
तनहुँको व्यास नगरपालिका प्रमुख पदका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले आफूमाथि सांघातिक आक्रमण गर्नेलाई कानूनी कारबाही गर्न माग गरेका छन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै उनले दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । जोशीमाथि स्थानीय तह निर्वाचनका दिन आक्रमण भएको थियो । अहिले उनी काठमाडौंस्थित फ्रन्टलाइन अस्पताल बानेश्वरमा उपचाररत छन् । आफ्नो स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको उनले जानकारी दिएका छन् ।
उनले आफूलाई आक्रमण गर्ने कांग्रेस नेता रामचन्द्र पौडेलका भाइ ओझराज पौडेलको समूह भएको आरोप पनि लगाएका छन् ।

‘...एक्कासि ममाथि वैकुष्ठ न्यौपाने पक्षधरकाले सांघातिक आक्रमण गरे र मतपत्र फ्याँक्न थाले, ममाथि आक्रमण गर्ने समूहमा नेता रामचन्द्र पौडेलका भाइ ओझराज पौडेल र उहाँको समूह थियो । मलाई पछाडि आएर आक्रमण गरेर टाउको फुटाउने अरू कोही नभएर ओझराज पौडेलका छोरा उद्धव हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘मलाई ज्यानै लिने गरी प्रयाससहित आक्रमण गरे हामी ५/७ जना गएका थियौँ तर आक्रमण ममाथि मात्रै गरे र म सवार गाडीलाई पौडेल निकट हरिप्रसाद मिश्रको अगुवाइमा क्षति पुर्याए, गाडी पनि तोडफोड गरे ।’
साथै उनले आफूमाथि मतपत्र च्यातेको भन्ने आरोप अफवाह मात्रै भएको बताएका छन् । सो नगरपालिकामा जेठ ४ गते पुनः मतदान हुँदैछ । सो मतदानमा आफूलाई मत दिन पनि आग्रह गरेका छन् ।

यस्तो छ विज्ञप्ति
सर्वप्रथम मेरो स्वास्थ्य लाभको कामना गर्दै प्रगाढ माया दर्शाउने सम्पूर्ण मतदाताहरु, समर्थकहरु र शुभेच्छुकहरु, मेरो उद्धारमा खट्ने महानुभावहरू उपचारमा संग्लन चिकित्सक प्रति हार्दिक आभार व्यक्त गर्दछु । अहिले काठमाडौ स्थित फ्रन्टलाइन अस्पताल बानेश्वरमा उपचारत छु । हाल मेरो स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको छ । अस्पतालको चिकित्सकले म खतरा मुक्त भएको बताएका छन् । वैशाख ३० गते भईरहेको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको उम्मेदवार भएकोले म सबै मतदान केन्द्रमा निरीक्षणको लागि पुगेको थिए । मलाई बिहान देखि व्यास ८ गाविस भवनमा उम्मेदवार वैकुष्ठ न्यौपाने पक्षधरले एकलौटी गरेको र मतदान अधिकृतलाई धम्काएर बुथ कब्जाको प्रयास गरिएको खबर आएको थियो । म दिउँसो शिसाघाट हुँदा मलाइ मेरा एजेन्टहरुले फोन गरेर यहाँ हामीलाई लखेटियो र एकलौटी रुपमा मतदान गरिरहेको बताए पछि मैले तनहुँका प्रहरी प्रमुखलाई खबर गरेर शान्तिपूर्ण रुपमा निर्वाचन हुनु पर्छ भनेको थिएँ । उहाँले मलाई ‘‘तपाई त्यहाँ नजानुस्’’ भन्नूभो । मैले म त्याँहा जाँदै छु मलाइ जे पनि हुन सक्छ भनेर खबर गरें । मलाइ सुरक्षा प्रदान गर्न तनहुँ प्रहरीले मौनता देखायो । म त्यहाँ पुग्दा एकलौटी रुपमा हाम्रो एजेन्ट विना मतदान हुँदै रहेछ ।
मतपत्र मैले च्यातेको भन्ने अफवाह फैलाइ्एको को छ । म त्यसको भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु । कतिपयलाई मतदान गरी सकेपछि मतपेटिकामा खसालिएको मतपत्र च्यातिएको हो भन्ने भ्रम पनि छ वास्तवमा मत खसालिएको मतपत्र नोक्सान भएको हैन । त्यसबारे पनि म यसै विज्ञप्ति मार्फत सूचित गराउँछु । मैले मतदान अधिकृतलाई हाम्रो एजेन्ट खोइ ? किन हाम्रो एजेन्ट बिना मतदान गराएको ? भनेर भनें भोट जे मा हाले पनि शान्तिपूर्ण र निष्पक्ष रुपमा हुनुपर्छ भनेको मात्रै थिएँ । एक्कासी म माथि वैकुष्ठ न्यौपाने पक्षधरकाले साङ्घातिक आक्रमण गरे र मतपत्र फ्याँक्न थाले म माथि आक्रमण गर्ने समुहमा नेता रामचन्द्र पौडेलका भाइ ओझराज पौडेल र उहाँको समूह थियो । मलाइ पछाडी आएर आक्रमण गरेर टाउको फुटाउने अरु कोहि नभएर रामचन्द्र पौडेलका भाइ ओझराज पौडेलका छोरा उद्धव पौडेल हुन् । मलाइ ज्यानै लिने गरी प्रयास सहित आक्रमण गरे हामी ५/७ जना गएको थियौ तर आक्रमण म माथी मात्रै गरे र म सवार गाडीलाइ्र्र्र्र्र्र्र पौडेल निकट हरिप्रसाद मिश्रको अगुवाईमा क्षति पुर्याए , गाडी पनि तोडफोड गरे । त्यस बुथमा ३ जना प्रहरी र ४ जना म्यादी प्रहरी मात्रै थिए र वैकुष्ठ न्यौपानेका समुहका करीव २०० जनाको युवा समुह थियो । म माथी आक्रमण भएको करिब एक घण्टा मेरो उद्दारमा अवरोध खडा गरियो । दोषीमाथि शिघ्र कानुनी कारबाहीको माग राख्दछु । उक्त मतदान केन्द्रको मतदान बदर गरी जेठ ४ गते हुन गईरहेको पुनः मतदान प्रक्रियामा निर्भिक भएर सम्पूणर् आदरणीय मतदाताहरु, आमाबुबा, दाजुभाई, दिदी बहिनीहरु तपाईको जनप्रतिनिधी छनोट गर्ने सार्वभौम अधिकारको पूणर् सम्मान गर्दछु । तपाईले रोजेको उम्मेदवारलाई निर्भिक भएर नगर प्रमुख पदमा म दीपकराज जोशीलाइ कैची चिन्ह र उपप्रमुख बसुन्धरा घर्ति लगायत अन्य पदहरुमा सूर्य चिन्हमा अमूल्य मतदान गर्नुहुन विनम्र अपिल गर्दछु ।
पुनश्चः अमर्यादित किसिमबाट भएको उक्त मतदानलाई बदर गरी पुनः निर्वाचन गर्ने गरी सम्मानित निर्वाचन आयोगको निर्णय प्रति हार्दिक सम्मान गर्दछु । साथै यही जेठ ४ गते हुन गइरहेको व्यास नगरपालिका-८ रिस्तीको निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग, स्थानीय प्रशासन र अन्य सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछु । म हाल म उपचारार्थ रहेको हुँदा निर्वाचन केन्द्रमा स्वयम् उपस्थित हुन नसकेकोमा आदरणीय मतदाता ज्यूहरु समक्ष क्षमा याचना गर्दछु ।