
संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद–बिक्री मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
सीआईबीका अनुसार रसुवाको उत्तरगया गाउँपालिका–९ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्दै आएका ३८ वर्षीय टेकबहादुर तामाङलाई पक्राउ गरिएको हो ।
यसअघि तामाङ अवैध रूपमा संरक्षित वन्यजन्तुको छाला ओसारपसार तथा खरिद–बिक्री सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका थिए ।
तर उनी २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए । फरार भएपछि सीआईबीले उनको खोजतलास तीव्र बनाएको थियो ।
खोजतलासका क्रममा खटिएको प्रहरी टोलीले उनलाई मंगलबार काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरङ्खुबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका तामाङलाई सजाय भुक्तानका लागि पुनः केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा बुझाइएको सीआईबीले जनाएको छ ।