
अर्थमन्त्री र गभर्नरबीच भेट र पुँजीबजारको समस्या समाधान गर्न अध्ययन गर्ने विषयले शेयरमा सकारात्मक प्रभाव परेको छ ।
बुधवार बिहान अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बीचको भेटमा मौद्रिक नीतिको तयारीका विषयमा छलफल भयो भने बुधवारै पुँजीबजारको अध्ययन गर्ने समिति पनि बन्यो । यही कारण बुधवार शेयर बजार ६०.२२ अंकले उकाले चढेको छ ।
बुधवार बजार २.९८ प्रतिशतले बढ्दा नेप्से २०८०.४४ विन्दुमा पुगेको छ । बजार बढेसँगै ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बुधवार कालिका लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १०/१० प्रतिशतले बढेको छ ।
बुधवार अन्य ४ वटा कम्पनी बलेफी हाइड्रो, कालिका लघुवित्त, तेह्रथुम पावर, उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य पनि ९.२८ देखि ९.९६ प्रतिशतसम्मले बढेको छ ।
बजार बढेको दिन पनि गुमाउनेमा भने माउन्टेन हाइड्रो नेपाल रहेको छ । बुधवार सबैभन्दा बढी गुमाउने यो कम्पनीको शेयर मूल्य ४.११ प्रतिशतले घटेको छ ।
बुधवार नेप्सेमा सूचीकृत कम्पनीमध्ये २३१ वटाको ४९ लाख ५७ हजार कित्ता शेयरको ३० हजार पटक कारोबार भएको छ । यसबाट १ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ ।