
रुसले युक्रेनमाथि आक्रमण गरेको डेढ महिनाभन्दा बढी बितिसक्दा पनि युद्ध कहिले टुंगिने हो निश्चित हुन सकेको छैन ।
युक्रेनको असैन्यीकरण र नाजीविहीनीकरणको लक्ष्य पूरा नहुन्जेल विशेष सैन्य कारवाही जारी रहने रुसको भनाइ छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अहिलेसम्म योजनामुताबिक नै काम भइरहेको बताएका छन् ।
तर यसक्रममा रुसले सोचेको भन्दा बढी क्षति बेहोर्नुपरेको छ । पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यस युद्धमा रुसले उल्लेख्य क्षति बेहोरेको बताए तर ठ्याक्कै कतिजना सैनिक मारिएको उल्लेख गरेनन् ।
युक्रेनले रुसका १९ हजारभन्दा बढी सैनिक मारिएको दाबी गरेको छ तर अन्य मुलुकहरूले त्यो संख्या ७ देखि १० हजारसम्म हुन सक्ने बताएका छन् ।
युक्रेनी सरकार ढालेर आफूअनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउने रुसको योजना सफल हुन सकेन । राजधानी किएभ नजिक रुसी सैनिकहरू लामो समयसम्म तैनाथ रहे पनि त्यसलाई कब्जा गर्नतिर लागेनन् । अहिले उनीहरू किएभ तथा चर्निहिभबाट निस्केर युक्रेनको पूर्वी भागमा खटिएका छन् ।
रुसले समयमै विजय हासिल नगरी ठूलै क्षति पनि बेहोर्नुपरेपछि नयाँ सैन्य कमान्डर नियुक्त गरेको छ । सिरियामा रुसले गरेको सैन्य कारवाहीको कमान सम्हालेका जनरल अलेक्जेन्डर द्भोर्निकोभलाई युक्रेनमा चलाइएको सैन्य कारवाहीको कमान्ड पुटिनले सुम्पिएका छन् । नयाँ कमान्डरको नियुक्तिबाट रुसले युक्रेनमा रणनीतिक पराजय बेहोरेको सन्देश पाइएको अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले टिप्पणी गरेका छन् ।
किएभ कब्जा गर्न नसके पनि डोनबास क्षेत्रलाई क्राइमियासँग जोड्ने महत्त्वपूर्ण बन्दरगाह शहर मारिउपोलमा रुसले सफलता हासिल गरेको छ । त्यसरी डोनबास र क्राइमियालाई स्थलमार्गमार्फत जोडेपछि रुसलाई कृष्ण सागरमा नेटोले गर्न सक्ने नाकाबन्दीमा सरसामान ओसारपसार गर्न राम्रो विकल्प प्राप्त भएको छ ।
मारिउपोलमा रहेको स्टील कारखाना आजोभस्टाल तथा अन्य औद्योगिक संरचनाहरूमा युक्रेनी सेना तथा आजोभ बटालियनका खतरनाक योद्धाहरू भूमिगत भएर बसेका छन् । रुसी नेसनल गार्डका सैनिकहरूले आफ्नो पक्षलाई कम क्षति पुगोस् भनी सुस्तरी कारवाही चलाइरहेका छन् । त्यसमाथि आजोभ बटालियनले सर्वसाधारणलाई मानवढाल बनाएकाले सकेसम्म कम गैरसैन्य क्षति होस् भनी रुसी सैनिकहरूले सतर्कताका साथ कारवाही चलाउनुपरेको छ ।
युक्रेन (वा विदेश) का महत्त्वपूर्ण सैन्य व्यक्तित्व मारिउपोलमा रहेको संकेत पाइएको छ । ती व्यक्ति वा व्यक्तिहरूलाई उद्धार गर्नका लागि निकै प्रयासहरू भइरहेका छन् । हेलिकप्टरबाट उद्धार गर्न खोजिएको भए पनि रुसी सैनिकहरूले चारपटक हेलिकप्टर खसाइदिएका छन् ।
अनि कृष्ण सागरबाट जहाजमा उद्धार गर्न आएका मानिसलाई पनि रुसीहरूले रोकिदिएका छन् । मारिउपोलमा रहेका महत्त्वपूर्ण व्यक्ति रुसीहरूको नियन्त्रणमा पुगेमा पश्चिमलाई लज्जास्पद स्थिति आउन सक्ने जोखिम रहेकाले उद्धारको प्रयास भइरहेको रुसी टिप्पणीकारहरू बताउँछन् ।
मारिउपोलका अन्य भागमा भने रुसको नियन्त्रण कायम भइसकेको छ । डोनेत्स्क जनगणतन्त्रका प्रमुख डेनिस पुशिलिनले मारिउपोल आफूहरूको नियन्त्रणमा आएको घोषणा गरेका छन् ।
तर डोनबास क्षेत्रका अग्रमोर्चामा रुसी फौजहरू अगाडि बढ्न सकेका छैनन् । खार्किभभन्दा उत्तरतर्फ रुसी सैनिकहरूको जत्थालाई युक्रेनी सैनिकहरूले नाकाबन्दी गर्ने खतरा बढेको सामरिक विज्ञहरू बताउँछन् । युक्रेन सरकारलाई विदेशीहरूले उपलब्ध गराएका विभिन्न सैन्य सामग्रीका कारण पनि रुसीहरू सोचे जति गतिमा अगाडि बढ्न सकेको देखिँदैन ।
पूर्वी युक्रेनमा रुस र युक्रेन दुवैले विगत दुई हप्तादेखि आआफ्नो ‘पोजिसन’ दह्रो बनाउँदै लगेका छन् । डोनबास नियन्त्रणका लागि हुने भयानक भिडन्तका लागि दुवै पक्ष तयार देखिएका छन् । सम्पूर्ण डोनबास क्षेत्रलाई नियन्त्रणमा लिएर आफ्नो सुरक्षालाई बलियो बनाउनका लागि ‘स्ट्राटेजिक डेप्थ’ हासिल गर्ने रुसको योजना देखिन्छ ।
डोनबासमा रुस, डोनेत्स्क जनगणतन्त्र र लुहान्स्क जनगणतन्त्रका सैनिकहरूले युक्रेनी सैनिकहरूलाई घेराबन्दीको प्रयास गरिरहेका छन् । त्यहाँ युक्रेनका लगभग एक लाख सैनिक तैनाथ छन् । अझ युक्रेनी सेनाले अन्य ठाउँबाट पनि सैनिकहरू ओसारेर पूर्वी मोर्चामा खटाएको छ ।
डोनबास क्षेत्रका केही भागमा भयानक लडाइँ तथा गोलीबारी भइरहे पनि उक्त क्षेत्रका अग्रमोर्चामा दुवै पक्षले तयारी गरेका मात्र छन्, भिडन्त हुन बाँकी नै छ ।
पूर्वी युक्रेनमा रहेका इज्युम, रुबेझनो, पोपास्नाया, उग्लेदार लगायतका स्थानमा भने युक्रेनी सैनिकहरू पराजित भइरहेका छन् र धमाधम आत्मसमर्पण गरिरहेका छन् ।
उता पूर्वी युक्रेनमा भयानक लडाइँका लागि भइरहेको तयारीका कारण लिइएको विश्राम (ट्याक्टिकल पज) को फाइदा उठाउँदै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसी भूमिमा सैन्य कारवाही चलाउन सेनाको टोर्नेडो नामक बटालियनलाई आदेश दिएका छन् । युक्रेन सीमासँग जोडिएको रुसको बेलगोरोद क्षेत्रमा आक्रमणका लागि जेलेन्स्कीले आदेश दिएको भिडियो टेलिग्राममा देखिएको छ ।
त्यसपछि रुसले युक्रेन सीमा नजिकका क्षेत्रमा जोखिमको स्तर बढेको घोषणा गरेर सतर्क रहन जनतालाई आह्वान गरेको छ ।
यसैबीच रुसले भारी हातहतियार फिनल्यान्ड सीमा नजिक तैनाथ गरेको छ । फिनल्यान्ड र स्विडेनले पश्चिमी सैन्य गठबन्धन नेटोमा आबद्ध हुनका लागि प्रक्रिया चाल्ने संकेत दिएपछि उनीहरूलाई चेतावनी दिन रुसले सैन्य उपकरण तैनाथी गरेको हो ।
अझ, फिनल्यान्डका एक राजनीतिकर्मीले आफ्नो देश र स्विडेन नेटोमा जोडिनेबित्तिकै रुसको कारेलिया क्षेत्रलाई फिनल्यान्डमा गाभ्ने बयान दिएपछि रुस बढी सतर्क बनेर सैन्य उपकरण तैनाथी गरेको हो । पहिले पनि पटकपटक युद्ध गरिसकेका रुस र फिनल्यान्बीच कारेलियाको स्वामित्वका विषयमा विवाद छ । अहिले कारेलियामा रुसको नियन्त्रण छ ।
अनि पोल्यान्ड र लिथुएनियाको बीच भागमा रहेको रुसी क्षेत्र कालिनिनग्राद, रुसको नियन्त्रणमा रहेको र जापानसँग विवाद रहेको कुरिल टापुसमूह, जर्जियाबाट छुट्टिएका दुई राज्य साउथ ओसेटिया र अब्खाजिया, युक्रेनबाट रुसको नियन्त्रणमा पुगेको क्राइमिया सबै फिर्ता लिने कुरा युरोपेली तथा जापानी राजनीतिकर्मीहरूले गरेपछि रुस थप सशंकित बनिरहेको छ ।
अर्थात्, युक्रेनमाथि सैन्य कारवाहीका नाममा शुरू भएको युद्धको चपेटामा पूरा युरोप पर्न सक्ने सम्भावना बढिरहेको छ । कतिपयले युक्रेनमाथिको कारवाही पुटिनको पूर्वाभ्यास मात्र भएको र उनी नेटोसँग नै भिड्न तयार रहेको पनि बताइरहेका छन् । युक्रेनमा रुसले आफ्ना अत्याधुनिक र घातक हतियारहरू खासै प्रयोग गरेकै छैन ।
अमेरिकाले नेटो सदस्यमाथि रुसी आक्रमण भएमा त्यसको कठोर जवाफ फर्काइने भनेको छ तर नेटोमाथि रुसले आक्रमण गरेछ भने पनि अमेरिकाले आफ्ना सैनिकहरूलाई युद्धमा पठाउने सम्भावना शंकाको घेरामै छ । विदेशी भूमिमा अमेरिकी सैनिकलाई लड्न पठाउने कदमविरुद्धको जनमत अमेरिकामा प्रबल छ ।
त्यसो त नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रुससँग सिधै भिडन्तको स्थिति आउन नदिइने बारम्बार बताएका छन् अनि युक्रेनको मागबमोजिम उडान निषेधित क्षेत्र घोषणा गर्न पनि मानेका छैनन् ।
तर अमेरिका तथा पश्चिमले रुसलाई युक्रेनमा फसाउनका लागि सशस्त्र विद्रोहलाई सहयोग दिने योजना बनाइरहेको पनि देखिन्छ । फरेन अफेयर्स पत्रिकामा डग्लस लन्डनले रुसलाई युक्रेनी भूमिमाथिको कब्जा गर्न नदिन भियतनाम र अफगानिस्तान मोडल अपनाउँदै सशस्त्र विद्रोहलाई सहयोग गर्नुपर्ने तर्क गरेका छन् ।
त्यस्तो विद्रोह गृहयुद्धमा परिणत भएर रुसको टाउकोदुखाइ साबित हुन सक्छ । तर युक्रेनमा हुनसक्ने गृहयुद्धको असर पूर्वी युरोपभरि फैलिएर क्षेत्रीय अशान्ति मच्चिन सक्ने सम्भावना प्रबल छ ।
अनि त्यस्तो गृहयुद्धले व्यापक जनधनको क्षति पनि गर्छ । त्यसैलाई इंगित गर्दै पुटिनले ताजा बयानमा पश्चिमाहरू युक्रेनको अन्तिम व्यक्ति जिउँदो रहेसम्म युक्रेनी लडाइँ चर्काइरहन उद्यत देखिएको उल्लेख गरेका छन् ।
यी सबै परिदृश्यहरूलाई विचार गर्दा युक्रेन युद्ध निकै लामो समयसम्म जान सक्ने देखिएको छ । रुसले युद्धभूमिमा कुन लक्ष्य हासिल गरेपछि बल्ल आफ्नो सैन्य कारवाही सफल भएको घोषणा गर्ने हो त्यसको टुंगो छैन ।
युक्रेनले पनि सजिलैसँग आत्मसमर्पण गर्ने देखिएको छैन र उसलाई पश्चिमी मुलुकहरूले हातहतियार सहयोग गरेर प्रतिकार गराइरहने देखिन्छ । यसअर्थमा यो द्वन्द्व इराक र अफगानिस्तानको जस्तो अनवरत युद्ध (फरेभर वार) बन्न पुग्ने देखिन्छ । त्यसले फैलाउने अशान्तिको विश्वव्यापी असर हुनेछ ।
पढ्नुहोस् यी पनि :
युक्रेनको सडकमा छरिएका शव : आरोपप्रत्यारोपको शृंखलाबीच के हो वास्तविकता ?
युक्रेनले 'नेटोको सदस्य बन्दिनँ' भनिसक्दा पनि रुससँग किन जुटिरहेको छैन सहमति ?
रुस–युक्रेन युद्ध कसरी टुंगिएला ?
रुस-युक्रेन युद्धको तीन साता : पुटिनले के प्राप्त गरे, युक्रेनले के–के गुमायो ?