असार १३, २०७९
जर्मनीको श्लोस एल्माउमा आइतवारदेखि शुरू भएको विश्वका शक्तिशाली मुलुक जी७को बैठकले रुसविरुद्ध एकजुट हुने तथा चीनको प्रभाव घटाउन पूर्वाधार विकास योजना अघि बढाउने संकल्प लिएका छन् । जी७ क्यानडा, फ्रान्स, ...
चेतना, विवेक र शीलस्वभावका कारण नै मानिस अरु प्राणीभन्दा श्रेष्ठ मानिएको हो । मानव सभ्यता र प्रगतिको आजसम्मको उपलब्धि यही चेतना र विवेकका कारण सम्भव भएको हो ।
मानवीय चेतना र विवेकले मानव मूल्य वा आदर्श स्थापना गर्दछ, जुन सामाजिक आवश्यकता र अपेक्षालाई पूरा गर्न आवश्यक मानिन्छ । मानिसलाई नैतिक साहस र आन्तरिक शक्ति दिने गुणका रूपमा मानव मूल्य रहने गर्दछ, जसलाई सम्झौता गरेर मानव ‘मानव’ बन्न सक्तैन । मानव मूल्यले प्रत्येकलाई प्रत्येकप्रति जिम्मेवार, सहिष्ण, विवेकी, सद्भावी, संयमी, हार्दिक बन्न प्रेरित गर्दछ, यसका लागि आन्तरिक शक्ति दिन्छ ।
मानव मूल्यको केन्द्रविन्दुमा जीवन, प्रेम र खुशी रहन्छ । यसले सम्बन्ध, सुविधा, विश्वास र व्यवहारलाई सकारात्मक बनाउने गर्दछ । यो मानवता सम्वर्द्धनका लागि अनुभूति अनि आधार हो ।
मानव मूल्य सबैका लागि समान हुन्छन् । परिवेश, पृष्ठभूमि, राष्ट्रियता, संस्कृति, भाषा, भूगोल, धर्म र वैयक्तिक स्तरभन्दा यो माथि हुन्छ र सबैमा समान अर्थवत्ता राख्दछ, सबैबाट समान रूपमा धारण गरिन्छ । अर्को अर्थमा यसले सबैका लागि समान सामाजिक मानकका रूपमा काम गर्दछ । जस्तो कि सत्य, अहिंसा, प्रेम, आदर, विनम्रता, इमान्दारी, निष्ठा, न्याय, संयम, साथित्व, समझदारी, माया, दया, शान्ति, स्वतन्त्रता आदि ।
मानव मूल्यकै जगमा संगठन र पेशागत आचरण स्थापित गरिन्छन् । सार्वजनिक जीवन अवलम्बन गर्ने व्यक्तिका लागि मानव मूल्यका आधारमा नै सांगठनिक र पेशागत मूल्य कायम गरिएका हुन्छन् । प्रत्येक व्यवस्थापक वा पदाधिकारीको उद्देश्य संगठनको मूल्यलाई उसको कार्यव्यवहारमार्फत संस्थागत गर्नु हो । यसले सांगठनिक विश्वास, साझा मान्यता र कार्यसंस्कृति निर्माणमा सहयोग पुर्याउँछ ।
सार्वजनिक व्यवहारमा यसकारण यो महत्त्वपूर्ण हुन्छ कि यसले सार्वजनिक व्यवहारमा सम्झौता गर्न नसकिने मानक स्थापना गर्दछ । यो आन्तरिक मान्यता र आदर्शको रूपमा रहन्छ । जस्तो कि उत्साह, आदर, जिम्मेवारी, विश्वास, आत्मअनुशासन र निष्पक्षता ।
सबल मूल्य प्रणालीले कार्य मापदण्डका रूपमा पनि काम गर्दछ । संगठनहरूका साझा मूल्य समान रहे पनि कतिपय मूल्य आदर्श भने संगठनपिच्छे फरक हुन सक्दछन्, उद्देश्य र कार्यप्रणाली अनुसार हुने गर्दछ । जस्तो कि लोक सेवा आयोगको प्रमुख मूल्य निष्पक्षता, वस्तुपरकता र वैधता हो, जसको आधारमा योग्यता प्रणाली संस्थागत भएको हुन्छ तर नेपाल विद्युत् प्राधिकरण वा दूरसञ्चार प्राधिकरण जस्ता सार्वजनिक उपयोगिता प्रदायक निकायको मूल्य ग्राहक सेवा, शीघ्रता र मूल्य सार्थकता हो । व्यापारिक कम्पनी म्याक डोनल्डले आफ्नो मूल्यलाई स्तरीयता, सेवा, सफाइ र सन्तुष्टि भनी घोषणा गरेको छ । यी मूल्य नै संगठन बाँच्ने र पहिचानका आधार पनि हुन् । किनकि यसैले कार्यसम्पादन स्तर, मितव्ययिता, ग्राहक व्यवहार, कार्य वातावरण र समस्त कार्यप्रणाली निर्धारण गर्दछ । यो नै कार्य संस्कृति निर्माणको आधार हो । यसले स्रोतसाधन र शक्ति अभ्यासलाई पनि मार्गदर्शन गर्दछ र निर्णयको आधारका रूपमा पनि काम गर्दछ । त्यसैले आधुनिक संगठनहरू कसरी आफूलाई मूल्यबोधी बनाउने भन्ने चापमा छन् ।
राज्य बहुउद्देश्यीय, आमनागरिकको विश्वासको अन्तिम धरोहर र नैतिक संस्था पनि भएकाले यसलाई मूल्यबोधी बनाउने आवश्यकता अरुभन्दा बढी नै रहन्छ । सर्वसाधारणका प्रगति र हितरक्षाका लागि घोषणा गरिएका नीतिहरू (जो राज्य इच्छा कहलाइन्छन्) मूल्य संस्थागत गर्ने संरचना हुन् भने सार्वजनिक जिम्मेवारी बोक्ने व्यक्ति त्यसका पार्टपुर्जा ।
महान् चिन्तक, दार्शनिक र सुधारकका व्यवहार, सिद्धान्त र निष्कर्षले मानव मूल्यलाई विस्तृतीकरण, व्याख्या र संस्थागत बनाउन योगदान पुग्ने गर्दछ । महानता त्यत्तिकै प्राप्त हुने उपलब्धि होइन, आधारभूत मानव मूल्यको अवलम्बनका कारण नै व्यक्ति महान् बन्दछ, त्यसलाई अवलम्बन गर्न नसक्दा उ नीच बन्छ ।
प्राचीन तथा पौराणिक कालदेखि आजसम्मको मानव सभ्यताको इतिहास नियाल्ने हो भने महानता आधारभूत मानव मूल्यको अवलम्बनबाट नै प्राप्त भएको देखिन्छ । सामाजिक अभियान्ता तथा सुधारकहरू पनि यिनै आधारभूत मानव मूल्यलाई व्यावहारिक जीवनमा उतार्ने सरल मार्ग पहिचानमा रहेका देखिन्छन् । प्रशासक एवं राजनेताहरू यसलाई सार्वजनिक जीवनमा संस्थागत गर्ने संरचना र प्रणाली बसाउने अभियानमा रहन्छन् । यस्ता चिन्तक र सुधारकका व्यवहार र कार्यशैली समाजका लागि असल अभ्यास पनि बन्ने गर्दछ ।
पूर्वीय दर्शन र नीति मानव सभ्यता, सामाजिक व्यवस्था र राज्य प्रणालीलाई मार्गदर्शन गर्ने आदर्श आधार हो तर पाश्चात्य जस्तो प्रचारमा यो छैन । पूर्वीय दर्शन हिन्दू नीति व्यवस्था (हिन्दू गभर्नेन्स) मा आधारित छ । अर्को अर्थमा यो पुराणमा आधारित सामाजिक व्यवस्था हो, जो धर्म, संस्कृति, जातीयता, वर्ण परम्परा, आदरभाव, कर्तव्य र नैतिकतालाई जोड दिन्छ । हिन्दू शास्त्र व्यवस्थाको उल्लेख संस्कृत साहित्य, जस्तो कि वेद, पुराण, गीता, रामायण, प्राचीन स्मृति तथा श्रुति हुन् । मर्यादा पुरुष भगवान् रामका सद्व्यवहार र अभिव्यक्तिलाई पूर्वीय परम्परामा आदर्शका रूपमा लिइन्छ । श्रीकृष्णले गीतामा दिएका उपदेशले समाज, राज्य, परिवार, सम्बन्ध, संगठन र अर्थतन्त्र सञ्चालनमा मार्गदर्शन गर्दछ । उनले भनेका थिए, ‘ठूलाका वाणी नीति बन्छ ।’
यसको मतलब ठूला व्यक्तिहरू स्वभावैले समाज व्यवस्थालाई प्रभाव पार्ने हैसियतमा हुन्छन् र उसको अभिव्यक्तिले समाजको प्रतिनिधित्व गर्नुपर्छ भन्ने हो । गीतामार्फत भगवान्ले शास्त्र (नीति), कर्म (काम) र धर्म (आचरण) लाई महत्त्व दिएका थिए, जो मानव समाजका आधारमूल्य । गीताका वाणीहरू सर्वकालीन छन् ।
कर्मण्येबाधिकारस्ते मा फलेसु कदाचन
मा कर्मफलहेतुर्भुमा ते सङ्सोद्रस्वकर्मणि ।
(अध्याय २, श्लोक ४७)
मानिसको कर्म गर्ने मात्र अधिकार छ, के प्राप्त गरिन्छ भन्ने आशा गरेर काम गर्नुहुन्न । कर्म नगरे सिद्धि प्राप्त हुँदैन तर आशक्तिमा लिप्त भएर काम गर्नु हुँदैन । आधुनिक संगठन विज्ञानमा कामप्रतिको निष्ठा र समर्पणको स्रोत गीताका श्लोक हुन् ।
अर्को प्रसङ्गमा भगवानले भनेका थिए – इन्द्रियहरू शरीरभन्दा बलवान हुन्छन् । इन्द्रियभन्दा मन बलवान हुन्छ, मनभन्दा बुद्धि बलवान हुन्छ, फेरि बुद्धिभन्दा पनि अत्यन्त बलवान आत्मा हो । त्यसैले आत्मिक अनुशासन सबैभन्दा ठूला आचरण हो र सार्वजनिक जीवनमा यो अझै महत्त्वपूर्ण हुन्छ ।
एसियाका ज्योति गौतम बुद्ध अहिंसा र सत्कर्म शिक्षाका अद्वितीय दार्शनिक, साधक र सिद्धात्मा हुन् । उनले मानव समाजका लागि मात्र अहिंसा सिद्धान्त प्रतिपादन गरेनन्, समस्त प्राणीका पुजारी बने । चार सत्य, अष्ठ मार्ग, पञ्चशील बुद्ध दर्शनका निष्कर्ष हुन् । खराब नगर्नु, सत्य गर्नु, मन स्वच्छ राख्नु बुद्ध वाणी हो, जसले मानव सभ्यता सम्वद्र्धन गर्न बल दिन्छ । गौतम बुद्धका अनुसार यदि वाणी सही र दयालु छ भने यसले विश्वलाई बदल्न सक्छ । आफ्नो दियो (प्रकाश) आफैं बन्नुपर्छ । बुद्ध दया, सत्य र अहिंसाका प्रचारक र प्रयोक्ता पनि बने । त्यसैले बुद्धवाणीहरू दया र सत्यका खानी हुन्, ती व्यावहारिक मात्र होइनन्, सास्वत पनि छन् ।
पूर्वीय नीति शास्त्रका प्रकाण्ड विद्वत् व्यक्तित्व चाणक्य पूर्वीय राज्य दर्शनका स्रोत हुन् । कार्यक्षेत्र अनुसार नाम र पहिचान भएका विष्णु गुप्तलाई आर्थिक दर्शनमा कौटिल्य, नीति शास्त्रमा चाणक्य र न्याय अनि कामशास्त्रमा वात्सायन भनेर पनि चिनिन्छ । प्राचीन तक्षशिलाका अर्थशास्त्रका मेघावी प्राध्यापक र मगध सम्राट चन्द्रगुप्त मौर्यका महामन्त्री चाणक्य शास्त्रशक्ति र शस्त्रशक्तिलाई राज्यकौशल मान्दथे, असम्भव भन्ने शब्दलाई कातरको शब्द मान्दथे अनि वीर र बुद्धिमानले आफ्नो मार्ग आफैं बनाउँछ भन्ने मान्यता राख्दथे । उनका विचार र दर्शनबाट आधुनिक संगठन र समाजले थुप्रै कुराहरू सिक्न सक्दछ । जस्तो कि खास पदहरूमा त्यस्ता मानिसलाई नियुक्त गर्नुपर्छ, जसले राजकीय कार्यहरू विशेष योग्यतापूर्वक सम्पन्न गर्न सक्दछ । त्यस्तै ‘कुनै पनि पुरुषको सामथ्र्यको स्थिति उसका कार्यको सफलतामाथि निर्भर गर्दछ, अनि उसको त्यो कार्यक्षमता उनको विद्याबुद्धिका बलमा मापन गर्न सकिन्छ ।’ ‘नियुक्त गर्नुभन्दा पहिला राजाले उनीहरूको प्रामाणिकता, सत्यवादिता जाँच्नु पर्दछ ।’ ‘जुन मानिस सन्तुष्ट छन्, तिनीहरूलाई अरु धन, मान आदिले सत्कार गरिरहनुपर्दछ तर असन्तुष्ट व्यक्तिहरूलाई साम, दान, दण्ड र भेद जस्ता जुन नीति अपनाउँदा काम बन्न सजिलो हुन्छ, तिनैलाई प्रयोग गर्दै आफ्ना नियन्त्रणमा राख्नु पर्दछ ।’ यसर्थ आचार्य कौटिल्यका नीति सूत्रहरू आज पनि व्यवस्थापनका हरेक क्षेत्रमा उपयोग गर्न सकिन्छ ।
सत्य, अहिंसा र सदाचारिताका पुजारी मोहनदास कर्मचन्द गान्धी आफ्ना महान् मानवतावादी कार्यका कारण महात्मा गान्धी बन्न पुगे । पूर्वीय दर्शन र बुद्ध आदर्शका अनुयायी गान्धीले आत्मिक र नैतिक मूल्य आचरण, सत्य, निष्ठा, संयमता र स्वतन्त्रताका लागि जीवन उत्सर्ग गरे । उनले स्थापित गरेका कतिपय कुरामध्ये जीवनका ७ पाप (क) कर्म विनाको सम्पत्ति (ख) चरित्र विनाको ज्ञान (ग) नैतिकता विनाको व्यापार (घ) मानवता विनाको विज्ञान (ङ) सिद्धान्त विनाको राजनीति (च) मानवता विनाको धर्म र (ज) विवेक विनाको सुखलाई प्रमुख रूपमा लिन सकिन्छ, जसले जीवन व्यवस्थाका सबै पक्षलाई मार्गदर्शन गर्दछ ।
गान्धीका अनुसार चरित्र विनाको ज्ञान खराबीको शक्ति बन्न जान्छ, चरित्रको शुद्धि नै सारा ज्ञानको ध्येय हुनुपर्दछ । गान्धीको जीवन दर्शनबाट सरल र क्रियाशील जीवन, निस्वार्थता, उदाहरणीयता, सादगीपना, क्षमाशीलता, लगन जस्ता पक्षहरू जो कुनैले सिक्न सक्छ, जुन वैयक्तिक जीवन र कतिपय सार्वजनिक व्यवहारमा आवश्यक मानिन्छन् ।
उल्लिखित बाहेक पनि थुप्रै विचारक, व्यवहारवादी र दार्शनिकहरू जस्तो कि दयानन्द सरस्वती, विआर अम्वेडकर, मदर टेरेसा, जवाहरलाल नेहरू, स्वामी विवेकानन्द, आचार्य परमहंश स्वामी, रविन्द्रनाथ टैगोर, पृथ्वीनारायण शाह, बीपी कोइराला, दलाई लामा लगायत असंख्य चिन्तकका विचार, आदर्श र मान्यताले सामाजिक व्यवहारलाई सोअनुरूप निर्दिष्ट हुन प्रोेत्साहित गरिरहेको छ । उनीहरूका वाणी, विचार र व्यवहारको अनुकरणबाट सार्वजनिक जीवनलाई स्वच्छ, नैतिक र कार्यनिष्ठ बनाउन सकिन्छ ।
हाम्रो संविधानले अति विशिष्ठ पदहरूका लागि ‘उच्च नैतिक चरित्र’लाई योग्यताको रूपमा लिएको छ । आजभोलि भन्ने गरिएको सुशासन पूर्वीय शास्त्रोक्तमा भनिएको ‘रामराज्य’ नै हो । समकालीन विश्वमा मानव मूल्यको महत्त्व झनै बढ्दै गएको छ, किनकि यसको परिपालन सामाजिक अपेक्षा अनुसार भएको छैन । ([email protected])
जर्मनीको श्लोस एल्माउमा आइतवारदेखि शुरू भएको विश्वका शक्तिशाली मुलुक जी७को बैठकले रुसविरुद्ध एकजुट हुने तथा चीनको प्रभाव घटाउन पूर्वाधार विकास योजना अघि बढाउने संकल्प लिएका छन् । जी७ क्यानडा, फ्रान्स, ...
पश्चिमी सैन्य संगठन नेटोको गत साता सम्पन्न शिखर सम्मेलनले रुस (र चीन) सँगको द्वन्द्व चर्काउन विभिन्न गतिविधि गरेको छ । स्पेनको राजधानी मड्रिडमा सम्पन्न उक्त सम्मेलनमा केही महत्त्वपूर्ण घटनाक्रम विकसित भए जसको दीर्घकाली...
युक्रेनको डोनबास क्षेत्रमा लगातार विजय प्राप्त गरिरहेको रुसले कृष्ण सागरमा रहेको सर्प टापु (स्नेक आइल्यान्ड) बाट चाहिँ पछि हट्नुपरेको छ । युक्रेनीहरूले जिमिनी टापु भन्ने गरेको त्यस क्षेत्रबाट रुसीहरूलाई ह...
रुसले युक्रेनविरुद्ध चलाएको विशेष सैन्य कारवाही चलाएको १२५ दिन पुगिसक्दा पनि टुंगो लाग्ने छाँटकाँट नदेखिएपछि राष्ट्रपति भोलोदीमीर जेलेन्स्की समेत आजित भइसकेका छन् । सोमवार जी७ मुलुकहरूको बैठकलाई सम्ब...
विगत केही समयदेखि विश्व व्यवस्थामा आइरहेको परिवर्तनलाई रुस–युक्रेन द्वन्द्वले थप तीव्रता दिएको छ । रुस र चीनले अमेरिकी एकध्रुवीय प्रभुत्वलाई खुलमखुला चुनौती दिइरहेकाले अमेरिकी नेतृत्वको सैन्य संगठन नेटो...
स्पेनको राधजानी मड्रिडमा मंगलवार (२८ जुन) बाट पश्चिमी सैन्य गठबन्धन नेटोको शिखर सम्मेलन शुरू भएको छ । बिहीवारसम्म चल्ने यस सम्मेलनमा नयाँ रणनीतिक अवधारणाका विषयमा चर्चा गरिने नेटोको वेबसाइटमा उल्लेख ...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...