
गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व स्वास्थ्य समितिले मंकिपक्सको सम्भावित फैलावटबारे विश्वभरका नेपालीलाई सचेत रहन अपिल गरेको छ।
विशेषगरी पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकिपक्स भाइरल संक्रमणबाट बच्न सतर्क रहन संघले अपिल सुझाव दिएको छ ।
विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाका अनुसार पश्चिम युरोपका मात्र नभएर अष्ट्रेलिया, संयुक्त राज्य अमेरिकालगायत १४ भन्दा बढी देशका नागरिकमा मन्किपक्सका संक्रमित भेटिएको छ । पश्चिम युरोप र बेलायतमा सबैभन्दा धेरै केसहरू भेटिएका छन् ।
पोर्चुगल, स्वीडेन, नेदरल्याण्ड्स, अस्ट्रिया, बेल्जियममा पनि संक्रमितहरु भेटिएका छन् ।
डा सापकोटाले मंकिपक्सको लक्षण ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने बताए ।
ज्वरो देखापरेको १ देखि ३ दिनभित्र रोगीको छालामा रेसा देखा पर्दछ, रेसा प्रायः अनुहारबाट शुरू हुन्छ र त्यसपछि शरीरका अन्य भागहरूमा फैलिदै जान्छ । त्यसपछि रेसाहरु पानी भरिएको फोकामा परिणात हुन्छन् ।
मंकिपक्सको इन्क्युबेशन अवधि सामान्यतया ७ – १४ दिन हुन्छ। मंकिपक्सको लागि अहिलेसम्म कुनै विशेष उपचार छैन । तर मंकिपक्सका धेरै केसहरू हल्का र आत्मसीमित हुन्छन् ।
यो समस्या दुईदेखि चार हप्ताभित्र समाधान हुन सक्छ । तर बुढेसकाल भएका व्यक्तिहरू र इम्युनोलोजिकल रूपमा कमजोर भएकाहरूलाई मंकिपक्सले गम्भीर जटिलताहरू निम्त्याउन सक्छ । जसले मृत्यु समेत हुन सक्ने डा सापकोटाले जानकारी दिए ।
बिफरविरुद्धको खोप मंकिपक्सविरुद्ध प्रभावकारी देखाइएको छ। यद्यपि त्यस्ता खोपहरू आपूर्तिमा सीमित छन् र थोरै देशहरूमा मात्र उपलब्ध छन्।् अन्य भाइरल रोगहरूको लागि काम गर्ने एन्टिभाइरल औषधिहरूले पनि मंकिपक्सविरुद्ध प्रभावकारी देखाइएको छ।
यसअघिको तथ्यांकले संक्रमितमध्ये १० प्रतिशतको मृत्यु भएको देखाएको छ। मंकिपक्स सन् १९७० मा पहिलो पटक देखापरेको थियो र त्यसपछि यो रोग लाग्ने १० मध्ये १ जनामा मृत्यु भएको देखाइएको छ। प्रारम्भिक खोजमा बाँदरबाट यो भाइरस भेटिएकाले यसको नाम मन्किपक्स राखिएको हो ।
'म विश्वभरका नेपालीहरूलाई विश्वसनीय जानकारी स्रोतहरूबाट यो रोगको बारेमा जानकारी र अपडेट रहन र मंकिपक्स पुष्टि भएको वा शंकास्पद मानिस वा जनावरको सम्पर्कमा नपर्न आग्रह गर्दछु,' डा सापकोटाले भने, मंकिपक्सबिरूद्ध उत्तम रणनीति भनेको कोरोना भाइरसको लागि जस्तै रोकथाम हो। तर जो कोहीलाई मंकिपक्स संक्रमण भएको आशंकामा भए वा माथिका भनिएको लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।’