२४ असार २०८३, बुधबार

फोहोरले काठमाडौंमा हिँड्नै समस्या, हैजा फैलने खतरा

जेठ ६, २०७९
फोहोरले काठमाडौंमा हिँड्नै समस्या, हैजा फैलने खतरा
तस्वीर सौजन्य : राजधानी दैनिक

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा काठमाडौं उपत्यका चोकदेखि गल्लीसम्म दुर्गन्धित बनेको छ ।

निर्धारित समयमा सडक निर्माण नगरेको विरोधमा पासाङ ल्हामु राजमार्गमा स्थानीयले सडक अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । स्थानीयको माग सम्बोधन गर्न संघ र महानगर सफल भएका छैनन् ।

सडक पिच गरिनुपर्ने माग राखेका स्थानीयको अवरोधका बाबजुद एक साताअघि महानगरपालिकाले प्रहरीको सहयोगमा काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन सुरु गरेको थियो ।

करिब ३ सय प्रहरी परिचालन गरेर काठमाडौंको फोहोर उठाउन सुरु गरिए पनि पुनः प्रभावित भएको महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले बताए ।

काठमाडौं महानगरपालिकाले प्रहरीको सहयोग मागेर गत २४ वैशाखदेखि फोहोर उठाउन थालेको थियो । स्थानीयको अवरोधका कारण फोहोरका गाडी रोकिने र खुल्नेको ठेगान हुन छाडेको छ । लामो समयदेखि काठमाडौं उपत्यकाका सडक, चोक र गल्लीमा फोहोर थुप्रिँदा सहर भने पूरै दुर्गन्धित बन्न थालेको छ । चिकित्सकहरूले हैजा फैलन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।

पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले फोहोरको गाडी जान नदिँदा झन्डै एक महिनादेखि फोहोर उठ्न सकेको छैन । राजधानी दैनिकमा टेनिस रोकाले खबर लेखेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्