
बुटवल उपमहानगरपालिकाको एमालेबाट प्रमुख पदका प्रत्यासी बाबुराम भट्टराई आफूलाई साथ दिनेहरूलाई आभार व्यक्त गरेका छन् ।
आफू पराजित भए पनि देखाएको विश्वास र सहानुभूतिप्रति सम्मान व्यक्त गर्दै प्रमुखमा निर्वाचित खेलराज पाण्डे र उपप्रमुखमा निर्वाचित सावित्रादेवी अर्याललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
भट्टराई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे नगर प्रमुखमा निर्वाचित भएका छन् । पाण्डेले ३० हजार १३० मत ल्याए भने उनका प्रतिस्पर्धी भट्टराईले २२ हजार ५९७ मात्र ल्याउन सके ।
उनले भनेका छन्, ‘बुटवलमा मिश्रित परिणाम आएको छ । यसको अर्थ मिलेर काम गर्नुहोस् भन्ने हो । बुटवलको विकास समृद्धिको यात्रामा राम्रा र रचनात्मक काममा हामी साथमै छौं ।’ एमाले निर्वाचनको परिणामले एमाले नआत्तिने र नमात्तिने उनको भनाइ छ ।
उनले चुनावमा राज्यशक्तिको दुरुपयोग भएको आरोप पनि लगाए । ‘सरकारमा हुनेहरूले चुनावमा शक्तिको दुरुपयोग कसरी गर्छन् भन्ने बुटवलको यस चुनावमा देखिएको छ,’ उनले भनेका छन्, ‘एउटा माघले जाडो जाँदैन । प्रतिस्पर्धामा भद्रता प्रदर्शन न्यूनतम सामाजिक मानक छाडेर अस्वस्थ कार्य नगरे पनि चुनाव जितिन्छ भन्ने मेरो विश्वास मरेको छैन ।’