
नदीमा खसेको मोबाइल १० महिनापछि पाइएका र ठीकठाक चालू होला भनेर कसैले कल्पना गरेको हुँदैन तर ब्रिटेनमा यस्तै घटना भएको छ ।
ब्रिटेनका ओवेन डेबिसको फोन वाय नदीमा खसेको थियो । तत्कालै नपाइएपछि उनी मोबाइल बिनै घर फर्किए ।
तर त्यो फोन १० महिनापछि अर्काे व्यक्ति मगेल पचेकोले भेट्टाए र फेसबूक ग्रूपहरूमा मोबाइल भेटिएको सूचना राखे ।
उनले पानीमा खसेको मोबाइल भेट्टाउँदा बन्द अवस्थामा थियो । उनले घर आएर मोबाइल चार्ज गरे, त्यसपछि मोबाइल चलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
फेसबूकमा मोबाइल पाइएको सूचना ओवेनका साथीले देखेर उनलाई खबर गरे । मोबाइल हराउँदा सामाजिक सञ्जालबाट टाढा रहेका उनी अब फेसबूक चलाउन पाउने भएका छन् ।
पानीमा खसेको मोबाइल पाइनु र चल्नुलाई चमत्कारको रूपमा लिइएको छ ।