माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
रुस र युक्रेनबीच चलिरहेको युद्ध १२औं दिनमा प्रवेश गरिसकेको छ । यो युद्ध कुन दिशातिर मोडिँदैछ र यसले ल्याउने सम्भावित परिणाम के होलान् भनी विभिन्न किसिमका विश्लेषणहरू आइरहेका छन् ।
शनिवार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको सम्बोधनमा एउटा वाक्य परेको छ जसप्रति ध्यान दिनुपर्ने देखिन्छ । उनले भने, ‘युक्रेनको नेतृत्वले अहिले जे गरिरहेको छ त्यसलाई जारी राख्ने हो भने युक्रेन राज्यको भविष्यमै प्रश्न उठ्नेछ र त्यसको जिम्मेवारी उनीहरूकै हुनेछ ।’
पुटिनको यस चेतावनीयुक्त बयानलाई कसरी बुझ्ने ? युक्रेन राज्य नै अब रहँदैन भन्ने पुटिनको आशय हो ? कि युक्रेन राज्य त रहन्छ तर त्यसको क्षेत्रफल उल्लेख्य मात्रामा घट्छ भन्न खोजेका हुन् पुटिनले ?
कतिपय विश्लेषकहरूले नीपर नदीको पूर्वतर्फको भाग रुसको अधीनमा रहने र पश्चिम युक्रेन छुट्टै राज्य बन्ने समेत परिकल्पना गरिरहेका छन् । तर त्यसले जन्माउन सक्ने सशस्त्र विद्रोहलाई रुसले नियन्त्रण गर्न सक्ला ?
पुटिनको यस बयानले युद्धको वर्तमान स्थितिको पनि तस्वीर प्रस्तुत गरेको देखिन्छ । युक्रेनी अधिकारी तथा सञ्चारमाध्यमले निकै बढाइचढाइकन आफ्नो उपलब्धिहरूको बखान गरे पनि तटस्थ विश्लेषकहरूको कुरा सुन्दा रुसले यो युद्ध लगभग जितिसकेको छ ।
न्यूनतम नागरिक हताहती होस् भनेर रुसले आफ्ना खतरनाक हतियार प्रयोग गरेको छैन र अन्धाधुन्ध कारवाही पनि चलाएको छैन । त्यसैले रुसी कारवाही सोचेभन्दा ढिलो गतिमा अघि बढिरहेको छ । रुसी कारवाही सुस्त बनेको (स्टल्ड) भनी पश्चिमीहरूले व्याख्या गरे पनि त्यो थप आक्रामक कारवाहीका लागि लिइएको विश्राम (अपरेसनल पज) मात्र हुनसक्ने द गार्डियन पत्रिकामा पिटर बोमन्टले अनुमान गरेका छन् ।
सतहमा आएका भन्दा निकै भिन्न कुराहरू युद्धभूमिमा भइरहेको हुन सक्ने तथ्यलाई हामीले मनन गर्नुपर्ने हुन्छ ।
रुसीहरूका अनुसार, युक्रेनी सेना आफ्नो क्षमताको एक चौथाइमा झरिसकेको छ । अर्थात्, रुसले जुन कारण लिएर युद्ध शुरू गरेको हो त्यसमा ऊ सफल हुन थालेको छ । युक्रेनलाई असैन्यीकरण र नाजीविहीनीकरण गर्ने रुसको लक्ष्य हो ।
बाँकी रहेका युक्रेनी सैनिकहरू किएभ, ओडेसा, मारिउपोल लगायतका प्रमुख शहरहरूमा रुसीहरूसँग लडिरहेका छन् । रुसीहरूले रणनीति बनाएरै युक्रेनी सेनालाई शहरमा घेराबन्दी गरेर सफाइ कारवाही चलाइरहेका छन् ।
सन् १९९४ मा रुसी सैनिकहरूले शहर प्रतिरक्षा गर्ने चेचेनहरूको अठोटको आकलन गर्न नसक्दा निकै क्षति बेहोर्नुपरेको थियो भने दोस्रो चेचेन युद्धमा उनीहरूले त्यसबाट पाठ सिकेर युद्धमा सफलता पाएका थिए । त्यही किसिमको रणनीति अहिले युक्रेनमा रुसी सेनाले अपनाइरहेको बताइन्छ ।
तर शहरी युद्ध (अर्बन वारफेयर) मा नागरिक हताहतीको सम्भावना अत्यधिक छ किनकि युक्रेनका नवनाजीहरूले नागरिकलाई ढाल बनाएर युद्ध गरिरहेका छन् । नागरिकलाई सुरक्षित रूपमा बाहिर जान नवनाजीहरूले नदिँदा उनीहरू रोएको भिडियोहरू सार्वजनिक भएका छन् ।
रुसले युक्रेनको आकाशमा पूर्ण नियन्त्रण कायम गरिसकेको छ । युद्धको पहिलो दुई दिनमा रुसले आफ्नो खतरनाक एस–४०० प्रतिरक्षा प्रणाली उपयोग गरेर युक्रेनी वायुसेनालाई तहसनहस पारेको खबर छ ।
रुसले युक्रेनमा ‘एयर सुपेरियोरिटी’ कायम गरेको भएरै युक्रेनी राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पश्चिमलाई युक्रेनको आकाशमा ‘नो फ्लाई जोन’ घोषणा गराउन भरमग्दूर प्रयास गरिरहेका छन् । तर रुससँग सिधै भिडन्त हुने स्थिति आउने भएकाले पश्चिमले युक्रेनको यस मागलाई पूरा नगर्ने भएको छ ।
युक्रेनको जलसेनालाई पनि रुसले बेकामे बनाइसकेको छ । आजोभ सागरमा युक्रेनको जलसेनालाई रुसी जलसेनाले ‘न्युट्रलाइज’ गरिसकेको छ । हुँदाहुँदा रुसले कृष्ण सागरमा रहेको तटीय शहर ओडेसालाई नियन्त्रणमा लिन सक्ने देखिन्छ । त्यस्तो स्थितिमा युक्रेन वस्तुगत रूपमा भूपरिवेष्ठित मुलुक बन्नेछ । पुटिनले युक्रेन राज्यको भविष्य भनेर यसलाई संकेत गरेका त हैनन् ?
रुसले युक्रेनको पश्चिमी प्रान्त बाहेक अन्य सबै ठाउँका महत्त्वपूर्ण रणनीतिक विन्दुहरूमा नियन्त्रण कायम गरिसकेको वा गर्ने स्थितिमा रहेको देखिन्छ । माथि उल्लेख भएअनुसार, युद्ध लगभग समाप्त भइसकेको छ तर पश्चिम रुसको सहज विजय भएमा आफ्नो प्रतिष्ठा धूलिसात् हुने भएकाले यस युद्धलाई तन्काइरहन चाहन्छ । जेलेन्स्कीलाई आत्मसमर्पण गर्नबाट यही कारणले गर्दा पश्चिमले रोकिरहेको बताइन्छ ।
हुँदाहुँदा कतिसम्म भने अघिल्लो साता बेलारुसमा रुसी प्रतिनिधिसँग वार्ता गर्न गएका एक युक्रेनी अधिकारी डेनिस किरीभलाई युक्रेनकै सुरक्षाबलले गोली हानेर मारेको बताइएको छ । युक्रेनी सांसद ओलेक्सी होन्चारेन्कोले टेलिग्राममा यसबारे जानकारी दिएका हुन् । तर युक्रेनीहरूले उनी रुसबाट आफ्नो देशको प्रतिरक्षाका क्रममा मारिएको भन्दै उनलाई नायकका रूपमा मरणोपरान्त सम्मान गरेका छन् ।
भनाइको मतलब, रुससँग कूटनीतिक पहलमार्फत सम्झौता गर्न अधिकारीहरूलाई सुरक्षाबलमा रहेका नवनाजीहरूले रोकिरहेको प्रतीत हुन्छ । यस्तो स्थितिमा आज पुनः बेलारुसमा हुन लागेको दोस्रो चरणको वार्ताबाट सार्थक निष्कर्ष निस्कनेमा शंका गर्न सकिन्छ ।
रुसले युक्रेन तटस्थ बस्ने अनि आफ्नो भूमिमा घातक आणविक हतियार नराख्ने शर्त मान्नैपर्ने भनिरहेको छ । त्यसलाई नमानेमा युक्रेन राज्यको अस्तित्व नै नरहने पुटिनको भनाइबाट संकेत पाइन्छ । रुसको यस्तो अडान अनि रुसविरुद्ध लडिरहने युक्रेनी प्रतिबद्धताका कारण वार्ताको सफलता शंकाको घेरामा रहेको हो ।
कतिपयले सोमवारदेखि युक्रेनमा रुसले दोस्रो चरणको कारवाही थाल्ने भनिरहेका छन् । ओडेसा र किएभमा नियन्त्रण कायम गर्न रुसले अहिलेको भन्दा कठोर कारवाही गर्ने उनीहरूको आकलन छ ।
त्यसैको पूर्वसंकेतस्वरूप रुसले किएभ, खार्किभ, मारिउपोल, सुमी तथा अन्य शहरमा कारवाही रोक्ने र मानवीय कोरिडोर बनाउने घोषणा गरेको भनी इन्टरफ्याक्स समाचार संस्थाले खबर दिएको छ । तर रुसले सुरक्षित स्थानमा जान चाहने मानिसहरू रुस वा बेलारुसमा मात्र जान पाउने, युक्रेनको भूभागमा उनीहरूलाई जान नदिने उर्दी जारी गरेको भन्दै युक्रेनी अधिकारीहरूले आलोचना गरेका छन् ।
त्यसरी नागरिकहरूलाई सुरक्षित स्थानमा पठाएपछि रुसी सेनाले कठोर कारवाही थाल्न सक्छ । विशेषगरी मारिउपोल नवनाजी आजोभ बटालियनको गढ भएकाले त्यहाँ रुसले सफाइ कारवाही चलाउन खोजेको छ । तर माथि पनि उल्लेख भएअनुसार, नवनाजीहरूले निर्दोेष नागरिकलाई मानवढाल बनाउने गरेकाले अत्यधिक रक्तपात हुने देखिन्छ ।
रुसी सेनाले डोनबास क्षेत्रमा रहेको आर्म्ड फोर्सेस अफ युक्रेन (एएफयू) लाई पनि घेराबन्दी गर्दै कारवाही चलाएर परास्त गर्ने योजना बनाएको सैन्य विश्लेषकहरू बताउँछन् । त्यसलाई रुसीहरूले प्राथमिकतामा राख्ने बलियो कारण छ । डोनबासमा एएफयू परास्त भएमा युक्रेनको सशस्त्र बल तथा भारी सैन्य उपकरण धराशायी हुन्छ ।
अन्य ठाउँमा भन्दा किएभमा रुसीहरूलाई कारवाही चलाउन गाह्रो हुनेछ । किएभ निकै ठूलो शहर हो र त्यहाँ सैनिक तथा विभिन्न लडाकू समूह गरी कम्तीमा ५० हजार योद्धा रहेको बताइन्छ । मानवीय कोरिडोर बनाएर नागरिकलाई सुरक्षित निष्काशन नगरिएमा त्यहाँ अकल्पनीय रक्तपात हुने देखिन्छ ।
आजको वार्तामा युक्रेनी प्रतिनिधिमण्डलले युद्ध रोक्न सहमति जनाएमा थप नागरिकले ज्यान गुमाउनुपर्ने छैन । तर पश्चिमले युक्रेनलाई अहिलेको स्थितिमा रुससामु आत्मसमर्पण गर्न दिने देखिँदैन । युद्ध कहिलेसम्म लम्बिन्छ थाहा छैन भनी अमेरिकाका परराष्ट्रमन्त्रीले यसको संकेत दिइसकेका छन् ।
आजको वार्ता विफल भएमा (त्यसको सम्भावना अत्यधिक छ) रुसले आगामी १० दिनमा कारवाहीलाई तीव्रता दिएर युद्ध टुंग्याउने प्रयास गर्न सक्छ । अमेरिकी सेनाका सेवानिवृत्त कर्नेल डग्लस म्याकग्रेगरले यस्तै अनुमान गरेका छन् ।
तर रुस कतिसम्म अघि बढ्ला भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ । पुटिनले डोनबास क्षेत्रका दुई जनगणतन्त्रलाई सहयोग र प्रतिरक्षा मात्र अपुग भएको बताएका छन् । डोनबासमा रहेका युक्रेनी सुरक्षा बलहरूले पश्चिमबाट विभिन्न सहयोग पाइरहने भएकाले त्यहाँबाट तिनीहरूलाई हटाउने मात्र नभई त्यसभन्दा पश्चिमको भाग पनि सुरक्षित बनाउनुपर्ने पुटिनको सोच देखिन्छ ।
त्यो भनेको नीपर नदीसम्मको भाग हो ? कि पूरै युक्रेन ? पुटिनको दिमागमा के चलिरहेको कसैलाई थाहा छैन । रुस अब धेरै अघि बढ्यो भनेर पश्चिमले युक्रेनमा हस्तक्षेप गर्छ कि ? त्यसका लागि पनि रुस तयार देखिन्छ । आफ्नो सुरक्षा बलियो पार्नका लागि रुस जुन हदसम्म पनि जान सक्छ ।
आणविक हतियारको उपयोग पनि उसका लागि असम्भव कुरा देखिँदैन । आणविक हतियार उपयोग गर्दा पृथ्वी नै ध्वस्त हुने सम्भावनालाई पनि पुटिनले सन्दर्भ बनाएका छन् । रुस नै रहेन भने पृथ्वीको के काम भनेर उनले बयान दिएका छन् । त्यसैले यो युद्ध जित्नका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको पुटिनको अडान देखिन्छ ।
पश्चिम चाहिँ कुन हदसम्म जान तयार छ ? यस युद्धलाई युक्रेनमै सीमित राख्ने कि नेटो र युरोपेली संघमा पनि पुर्याउने ? पश्चिमले यसको रणनीति त बनाएको होला तर पुटिनको विजय भएको स्थितिमा आफ्नो विश्वव्यापी प्रतिष्ठा ध्वस्त हुने भएकाले ऊ यो युद्ध तन्किरहोस् भन्ने इच्छा राख्छ ।
सन् १९८० को दशकमा तत्कालीन सोभियत संघ अफगानिस्तानमा फसे जस्तो रुस युक्रेनमा फसोस् भन्ने पश्चिमको चाहना हो । रुस त्यस धरापमा पर्ला कि त्यसबाट उम्किने रणनीति उससँग छ ? अहिलेको महत्त्वपूर्ण प्रश्न यो हो । आखिर, युद्ध शुरू गर्न सजिलो छ तर त्यसलाई टुंग्याउन निकै गाह्रो हुन्छ ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...