२७ असार २०८३, शनिबार

प्रहरीको गम्भीर चुकः प्रधानमन्त्रीको सुरक्षामा मात्रै केन्द्रित हुँदा महिला प्रहरीको हत्या !

चैत ८, २०७८
प्रहरीको गम्भीर चुकः प्रधानमन्त्रीको सुरक्षामा मात्रै केन्द्रित हुँदा महिला प्रहरीको हत्या !

मोरङको लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास मावि आइतवार तनावग्रस्त बन्यो । शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीय र प्रहरीबीच झडप हुँदा १ प्रहरी जवानको ज्यान गयो ।

स्थानीय आन्दोलनकारीको आक्रमणबाट प्रदेश प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भयो ।

विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले ७ कक्षामा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रवार यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भयो । त्यसपछि आइतवार दिउँसो १ बजेतिर आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए । शुरूमा विद्यार्थीले शिक्षकलाई कारवाहीको माग राख्दै निवेदन दिएका थिए । निवेदन परेपछि छलफल गर्न भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लेटाङ नगरपालिका–५ का वडाध्यक्ष भुम सूर्य मगर पौने १२ बजेतिर विद्यालय आएका थिए ।

आरोपी शिक्षकले राजीनामा दिनुपर्ने निवेदकको माग थियो । घटना दोहोर्‍याएको भन्दै अभिभावकले राजीनामा दिन सुझाव दिएका थिए । आरोपी शिक्षकले प्रमाण ल्याउन चुनौती दिँदै राजीनामा नदिने अडान राखेका छलफलमा सहभागी एक शिक्षकले बताए ।

वडाध्यक्ष मगर र शिक्षक पौडेलले घटनालाई न्यायिक समितिमार्फत छलफल गराउने भन्दै लेटाङ नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक कृष्णकुमारी पोख्रेललाई विद्यालयमा बोलाएका थिए । आरोपी शिक्षकले यसअघि पनि विद्यार्थीमाथि यौन दुर्व्यवहारको प्रयास गरेको भनी उजुरी परेपछि पुनः यस्ता घटना नदोहोर्‍याउने सहमति भएको विद्यालय व्यवस्थापन समितिका एक सदस्यले बताए ।
 
पीडित विद्यार्थी र आरोपी शिक्षकलाई राखेर छलफल गर्ने तयारी गरिरहेका बेला विद्यार्थी बेहोस बनेकी अध्यक्ष मगरले बताए । उनलाई सिटी सफारीमार्फत उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको थियो  । त्यसपछि घटनाले उग्ररूप लिएको थियो ।

विवाद बढ्दै जाँदा विद्यालयमा विद्यार्थी, अभिभावक, आमा समूहको भीड लागेको थियो । शिक्षकलाई कालोमोसो लगाएर घुमाउनुपर्ने माग राख्दै नाराबाजी हुन थालेपछि उपप्रमुख कृष्ण कुमारीले प्रहरीलाई खबर गरेकी थिइन् । 

प्रहरीले शिक्षक पौडेललाई पक्राउ गरेर स्वास्थ्य परीक्षणका लागि लैजान एम्बुलेन्स बोलाएको थियो । बिरामीलाई सफारीमा दोषीलाई एम्बुलेन्समा निकाल्न नपाइने नारा लागेपछि आन्दोलनकारीले एम्बुलेन्स तोडफोड गरे । आक्रोशित समूहले आरोपी शिक्षकको मोटरसाइकल समेत जलाएका बताइएको छ ।

स्थानीयको अवरोधपछि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिए पनि बाहिर निकाल्न सकेन । त्यतिबेलासम्म ईलाका प्रहरी कार्यालय लेटाङको टोली मात्रै घटनास्थलमा थियो ।

ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले सम्झाउन खोजे पनि आक्रोशित समूहले टेरेन जिल्ला प्रहरी कार्यालयले थप प्रहरी घटनास्थलमा पठाएको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवा सोमवार मोरङ आउने भएपछि प्रहरीको ध्यान प्रधानमन्त्रीको सुरक्षामा केन्द्रित थियो ।

‘यहाँ साँझसम्म १५–१६ जना मात्रै प्रहरी हुनुहुन्थ्यो,’ पूर्व वडाध्यक्ष समेत रहेका वीरबहादुर तामाङले भने, ‘साँझमा भीड बढ्दै गएको बेला आरोपी शिक्षकलाई विद्यालयको अर्कै ढोकाको प्रयोग गरेर निकालिएको थियो ।’

जिल्ला तथा प्रदेश प्रहरीको टोलीले आरोपी शिक्षकलाई विद्यालयको गेट फोडेर निकालेर गाडीमा हिँडाएपछि आक्रोशित समूहले त्यहाँ भएका प्रहरीमाथि ढुंगामुढा गर्दै घेरामा हालेर आक्रमण गरेको उनले बताए । 

स्थानीयको आक्रमणबाट प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा कार्यरत उर्मिला श्रेष्ठको निधन भयो । महिला प्रहरीलाई आक्रमण गरेको स्थान विद्यालयभन्दा १ किलोमिटर टाढा रहेको स्थानीय गणेश घिमिरेले बताए । विद्यालयबाट घटनास्थलसम्म उर्मिलालाई लखेटिएको बताइन्छ । थोरै संख्यामा रहेका प्रहरीलाई घेरा हालेकोसम्म देखिएको उनले बताए ।

प्रहरीले सर्वसाधारणको समेत सुरक्षा गर्ने अपेक्षा गरिए पनि लेटाङमा प्रहरी नै असुरक्षित भयो । मोरङ प्रहरी प्रधानमन्त्री देउवाको सुरक्षामा मात्रै केन्द्रित हुँदा आक्रोशित स्थानीयले महिला प्रहरीको सहजै हत्या गरे । घिमिरेका अनुसार केही समयपछि प्रहरी र सशस्त्रको टोली पुगेपछि आक्रोशित समूह तितरवितर भएको थियो । 

गोली हान्ने आदेश दिएको थिएँ : सीडीओ दाहाल

मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काशीराज दाहालले घटना अनियन्त्रित भएपछि गोली चलाउने आदेश दिएको बताए । घटना नियन्त्रणबाहिर जाने अवस्था बनेपछि गोली चलाउन भनेको उनले बताए । 

स्थानीयको क्षति कम होस् भनेर प्रहरीले संयमता अपनाउँदा महिला प्रहरीको ज्यान गएको उनले बताए । 

स्थानीय डर त्रासमै

घटनापछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । जसले गर्दा स्थानीय वासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् भने बजार पसल खुल्न सकेका छैनन् । विद्यालय वरपर प्रहरीको बाक्लो उपस्थिति रहेको छ । 

लेटाङ नगरपालिकाको ५ नम्बर वडा, ३ नम्बर वडाको गंगेचोक, ४ नम्बरको कमलपुर चोक र ६ नम्बरको वडा कार्यालय भएको क्षेत्रलाई संवेदनशील क्षेत्र मानेर अर्काे निर्णय नभएसम्मका लागि कर्फ्यू आदेश घोषणा गरिएका छ । उत्तरमा मोरङी खोला र दक्षिणमा चिस्याङ खोला क्षेत्रभित्र पनि कर्फ्यू घोषणा गरिएको छ ।

अवस्था हेरेर कर्फ्यूबारे थप निर्णय गरिने सीडीओ दाहालले बताए । घटनामा मोरङका एसपी जनार्दन जिसीसहित २९ प्रहरी र ७ आन्दोलनकारी घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्