
अघिल्लो साता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले व्यक्त गरेको धारणा समतामूलक बहुध्रुवीय विश्व व्यवस्थाको आधारशिला खडा गर्ने महत्त्वपूर्ण दस्तावेज बनेको छ ।
जुलाई २० मा गैरनाफामूलक संस्था एजेन्सी फर स्ट्राटेजिक इनिसिएटिभ्सले आयोजना गरेको कार्यक्रम स्ट्रङ आइडियाज फर ए न्यु टाइममा पुटिनले अन्तर्राष्ट्रिय सम्बन्धमा प्रभुत्व जमाइरहेका धनाढ्यहरूको अन्यायपूर्ण गतिविधिको आलोचना गरे । रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारवाही चलाएर ती धनाढ्यहरूको एकध्रुवीय प्रभुत्वलाई ध्वस्त पार्दै लगेको उनले बताए ।
विश्व व्यवस्थामा हालीमुहाली गर्ने धनाढ्यलाई पुटिनले रुसी भाषामा जोलोटोइ मिलियार्ड (अंग्रेजीमा गोल्डन बिलियन) भनेका छन् । रुसी भाषामा लोकप्रिय यस शब्दावलिले ती सम्भ्रान्तहरूलाई इंगित गर्छ जसले आफ्नो सम्पत्ति थुपार्नका लागि अनेकौं तिकडम गर्छन् र सर्वसाधारणको जीवन ध्वस्त पार्छन् ।
विगत केही समययताको भूराजनीति यिनै धनाढ्यहरूको पकडमा रहेको र अब क्रमशः तिनीहरू पतन हुन थालेको पुटिनको भनाइ छ । यी धनाढ्यहरूले संसारभरि निरपेक्ष सार्वभौमसत्ता कायम गरेको र आफ्नो नियम सबैमाथि लाद्न खोजेको उनले आक्षेप लगाए ।
यिनीहरूले नै संसारलाई पहिलो र दोस्रो दर्जाका मानिसमा विभक्त गरेको पुटिनको भनाइ छ । यस्तो विभाजनकारी समूह जातिवादी र नवउपनिवेशवादी भएको उनी बताउँछन् ।
विश्वव्यापीकरण तथा उदारवादी विचारधारा आक्रामक रूपमा संसारभरि फैलाउन खोज्ने यस समूहको पकड अन्त्य नहुन्जेल संसार समतामूलक नहुने पुटिनको भनाइ छ । यस्तालाई प्रश्रय दिने पश्चिमले भविष्यको खाका विश्वसामु प्रस्तुत गर्न नसक्ने उनको ठोकुवा छ ।
पश्चिमको प्रभुत्व नै एसिया र अफ्रिकाका मानिसहरूमाथिको डकैतीका कारण सम्भव भएको पुटिनले बताए । यस सम्भ्रान्त समूहको सुप्रानेसनल सिस्टमले (बहुराष्ट्रिय प्रणाली जसमा सदस्य राष्ट्रहरूले आफ्नो सार्वभौमसत्ताको केही अंश परित्याग गर्छन्) अन्य मुलुकलाई छद्म तरिकाले नियन्त्रणमा लिने काम गरिरहेको र त्यसलाई वास्तविक सार्वभौम राष्ट्रहरूले ध्वस्त पारिरहेको पुटिनको भनाइ छ ।
संसारभरि असमानता फैलाउनका लागि जिम्मेवार सुप्रानेसनल वा ट्रान्सनेसनल सिस्टमका बारेमा लेज्ली स्क्लेयर र विलियम आई रबिन्सनले विशद चर्चा गरेका छन् ।
नवउदारवादी तथा नवउपनिवेशवादी पश्चिमविरुद्ध लडिरहेका न्यायप्रेमी तथा समतावादी तप्काले उठाइरहेको कुरा पुटिनले प्रभावशाली रूपमा संसारसामु राखेका छन् । त्यसैले पुटिनको यो शक्तिशाली भनाइ सार्वजनिक भएपछि पश्चिममा खैलाबैला मच्चिएको छ । प्रमुख सञ्चारमाध्यमहरूमा पुटिनको यस भनाइको अर्थ निकाल्ने कोशिशहरू भइरहेका छन् ।
अर्बपति जेफ बेजोसको लगानी रहेको तथा अमेरिकी संस्थापनको आवाज बोल्ने द वाशिङटन पोस्टमा पुटिनको सम्बोधनलाई एडम टेलरले विश्लेषण गरेका छन् । अन्य कतिपय सञ्चारमाध्यमले टेलरकै विश्लेषणमा टेकेर सामग्री पस्किएका छन् । पुटिनले सर्वनाशी दृष्टिकोण प्रस्तुत गरेको टेलर लेख्छन् ।
टेलरले पुटिनको भनाइमा परेका गोल्डन बिलियनको कुरा षड्यन्त्र सिद्धान्तमा आधारित इतिहास भनी अवमूल्यन गर्न खोजेका छन् । उनका अनुसार, गोल्डन बिलियन भन्ने शब्दावलि सन् १९९० मा प्रकाशित एक पुस्तकमा परेको थियो । सोभियत संघको पतन हुने बेलामा निस्केको उक्त पुस्तक द प्लट अफ वर्ल्ड गभर्नमेन्ट : रसिया यान्ड द गोल्डन बिलियन एनातोली चिकुनोभले लेखेका थिए ।
त्यसमा चिकुनोभले रुसविरुद्ध पश्चिमले षड्यन्त्र गरिरहेको वर्णन गरेका थिए । पश्चिमका धनाढ्य सम्भ्रान्तहरूले वातावरणीय परिवर्तन तथा विश्वव्यापी विपतका कारण विश्वका स्रोतसाधनमा थप प्रतिस्पर्धा हुने र अन्ततोगत्वा विश्व तिनै अर्बपतिहरूका लागि बाहेक अरूले बस्नै नसक्ने हुने चिकुनोभले लेखेका थिए ।
यस्तो स्थितिमा रुससँग रहेको प्रचुर प्राकृतिक स्रोत र विशाल भूभाग जसरी भए पनि आफ्नो नियन्त्रणमा लिएमा आफ्नो अस्तित्व जोगिने उनीहरूको सोच छ भनी चिकुनोभले दाबी गरेका थिए ।
विश्व अहिले जलवायु संकट र तापक्रम वृद्धिको समस्यामा परेको छ । यसले गर्दा विश्वका कतिपय भूभाग बस्नै नसकिने भएर जलवायु शरणार्थीहरूको संख्या बढ्न थालेको छ । त्यसैले चिकुनोभको भनाइ सही साबित भएको छ ।
अनि सोभियत संघको पतनपछि एक दशक जति पश्चिमी पूँजीवादीहरूले रुसमा मच्चाएको व्यापक लुटपाट पनि इतिहासको पानामा दर्ज भएको छ । पुटिनको उदय भएपछि ती पश्चिमा पूँजीवादीहरूको लुट बन्द भएकाले उनीहरू पुटिनलाई चरम घृणा गर्छन् भन्ने कुरा पनि कसैबाट लुकेको छैन ।
त्यसैले चिकुनोभको पुस्तकलाई षड्यन्त्र सिद्धान्त साबित गर्ने पश्चिमी प्रयास अर्थहीन छ । पुटिनले पनि त्यही अवधारणालाई अघि बढाउँदै नवउपनिवेशवादी पश्चिमाहरूको मुटुमा ढ्यांग्रो ठोकिने गरी सैन्य कारवाही तथा डलर प्रभुत्वलाई कमजोर बनाउने कदम चालिरहेका छन् ।
चीनले पनि पश्चिमको सुप्रानेसनल सिस्टमलाई ध्वस्त पार्नका लागि अप्रत्यक्ष भूमिका खेलिरहेको अमेरिकी विश्लेषक एन्ड्रु कोरीब्कोको भनाइ छ । बेल्ट यान्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत संसारका विभिन्न स्थानमा विशाल परियोजनाहरू बनाएर आर्थिक माध्यमले चीन पश्चिमी सम्भ्रान्तहरूको पकडलाई ध्वस्त पार्न खोज्दैछ ।
बीआरआई क्रमशः सफल हुँदै गएपछि डराएका पश्चिमा सम्भ्रान्तहरू त्यसको बदनामी गर्न लागिपरेका छन् । ऋण पासोका कुराहरू त्यही सन्दर्भमा आएका हुन् ।
तर रुसले चीनभन्दा एक कदम अघि बढेर आफ्नो पश्चिमी सम्भ्रान्तको नियन्त्रण ध्वस्त पार्नका लागि आर्थिक, सैन्य र राजनीतिक लगायत सबै उपायहरू अपनाउन थालेको कोरीब्को लेख्छन् । यसैमार्फत सम्भ्रान्तहरूको नियन्त्रणमा रहेको एकध्रुवीय प्रभुत्वलाई ध्वस्त पारी बहुध्रुवीयता भित्र्याउन रुसले भरमग्दूर प्रयास गरिरहेको छ ।
यो एक प्रकारले भन्दा सोभियतकालीन कम्युनिस्ट रुसले चालेको कदमको पुनरावृत्ति जस्तो देखिएको कोरीब्कोको तर्क छ ।
अमेरिका नेतृत्वको पश्चिमी पूँजीवादीहरूले लोकतन्त्रको आवरणमा आक्रामक वित्तीय अल्पतन्त्र (ओलिगार्की) लाई सैन्यशक्तिको आडमा संसारभरि लादिरहेकोमा स्वतन्त्र सार्वभौम मुलुकहरू त्यसविरुद्ध उठ्नका लागि रुसले प्रेरणा दिएको छ । शीतयुद्धको बेलामा पश्चिमी पूँजीवादलाई सोभियतहरूले सन्तुलनमा राखे जस्तो चीन र रुसले अहिले पूँजीवादी अल्पतन्त्रलाई दह्रो चुनौती दिइरहेका छन् ।
अमेरिकाको मिजूरी विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक माइकल हडसनका अनुसार, पश्चिमी मुलुकहरूमा अहिले देखिएको आर्थिक विनाशबाट आफूलाई जोगाउन युरेसियाली क्षेत्रका मुलुकहरूले वैकल्पिक सामाजिक तथा आर्थिक दर्शनमा आधारित नवीन आर्थिक संस्थाहरू बनाउन थालेका छन् । यस क्षेत्रको सबभन्दा ठूलो तथा द्रुत गतिमा विकसित भइरहेको अर्थतन्त्रको हैसियतमा चीनले आफ्नो समाजवादी नीतिमार्फत यस गैरपश्चिमी वित्तीय तथा कारोबारी प्रणालीलाई आकार दिने देखिन्छ ।
चीनसँगै रुस पनि पश्चिमको शोषक पूँजीवादी प्रणालीको विकल्प खोज्नका लागि गम्भीर देखिएको छ । पुटिनले अघिल्लो साता राखेको धारणाले त्यसको संकेत दिएको छ । पश्चिमले यस नयाँ विकल्पलाई असफल बनाउनका लागि कुनै कसर बाँकी राख्ने छैन ।