०७ असार २०८३, आइतबार

अरुको उपकार गरेर मनाइने गुँला पर्व प्रारम्भ

अरुको उपकार गरेर मनाइने गुँला पर्व प्रारम्भ

जीवनलाई राम्रो मार्गमा डोर्‍याउन नियम पालना गरेर मनाइने गुँला पर्व शुक्रवारदेखि शुरू भएको छ । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा(एक महिना)सम्म तोकिएको नियम(शिल) पालनाका साथै राम्रोसँग धर्म–कर्म गरेर मनाइने यो पर्व विधिवत् शुरू भएको हो । 

नेपाल संवतअनुसार दशौँ महिनालाई गुँला भनिन्छ । ‘गुँ’को अर्थ ‘गुन गर्ने’ अर्थात् राम्रो एवं गुनिलो काम गरेर अरुको उपकारसमेत गर्ने कामलाई जनाउने राजगुरुजु मञ्जुश्रीबज्र बज्राचार्य बताउँछन् । यस पर्वका अवसरमा जुन नियमको पालनाले जीवनमा राम्रो हुन्छ त्यसैलाई पालना गरिन्छ ।

‘यस पर्वका अवसरमा सक्नेले दशशील, नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नुपर्छ, पञ्चशील सबैले सधैँ पालना गर्नुपर्छ भन्ने नियम छ’, उनी भन्छन्, ‘पञ्चशीलमा प्राणी हिंसा नगर्ने, कसैले नदिई केही पनि नलिने, मिथ्याचार काम नगर्ने, झुटो कुरा नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने पर्दछन् । पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ । अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गर्नेलाई अष्टशील भनिन्छ । यसमा दुई कुरा थपेपछि दशशील हुन्छ । आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने नियम पालना गर्नुलाई दशशील भनिन्छ ।’ 

यो महिनामा क्षमताअनुसार भित्री मनदेखि दान दिने गरिन्छ । महिनाभर स्वयम्भूको महाचैत्यमा विशेष मेला पनि लाग्ने गर्छ । राजधानी शहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भीड लाग्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट शृंङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन् ।

गुँला पर्वका अवसरमा विभिन्न बौद्ध विहारमा दीपंकर बुद्ध एवं अन्य बुद्धका सामग्री प्रदर्शन गरिन्छ । यस अवसरमा विभिन्न बौद्ध विहारमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ गरिन्छ । ठमेलको भगवान् बहालमा नीलपत्रमा स्वर्ण अक्षरले लेखिएको शतसहस्रिका अर्थात् एक लाख श्लोक रहेको प्रज्ञापारमिता ग्रन्थ इच्छुक दर्शनार्थीका लागि देखाइन्छ । गुरुजुबाट यसको पाठसमेत हुन्छ । यो महायान सम्प्रदायको ठूलो ग्रन्थ हो ।

गुँला पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजा आराधना गरी एकमहिने व्रत समापन गरिन्छ । यो पर्व सकिएपछि नेवार समुदायले इयँला महिना पनि विशेषरूपमा मनाउने गर्दछन् । यो पर्वका अवसरमा महिनाभर बौद्ध चैत्य, विहार, गुम्बा, स्तुपालगायत धार्मिकस्थलमा बाजागाजासहित घुम्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा काठमाडौं उपत्यका विभिन्न थरी बाजाले गुञ्जायमान हुने गर्छ । रासस
 

कमेन्ट गर्नुहोस्