनि रुसविरुद्ध लडिरहने युक्रेनी प्रतिबद्धताका कारण वार्ताको सफलता शंकाको घेरामा रहेको हो ।
कतिपयले सोमवारदेखि युक्रेनमा रुसले दोस्रो चरणको कारवाही थाल्ने भनिरहेका छन् । ओडेसा र किएभमा नियन्त्रण कायम गर्न रुसले अहिलेको भन्दा कठोर कारवाही गर्ने उनीहरूको आकलन छ ।
त्यसैको पूर्वसंकेतस्वरूप रुसले किएभ, खार्किभ, मारिउपोल, सुमी तथा अन्य शहरमा कारवाही रोक्ने र मानवीय कोरिडोर बनाउने घोषणा गरेको भनी इन्टरफ्याक्स समाचार संस्थाले खबर दिएको छ । तर रुसले सुरक्षित स्थानमा जान चाहने मानिसहरू रुस वा बेलारुसमा मात्र जान पाउने, युक्रेनको भूभागमा उनीहरूलाई जान नदिने उर्दी जारी गरेको भन्दै युक्रेनी अधिकारीहरूले आलोचना गरेका छन् ।
त्यसरी नागरिकहरूलाई सुरक्षित स्थानमा पठाएपछि रुसी सेनाले कठोर कारवाही थाल्न सक्छ । विशेषगरी मारिउपोल नवनाजी आजोभ बटालियनको गढ भएकाले त्यहाँ रुसले सफाइ कारवाही चलाउन खोजेको छ । तर माथि पनि उल्लेख भएअनुसार, नवनाजीहरूले निर्दोेष नागरिकलाई मानवढाल बनाउने गरेकाले अत्यधिक रक्तपात हुने देखिन्छ ।
रुसी सेनाले डोनबास क्षेत्रमा रहेको आर्म्ड फोर्सेस अफ युक्रेन (एएफयू) लाई पनि घेराबन्दी गर्दै कारवाही चलाएर परास्त गर्ने योजना बनाएको सैन्य विश्लेषकहरू बताउँछन् । त्यसलाई रुसीहरूले प्राथमिकतामा राख्ने बलियो कारण छ । डोनबासमा एएफयू परास्त भएमा युक्रेनको सशस्त्र बल तथा भारी सैन्य उपकरण धराशायी हुन्छ ।
अन्य ठाउँमा भन्दा किएभमा रुसीहरूलाई कारवाही चलाउन गाह्रो हुनेछ । किएभ निकै ठूलो शहर हो र त्यहाँ सैनिक तथा विभिन्न लडाकू समूह गरी कम्तीमा ५० हजार योद्धा रहेको बताइन्छ । मानवीय कोरिडोर बनाएर नागरिकलाई सुरक्षित निष्काशन नगरिएमा त्यहाँ अकल्पनीय रक्तपात हुने देखिन्छ ।
आजको वार्तामा युक्रेनी प्रतिनिधिमण्डलले युद्ध रोक्न सहमति जनाएमा थप नागरिकले ज्यान गुमाउनुपर्ने छैन । तर पश्चिमले युक्रेनलाई अहिलेको स्थितिमा रुससामु आत्मसमर्पण गर्न दिने देखिँदैन । युद्ध कहिलेसम्म लम्बिन्छ थाहा छैन भनी अमेरिकाका परराष्ट्रमन्त्रीले यसको संकेत दिइसकेका छन् ।
आजको वार्ता विफल भएमा (त्यसको सम्भावना अत्यधिक छ) रुसले आगामी १० दिनमा कारवाहीलाई तीव्रता दिएर युद्ध टुंग्याउने प्रयास गर्न सक्छ । अमेरिकी सेनाका सेवानिवृत्त कर्नेल डग्लस म्याकग्रेगरले यस्तै अनुमान गरेका छन् ।
तर रुस कतिसम्म अघि बढ्ला भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ । पुटिनले डोनबास क्षेत्रका दुई जनगणतन्त्रलाई सहयोग र प्रतिरक्षा मात्र अपुग भएको बताएका छन् । डोनबासमा रहेका युक्रेनी सुरक्षा बलहरूले पश्चिमबाट विभिन्न सहयोग पाइरहने भएकाले त्यहाँबाट तिनीहरूलाई हटाउने मात्र नभई त्यसभन्दा पश्चिमको भाग पनि सुरक्षित बनाउनुपर्ने पुटिनको सोच देखिन्छ ।
त्यो भनेको नीपर नदीसम्मको भाग हो ? कि पूरै युक्रेन ? पुटिनको दिमागमा के चलिरहेको कसैलाई थाहा छैन । रुस अब धेरै अघि बढ्यो भनेर पश्चिमले युक्रेनमा हस्तक्षेप गर्छ कि ? त्यसका लागि पनि रुस तयार देखिन्छ । आफ्नो सुरक्षा बलियो पार्नका लागि रुस जुन हदसम्म पनि जान सक्छ ।
आणविक हतियारको उपयोग पनि उसका लागि असम्भव कुरा देखिँदैन । आणविक हतियार उपयोग गर्दा पृथ्वी नै ध्वस्त हुने सम्भावनालाई पनि पुटिनले सन्दर्भ बनाएका छन् । रुस नै रहेन भने पृथ्वीको के काम भनेर उनले बयान दिएका छन् । त्यसैले यो युद्ध जित्नका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको पुटिनको अडान देखिन्छ ।
पश्चिम चाहिँ कुन हदसम्म जान तयार छ ? यस युद्धलाई युक्रेनमै सीमित राख्ने कि नेटो र युरोपेली संघमा पनि पुर्याउने ? पश्चिमले यसको रणनीति त बनाएको होला तर पुटिनको विजय भएको स्थितिमा आफ्नो विश्वव्यापी प्रतिष्ठा ध्वस्त हुने भएकाले ऊ यो युद्ध तन्किरहोस् भन्ने इच्छा राख्छ ।
सन् १९८० को दशकमा तत्कालीन सोभियत संघ अफगानिस्तानमा फसे जस्तो रुस युक्रेनमा फसोस् भन्ने पश्चिमको चाहना हो । रुस त्यस धरापमा पर्ला कि त्यसबाट उम्किने रणनीति उससँग छ ? अहिलेको महत्त्वपूर्ण प्रश्न यो हो । आखिर, युद्ध शुरू गर्न सजिलो छ तर त्यसलाई टुंग्याउन निकै गाह्रो हुन्छ ।