१६ असार २०८३, मंगलबार
गगनको सक्रियता

कांग्रेसमा गगनको दबदबा

चैत ५, २०७८
कांग्रेसमा गगनको दबदबा

२०७८ फागुनको पहिलो साता राजनीतिक दलहरूबीच रस्साकस्सीको विषय थियो– एमसीसी । सरकार चलाइरहेका पाँच राजनीतिक दलहरू नै एमसीसीको पासोमा थिए । 

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा एमसीसी अनुमोदन गराउन चाहन्थे भने गठबन्धनका दलहरू प्रधानमन्त्रीको तयारीप्रति सहमत थिएनन् । दिनरात दलका नेताहरू छलफलमा जुट्थे तर, निष्कर्ष भने निस्कँदैनथ्यो । 

सञ्चारमाध्यममा सार्वजनिक भएका दलका नेताहरूको छलफलको तस्वीरमा युवा अनुहार पनि समेटिन थाल्यो, ती व्यक्ति थिए– गगन थापा । सञ्चारमाध्यमहरूले समाचार पनि बनाए– गगन थापा पनि गठबन्धनको बैठकमा सहभागी । 

फागुन ५ मा प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ गठबन्धनको बैठकमा पहिलो पटक गगन थापा सहभागी भएका थिए । उक्त बैठकमा थापाले माओवादी केन्द्रलाई एमसीसीको सन्दर्भमा स्पष्ट निर्णय गर्न सुझाव दिएका थिए । 

एमसीसीमा व्याख्यात्मक घोषणा गरेर जान सकिने विकल्प थापाले नै अघि सारेको बताइन्छ । विशेष गरी माओवादी केन्द्र र एकीकृत समाजवादी जस्ताको तस्तै एमसीसी अनुमोदन गर्न तयार नभएपछि एमसीसीमा विवादास्पद भनिएको विषयलाई उल्लेख गरेर ‘पूरक प्रस्ताव’को रुपमा संसदबाट अनुमोदन गर्न सकिने सुझाव थापाले गठबन्धनको बैठकमा पेश गरेका थिए । 

शुरूमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरू थापाको सुझावसँग सहमत भएका थिएनन् । तर, एमसीसी अनुमोदन गर्नुपर्ने बाध्यात्मक अवस्थामा उनीहरू व्याख्यात्मक घोषणामा सहमत भएका थिए, जुन शुरूआतीरुपमा थापाकै प्रस्ताव थियो । 

अर्कोतर्फ, गठबन्धनका दलहरू एमसीसीमा सहमत नभएपछि कांग्रेसले संसदको प्रमुख शक्ति नेकपा एमालेसँग संवाद अघि बढाएको थियो । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको ‘वान अन वान’ वार्ता बाहेक सबैजसो एमालेसँगको छलफलमा गगन थापा सहभागी भए ।

एमसीसी अनुमोदन गर्ने फागुन १५ गतेको संसद् बैठकमा गगन थापाको गर्जनले सदनलाई नै तरंगित गरेको थियो । एमसीसी अघि बढाउन भूमिका खेलेका तर, अन्तिममा आफूलाई फरक कित्तामा उभ्याएका नेताहरूलाई गगनले संसद्को रोस्टमबाटै आच्छुआच्छु पारेका थिए । संसदमा गगनको उक्त प्रस्तुतिले पनि उनलाई पार्टीभित्र थप हस्तक्षेपकारी भूमिकाका लागि आधार दिएको छ । 

पार्टीमा महामन्त्री निर्वाचित भएयता गगनले पार्टी सभापति शेरबहादुर देउवाको विश्वास जित्न सफल भएका छन् । उनीसँग निर्वाचित भएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा ‘राजनीतिक सिन’मा खासै जमेका छैनन् तर, थापाले भने सिंगो कांग्रेसलाई तरंगित बनाइरहेका छन् । 

महामन्त्री निर्वाचित भएपछि गत माघ ३ गते अन्तर्वार्ताका लागि लोकान्तर डटकमको कार्यालयमा आएका थापाले आवश्यकताअनुसार पार्टी सभापतिसँग संघर्ष र सहकार्य दुवै हुने बताएका थिए । त्यसबेला उनले भनेका थिए, ‘पार्टी सभापतिसँग कतिपय ठाउँमा सहकार्य होला, कतिपय ठाउँमा संघर्ष पनि होला, उहाँलाई मैले इन्करेज नै गर्ने हो । सभापतिले विवेक पनि पुर्‍याउनुभयो, न्याय पनि गर्नुभयो भन्ने अवस्था बनोस् भन्ने मेरो चाहना छ ।’

तर, अहिले कांग्रेसमा सभापति देउवा र महामन्त्री गगन थापाको सहकार्य नै भएको देखिन्छ । भलै, कांग्रेस महाधिवेशनमा थापा सभापतिको प्रतिस्पर्धी समूहबाट चुनाव जितेका व्यक्ति हुन् । कांग्रेसको १४ औं महाधिवेशनमा थापाले डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिएका थिए । 

महाधिवेशनअघि एउटै समूहमा रहेका तर, महाधिवेशनमा देउवाको साथ छाडेका अर्का महामन्त्री विश्वप्रकाश शर्माभन्दा नजिक थापालाई राखेर देउवाले काम लिइरहेका छन् । १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि देउवाले शर्मालाई पार्टीको प्रवक्ता बनाएका थिए । 

गगन थापालाई साथमा लिएर हिँड्नु सभापति देउवाका लागि पनि बाध्यता बनेको छ । पार्टीमा प्रौढ र युवा दुवै पुस्तामा लोकप्रिय नेता हुन् थापा । उनको सार्वजनिक छवि पनि लोकप्रिय छ । त्यसो हुँदा सभापतिका लागि गगन थापालाई ‘इग्नोर’ गर्ने सुविधा छैन ।

त्यसबेला गगन थापालाई देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी लिन बोलाएको भनेपछि देउवा निकटका नेताहरूको चालबाजीका कारण अन्तिम समयमा थापालाई रोकेर शर्मालाई प्रवक्ताको जिम्मेवारी दिइएको कांग्रेसकै नेताहरू बताउँछन् । 

तर, १४ औं महाधिवेशनपछि भने थापाले सभापति देउवाको विश्वास जितिरहेका छन् । अझ भनौँ, गगन थापाले कांग्रेसभित्र आफ्नो दबदबा बढाइरहेका छन् । 

वैचारिक रुपमा कांग्रेस निकट रहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने देउवा विश्वप्रकाशसँग बिच्किएकाले गगन थापाको साथ लिएको बताउँछन् । ‘शेरबहादुर देउवालाई विश्वप्रकाशलाई प्रवक्ता दिएँ, मैले बनाएँ तर मलाई छाड्यो भन्ने परेको छ । अझ अन्तिम निष्कर्ष त धोका दियो भन्ने छ । मैले नै अवसर दिने तर मसँगै निहुँ खोज्ने ? विकल्पमा गगनलाई नै अघि सार्छु भनेका होलान्,’ आचार्यले भने ।

देउवाले साथ दिएकोले मात्रै होइन कांग्रेसभित्रको निर्णय प्रक्रियामा नै गगनले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न थालेका छन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने कुरामा होस् वा भातृ र शुभेच्छुक संस्थालाई क्रियाशील गराउने कुरामा महामन्त्रीको रुपमा थापा सक्रिय भएर लागेका छन् । ​

यो पनि पढ्नुहोस्


कांग्रेस नेता गुरूराज घिमिरे पनि पार्टीमा गगन थापाको भूमिका प्रभावकारी रुपमा बढिरहेको देखेको बताउँछन् । ‘पार्टीमा महामन्त्रीको कार्यकारी भूमिका हुन्छ । उहाँको लोकप्रियता पनि बढी नै छ । महामन्त्रीहरू प्रभावकारी रुपमा भूमिका बढ्नु पार्टीको लागि हितकर पनि हुन्छ,’ घिमिरेले बताए ।

कांग्रेसका दुवै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा मिलेर नै काम गरिरहेको आफूले पाएको घिमिरेले बताए । थापा भने संसद्को सदस्य पनि भएकाले पार्टी र संसद् दुवैतिर भूमिकामा हुँदा उनको उपस्थिति बढी देखिएको हुन सक्ने घिमिरे बताउँछन् । 

गगन थापाले आफ्नो कामलाई चुस्त बनाउनका लागि सचिवालय परिचालन गर्ने गरेका छन् । जुनसुकै काममा पनि पर्याप्त पूर्वतयारी गरेर मात्रै प्रस्तुत हुने थापाको बानी छ । संसद्को भूमिकामा होस् वा पार्टीको महामन्त्री सबै काम थापाले आफ्नो सचिवालयको सहयोग लिने गरेका छन् । 

अर्कोतर्फ, गगन थापालाई साथमा लिएर हिँड्नु सभापति देउवाका लागि पनि बाध्यता बनेको छ । पार्टीमा प्रौढ र युवा दुवै पुस्तामा लोकप्रिय नेता हुन् थापा । उनको सार्वजनिक छवि पनि लोकप्रिय छ । त्यसो हुँदा सभापतिका लागि गगन थापालाई ‘इग्नोर’ गर्ने सुविधा छैन । अर्कोतर्फ गगन थापा आफैं भूमिका खोज्ने र क्षमता प्रदर्शन गर्न सक्ने नेता हुन् । ‘सभापतिका लागि थापालाई साथमा लिएर हिँड्नु बाध्यता र आवश्यकता दुवै भयो,’ घिमिरेले भने । 

गगन थापाले आफ्नो कामलाई चुस्त बनाउनका लागि सचिवालय परिचालन गर्ने गरेका छन् । जुनसुकै काममा पनि पर्याप्त पूर्वतयारी गरेर मात्रै प्रस्तुत हुने थापाको बानी छ । संसद्को भूमिकामा होस् वा पार्टीको महामन्त्री सबै काम थापाले आफ्नो सचिवालयको सहयोग लिने गरेका छन् । 

त्यसका अतिरिक्त पार्टीभित्रैबाट पनि नेताहरूको सहयोग उनले लिने गरेका छन् । पछिल्लो समयमा विशेष गरी सहमहामन्त्री र शेखर कोइराला समूहबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरूले गगन थापालाई सघाइरहेका छन् । 

त्यसबाहेक, कांग्रेस निकट बुद्धिजीवीहरूले पनि गगन थापालाई पृष्ठपोषण गरिरहेका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले गगन थापालाई नजिकबाट सहयोग गरिरहेको थापा निकट स्रोत बताउँछ । 

पार्टीभित्रको काममा थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग पनि परामर्श लिने गरेका छन् । त्यसबाहेक, थापाले उपसभापति धनराज गुरूङसँग पनि उत्तिकै प्राथमिकताका साथ सहकार्य गरिरहेका छन् । 

गगन थापासँग निकट रहेर काम गरिरहेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी सचिवालयको तयारी र नेताहरूसँगको परामर्शमै थापाले काम गरिरहेकाले थापाको भूमिका प्रभावकारी देखिएको बताउँछन् । 

पार्टीभित्र गगन थापाको हस्तक्षेपकारी भूमिका हो– नेपाल विद्यार्थी संघ र तरुण दलमा कार्यान्वयनमा आएको उमेर हद । 

कांग्रेसको दुवै भातृ संगठनमा उमेर हद कार्यान्वयनका आलटाल भइरहेको बेलामा थापा नै सक्रिय भएर नेपाल विद्यार्थी संघमा ३२ वर्ष र तरुण दलमा ४५ वर्षको उमेर हद लागू भएको सिवाकोटीले बताए । 

थापाले कांग्रेस महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारी घोषणा गर्दा भनेका थिए, ‘कांग्रेसलाई सुन्ने र बोल्ने बनाउने पहल गर्नेछु । अब कांग्रेस प्रश्न मात्रै गर्दैन उत्तर पनि दिन्छ, समस्या मात्रै सिर्जना गर्ने होइन समाधान पनि दिन्छ ।’ महामन्त्री निर्वाचित भएपछि उनको भूमिकाले उनको भनाइलाई सार्थक तुल्याउँदै गएको देखिन्छ । 

पछिल्लो समयमा कांग्रेसभित्र गगन थापा कसैले रोक्न चाहेर पनि नसक्ने नेताको रुपमा उदाइरहेको कांग्रेसका नेताहरू बताउँछन् । 

कांग्रेसको १३ औं महाधिवेशनपछि केन्द्रीय कार्यसम्पादन समिति गठन हुन लामो समय लागेको थियो । गठन भएपछि पनि प्रभावकारी रुपमा सञ्चालन भएका थिएनन् । यसपटक महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रै केन्द्रीय कार्यसम्पादन समिति बन्यो । नियमित रुपमा बैठक बस्ने र छलफल हुने काम पनि केन्द्रीय कार्यसम्पादन समितिले गरिरहेको छ । 

महामन्त्री थापाले कांग्रेसलाई विधि, विधानअनुसार चलाउन पार्टीभित्र भूमिका निर्वाह गरिरहेको उनी निकट नेताहरू बताउँछन् । पछिल्लो समयमा कांग्रेसभित्र गगन थापा कसैले रोक्न चाहेर पनि नसक्ने नेताको रुपमा उदाइरहेको कांग्रेसका नेताहरू बताउँछन् । 

कांग्रेसले फागुन २९ गतेबाट ‘घरघर जाऔं, कांग्रेस जिताऔँ’ अभियान शुरू गरेको छ । यससँगै पार्टीको तल्लो तहसम्म सर्कुलर पनि जारी गरिएको छ । जसमा कांग्रेसको एक जना कार्यकर्ताले १० घर परिवार वा ५० जना मतदातासँग निरन्तर सम्पर्कमा बस्नुपर्ने, टोल समिति गठन गर्नुपर्ने लगायतको जिम्मेवारी तोकिएको छ ।

सर्कुलरमार्फत् पार्टी पंक्तिमा पुर्‍याइएको यो कार्यक्रम यसअघि गगन थापाको निर्वाचन क्षेत्र काठमाडौंको क्षेत्र नम्बर–४ मा लागू गरिएको कार्यक्रम नै भएको केन्द्रीय सदस्य सिवाकोटीले बताए । टोलटोलमा समिति बनाउँदा डेढ लाखभन्दा बढी स्थानीय नेतृत्व तयार हुने हिसाबसहित थापाकै पहलमा उक्त कार्यक्रम पार्टी पंक्तिमा लगिएको उनले बताए ।

थापाले प्रो–एक्टिभ रुपमा नीति निर्माता र विशेषज्ञहरूसँग पनि परामर्श लिने गरेका छन् । त्यसको पछिल्लो उदाहरण हो– नेपालको अर्थतन्त्रको बिग्रँदो अवस्थाबारे उद्योगी व्यवसायीसँग गरेको छलफल । 

चैत १ गते थापाले निजी क्षेत्रका केही व्यवसायीहरूलाई बोलाएर अर्थतन्त्रको अवस्था र उद्योगी व्यवसायीको मनोबलबारे ब्रिफिङ लिएका थिए । 

थापाले आवश्यक पर्दा विषयगत क्षेत्रको विज्ञहरूसँग सल्लाह लिने गरेका छन् । विज्ञहरूलाई जुटाउन थापाले सचिवालय सक्रिय गराउने गरेका छन् । विज्ञहरूसँगको परामर्शपछि मात्रै कुनै पनि विषयमा उनले धारणा बनाउने गरेको थापाको सचिवालयले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्