
सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज चट्याङ लागेर ३९ वर्षीया कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए ।
वर्षा र हुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर उनी गम्भीर घाइते भएकी थिइन् । राईको शव आजै जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ । शवपरीक्षणपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।