२४ असार २०८३, बुधबार
चुनावी तालमेलको बहस

कांग्रेस-कम्युनिस्ट चुनावी तालमेलको 'केमिस्ट्री' : सम्भव होला तेल र पानीको घुलन ?

फागुन २६, २०७८
कांग्रेस-कम्युनिस्ट चुनावी तालमेलको 'केमिस्ट्री' : सम्भव होला तेल र पानीको घुलन ?

‘कांग्रेसरूपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ । चुनावको मैदानमा कांग्रेस रूपी हात्ती लम्किँदै गर्दा हात्तीको ठूलो कान देखेर चमेराहरू हात्तीको कानमा लाग्न खोज्दैछन्, हात्तीको कानमा ओत लाग्ने चमेरोको भरोसा हुँदैन भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ,’ नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रम उद्घाटनका क्रममा फागुन २१ गते शनिवार महामन्त्री धनराज गुरुङले दिएको एउटा अभिव्यक्तिले सत्ता गठबन्धनमा चिसो पसेको छ । 

गुरुङको आसय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एसतर्फ लक्षित रहेको बुझ्न कठीन छैन । 

उनले त्यसो भनिरहँदा कांग्रेस समर्थित कर्मचारीले ताली बजाए भने मञ्चमा रहेका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले अलि असहज महशुस गरे । 

त्यसको तीन दिनपछि अर्थात फागुन २४ गते गठबन्धनका नेताहरूलाई चित्त दुखाउने अभिव्यक्ति नदिनू भनेर देउवाले कांग्रेस नेताहरूलाई निर्देशन दिएका थिए । 

गुरुङको अभिव्यक्तिलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा आक्रोश व्यक्त गरेका छन् । 

उपसभापति गुरुङ कुनै दल या नेतालाई होच्याउने नभई चुनावमा स्वच्छ प्रतिष्पर्धा हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको बताउँछन् । ‘भोलि पार्टीले के गर्छ त्यो बेग्लै कुरा भयो, चुनावमा तालमेल गर्नुहुँदैन भन्ने मेरो कुरा हो,’ गुरुङले बिहीवार लोकान्तरसँग भने, ‘मेरो कुरा कांग्रेसका धेरै कार्यकर्ताले मन पराएका छन् ।’

‘एकथरी कांग्रेसले हामीलाई होच्याएर बोल्ने गरेका छन् । चुनावमा २३ सिट जितेको पार्टीलाई हामीले सिंहासनमा पुर्‍याएको हो । कांग्रेस–एमाले दुवैलाई रच्छ्यानमा पुर्‍याउने तागत हामीसँग छ,’ बुधवार पार्टीको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए ।  

गुरुङको भनाइविपरीत देउवाले आज (बिहीवार) वीरगञ्जमा गएर चुनावमा तालमेल हुन सक्ने अभिव्यक्ति दिए ।

‘हामीले सबैको सहयोग लिएर अगाडि बढ्नुपर्छ । हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो ? एक्लै बहुमत ल्याउन सकिँदैन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने अवस्था छ,’ पर्सा कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा देउवाले भने । 

गठबन्धनबारे कांग्रेसमा दुई धार, युवा पुस्ताको अरुचि

चुनावी तालमेलबारे नेपाली कांग्रेसका स्पष्ट दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवालगायत संस्थापन पक्षका नेताहरू चुनावी तालमेलको पक्षमा देखिएका छन् भने डा. शेखर कोइराला पक्षधर नेताहरू तालमेलको पक्षमा देखिएका छैनन् । माओवादी र नेकपा एसलाई हात्तीको कानमा बस्न खोजेको चमेरोको संज्ञा दिने उपसभापति गुरुङ कोइराला प्यानलबाट उपसभापति निर्वाचित भएका थिए । 

स्वयं कोइरालाले पनि कांग्रेस चुनाव लड्नका लागि एक्लै सक्षम रहेकोले तालमेल गर्न नहुने धारणा व्यक्त गर्दै आएका छन् । 

‘चुनावपछि तालमेल गर्नु प्राकृतिक हुन्छ, चुनावअघि तालमेल गर्दा दलको हैसियत नाप्ने मौका पनि हुँदैन,’ कोइराला पक्षका एक नेताले लोकान्तरसँग भने, ‘भविष्यमा मेयर, गाउँपालिका अध्यक्ष या सांसद बन्छु भनेर पाँच वर्षसम्म जनतासँग काम गरेको पार्टीका साथीलाई चुनावी तालमेलको नाममा कसरी शहीद बनाउन मिल्छ भन्ने हाम्रो धारणा हो ।’

उपसभापति गुरुङ कुनै दल या नेतालाई होच्याउने नभई चुनावमा स्वच्छ प्रतिष्पर्धा हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको बताउँछन् । ‘भोलि पार्टीले के गर्छ त्यो बेग्लै कुरा भयो, चुनावमा तालमेल गर्नुहुँदैन भन्ने मेरो कुरा हो,’ गुरुङले बिहीवार लोकान्तरसँग भने, ‘मेरो कुरा कांग्रेसका धेरै कार्यकर्ताले मन पराएका छन् ।’

स्थानीय तहको चुनाव लक्षित अभियानबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई फाइदा हुने अवस्थामा तालमेल हुने संकेत गरेका थिए । 

‘जतिबेला निर्वाचनमा उम्मेदवार उठाउने समय आउँछ, हरेक ठाउँका स्ट्रेन्थ विकनेस मूल्यांकन हुन्छ । के गर्दा बढीभन्दा बढी सीट जितिन्छ, पार्टीले एउटा दृष्टिकोण बनाउँछ,’ महतले भने, ‘सँगै जाँदा बेनिफिट हुन्छ भने त्यो गरौँला, अलग अलग गर्दा फाइदा हुन्छ भने त्यसरी जान्छौँ ।’

विगतको सशस्त्र द्वन्द्वका क्रममा भएका ज्याजतिका घटनाका कारण पनि कतिपय स्थानमा कांग्रेस र माओवादीको दुस्मनी छ ।

द्वन्द्वकालमा भएका सम्पत्ति कब्जा, अपहरण जस्ता घटनाका कारण अहिले पनि कतिपय स्थानमा प्रतिशोधका घटना भइरहेका छन् । 

माओवादीलाई पनि छैन भरोसा 

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र माओवादीबीच कतिपय स्थानमा चुनावी तालमेल भयो । 

प्रचण्डको चुनावी क्षेत्र रहेको चितवनको भरतपुर महानगरमा कांग्रेस र माओवादीबीच तालमेल भयो ।

उपमेयरकी कांग्रेस उम्मेदवारले सहज जित हात पार्दा माओवादीकी उम्मेदवार रेनु दाहालले अपेक्षाकृत भोट पाइनन् । त्यो बेलादेखि नै कांग्रेसले भोट हाल्ने कुरामा माओवादी सशंकित छ । 

२०७४ असोजमा माओवादीले एमालेसँग चुनावी तालमेलको तयारी गरेपछि एमालेले भन्दा बढी सीट दिएर तालमेल गर्नका प्रस्ताव लिएर कांग्रेस नेताहरू प्रचण्डको निवासमा पुगेका थिए । ‘स्थानीय तहको निर्वाचनमा जे जति ठाउँमा तालमेल भयो, हामीले इमान्दारीसाथ भोट हाल्यौं, कांग्रेसले माओवादीलाई भोट दिँदैनन् भन्ने प्रमाणित भयो, तालमेल गर्न सकिँदैन,’ प्रचण्डले कांग्रेस नेताहरूसँग भनेका थिए । 

गत माघ १९ गते एमाले निकट युवा संघले आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता मीनेन्द्र रिजालले त्यो कुराको संकेत गरेका थिए । 

‘शेरबहादुरजीले रेनुलाई जिताउनु भयो धन्यवाद, कांग्रेसले सजिलै माओवादीलाई भोट हाल्दा रहेनछन्,’ प्रचण्डसँगको कुराकानीबारे रिजालले भनेका थिए । 

तेस्रो शक्तिको रूपमा रहेको माओवादीको जनमत खस्किए पनि देशका ७७ वटै जिल्ला र प्रत्येक पालिकासम्ममा माओवादीको संगठन सक्रिय छ ।

२०६४ सालको संविधान सभा निर्वाचनपछि तेस्रो स्थानमा खुम्चिएको दल नेकपा एमालेले दुई-दुईपटक सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो । 

कुनै दलले स्पष्ट बहुमत ल्याउन नसकेको अवस्थामा तेस्रो दल निर्णायक मानिन्छ । अहिले माओवादी त्यही पोजिसनमा छ । गत निर्वाचनमा प्राप्त गरेको समानुपातिक मतलाई आधार मान्दा पनि भविष्यमा निर्णायक शक्ति बन्न कसैले नरोक्ने माओवादीको आन्तरिक समीक्षा छ ।

पहिलो या दोस्रो पार्टी बन्न नसकेपनि आगामी चुनावपछि बन्ने सत्ता समीकरणमा निर्णायक बन्ने सम्भावना छ, जसरी २०५१ सालको चुनावपछि राप्रपा सत्ताको केन्द्रमा थियो । हालै बसेको केन्द्रीय समिति बैठकमा प्रचण्डले कांग्रेस पहिलो र आफूहरू दोस्रो शक्ति बन्ने बताएका थिए । 

आफैँमा दोस्रो शक्ति नबने पनि पहिलो बन्ने दललाई दोस्रोमा झार्न सक्ने सामर्थ्य माओवादीमा छ । त्यसैले बुधवारको बैठकमा प्रचण्डले कांग्रेस र एमालेलाई रछ्यानमा पुर्‍याउने ताकत रहेको बताएका थिए । 

माओवादीका युवा नेता सुदर्शन बराल माओवादीलाई गाली गरेर नेता बनिन्छ भन्ने मनोविज्ञान कांग्रेसका केही नेताहरूमा देखिएको टिप्पणी गर्छन् ।

‘तलका कार्यकर्ताहरू चुनावमा मिल्नुपर्छ भनेर माओवादी नेताको घरमा धाउन थालिसकेका छन्, माथिका केही नेता माओवादीलाई गाली गरेर नेता बन्ने भ्रममा छन्,’ माओवादी केन्द्रका लुम्बिनी प्रदेश सांसद समेत रहेका बरालले लोकान्तरसँग भने, ‘विगतमा केपी ओलीले माओवादीलाई गाली गरेको मनोविज्ञानका आधारमा कांग्रेसका नेताहरू माओवादीलाई खिसीट्युरी गरिरहेका छन्, यसमा हामीलाई पर्वाह छैन ।’

मिल्नैपर्ने दुवैको बाध्यता 

गत स्थानीय तहको चुनावमा राम्रो हैसियत बनाएको नेकपा एमाले अहिले पनि पहिलो दल बन्ने आत्मविश्वाससहित चुनावका लागि तयार देखिन्छ ।

चुनावका लागि दुई महिनाको समय बाँकी रहेको समयमा देशका विभिन्न स्थानमा जनप्रतिनिधि र अन्य दलका कार्यकर्ता भित्र्याउन थालेका छन् । 

बुधवार मात्र ओलीले माओवादीबाट चुनाव जितेका मोरङको रंगेलीका मेयरलाई एमाले प्रवेश गराए । एमालेको तुलनामा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी त्यति उत्साही देखिँदैनन् । भलै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीको भनाइप्रति लक्षित गर्दै विभाजित कम्युनिस्ट हरियो रंगदेखि तर्सिन्छन्, भन्दै कटाक्ष गरेका किन नहुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालले गठबन्धनमा चुनावी तालमेल गर्ने सहमति भइसकेको भन्दै हिँडेका छन् ।

नेकपा एसका उपमहासचिव गंगालाल तुलाधरले त गठबन्धन नगरे अस्तित्व नै संकटमा पर्ने खालको अभिव्यक्ति दिएका थिए । 

पहिलो दल बन्न खोजेको कांग्रेस र सम्मानजनक हैसियत स्थापित गर्न खोजेका माओवादी तथा नेकपा एस सबैलाई चुनावी तालमेल जरुरी भएको नेताहरू बताउँछन् ।

‘हाम्रा लागि भन्दा कांग्रेसका लागि चुनावी तालमेल जरुरी छ, कम्युनिस्टहरू मिल्छन् कि भन्ने त्रास उत्तिकै छ,’ माओवादीका एक पूर्व स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने । 

कांग्रेस सभापति देउवाले बिहीवार वीरगञ्जमा चुनावी तालमेल गर्नुपर्नाको कारण एमालेको बलियो संगठन हो, भनेका छन् । 

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), मूल्यवृद्धि लगायत सरकारको अलोकप्रियतालाई विपक्षीले चुनावी मसला बनाउने कांग्रेसको चिन्ता छ । 

फागुन २९ गतेदेखि शुरू हुन लागेको चुनावी अभियानमा पनि कांग्रेसले एमसीसीविरुद्ध फैलाइएको भ्रम चिर्ने कुरालाई विशेष जोड दिएको छ ।

‘हाम्रा लागि भन्दा कांग्रेसका लागि चुनावी तालमेल जरुरी छ, कम्युनिस्टहरू मिल्छन् कि भन्ने त्रास उत्तिकै छ,’ माओवादीका एक पूर्व स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने । 

कांग्रेससँग चुनावी तालमेल हुन नसके माधव नेपाल, उपेन्द्र यादव र अन्य साना दलसँग तालमेल गर्ने माओवादीको रणनीति रहेको ती प्रभावशाली नेताले भने । 


salt training

कमेन्ट गर्नुहोस्