०७ असार २०८३, आइतबार

समाजवादी केन्द्र बनाउने प्रयासमा किन लाग्यो ब्रेक ?

साउन १४, २०७९
समाजवादी केन्द्र बनाउने प्रयासमा किन लाग्यो ब्रेक ?

संघीय चुनावको मिति घोषणा तयारी भइरहँदा सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरू समाजवादी केन्द्रको रूपमा पार्टी स्थापित हुने गरी चुनावी सहकार्यको तयारीमा थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र नेकपा एकता राष्ट्रिय अभियानलाई सम्मिलित गरेर समाजवादी केन्द्र बनाउने बारे घनिभूत छलफल भएको थियो । 

गत स्थानीय चुनावमा नेपाली कांग्रेससँगको गठबन्धनमा त्यति सन्तुष्ट नरहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी संघीय चुनावमा सकेसम्म धेरै सिटमा जित निकाल्ने सूत्रको खोजीमा छन् । त्यसका लागि वामपन्थी दलहरूको मोर्चाबन्दी गरेर कांग्रेससँग ‘बार्गेनिङ पावर’ बढाउने उनीहरूको प्रारम्भिक प्रयास जारी छ । 

समाजवादी केन्द्र बनाउनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम सहमत थिए ।

तर, भर्खरै ‘राजनीतिक डिभोर्स प्रकरण’मा सहभागी भएका जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई भने अन्ततः समाजवादी केन्द्र बनाउने विषयमा सहमत भएनन् । डा. भट्टराईले समावेशी लोकतान्त्रिक पार्टीलाई नेपाल समाजवादी पार्टीमा परिणत गरेर निर्वाचन आयोगमा अपडेट गराएका छन् । उनले कम्युनिष्ट विचारधारा भएको कुनै पनि पार्टीमा सहभागी हुन नसक्ने भनेर समाजवादी केन्द्र बनाउने बहसबाट बाहिरिएको एकीकृत समाजवादीका एक नेताले बताए । 

२०७२ मा संविधान जारी भएपछि संसद सदस्य र माओवादी केन्द्रको उपाध्यक्षबाट बाहिरिएर नयाँ शक्ति पार्टी गठन गरेका भट्टराईले त्यसैबेला कम्युनिष्ट विचारधारा त्यागेको घोषणा गरेका थिए । 

समाजवादी केन्द्र बनाउने बारेमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमत सचिवालय सदस्य दुई पटक छलफलमा जुटेका थिए । वामपन्थी पार्टीहरूलाई समेटेर एउटै कम्युनिष्ट पार्टी बनाउने र अहिले तत्काल त्यो सम्भव नभए वामपन्थी मोर्चा बनाएर निर्वाचनमा सहभागी हुने गरी उनीहरूको छलफल अघि बढेको थियो । 

आफ्ना पुराना सहकर्मी डा. भट्टराईलाई फेरि राजनीतिको एउटै जुवामा ल्याउन प्रचण्डले भगिरथ प्रयत्न गरिरहेका थिए । उपराष्ट्रपतिको निवासदेखि हात्तीवनस्थित प्रचण्डको भान्जाको निवाससम्म पुगेर दुई नेताले एक्ला–एक्लै छलफल समेत गरेका थिए । ती भेटमा प्रचण्डले भट्टराईलाई माओवादी केन्द्रमै फर्कन अनुनय नगरेका होइनन् । तर, भट्टराईले प्रचण्डको आग्रहलाई सौहार्दपूर्णरूपमा इन्कार गरिदिएका थिए । 

भट्टराई माओवादी केन्द्रमा नआउने भएपछि प्रचण्डले नयाँ सूत्र निकालेका छन्– समाजवादी केन्द्र । यसमा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको पनि समर्थन थियो । समाजवादी केन्द्र बनाउँदा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई पनि सम्मिलित गर्नेबारे प्रचण्डले भट्टराईलाई सहमत गराएका थिए । 

प्रचण्डले माधव नेपालसँग पनि पार्टी एकताको प्रस्ताव गरिसकेका छन् । वामदेव गौतम र प्रचण्डले संयुक्तरूपमा नेपालसँग पार्टी एकताको प्रस्ताव गरेका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादी एकीकरण हुँदा अन्य वामपन्थी शक्तिलाई पनि एकै ठाउँमा ल्याउन सकिने भएकाले पहिले दुई पार्टी एक हुनुपर्ने सल्लाह गौतमले प्रचण्ड र नेपाललाई दिने गरेका छन् । प्रचण्डले पटक–पटक पार्टी एकताको प्रस्ताव गरेको, तर उक्त प्रस्तावमा एकीकृत समाजवादी अहिल्यै सकरात्मक नरहेको उक्त पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बताए । 

हुन त एकीकृत समाजवादीले पनि साउन ३ गतेको सचिवालय बैठकबाट वामपन्थी एकताको प्रयास थाल्ने निर्णय गरिसकेको छ । विचार मिल्ने पार्टीहरूसँग एकताको प्रयास गर्ने निर्णय सचिवालय बैठकले गरेको डा. तुलाधरले बताए ।

यी सबै प्रयासमा अन्ततः डा. भट्टराई र उपेन्द्र यादवले समाजवादी केन्द्रमा सम्मिलित हुन नसक्ने तर चुनावी गठबन्धनमा भने रहने भनेपछि समाजवादी केन्द्र बनाउने प्रयासमा अलपत्र परेको छ । 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल समाजवादी केन्द्रप्रति सकरात्मक भए पनि झलनाथ खनाल नेतृत्वको खेमा अहिल्यै अर्को पार्टीसँग एकताको पक्षमा नरहेकाले नेपालले एकलौटीरूपमा समाजवादी केन्द्र नामको एउटै पार्टी बनाउने हिम्मत गर्न नसकेको उक्त पार्टीका एक नेताले बताए ।

एकीकृत समाजवादी केन्द्रका महासचिव डा. बेदुराम भुसाल भने समाजवादी केन्द्र बनाउने बारेमा गम्भीररूपमा पार्टीहरूका बीचमा छलफल नै नभएको दाबी गर्छन् । बरू, चुनावी सहकार्य र गठबन्धनको बारेमा छलफल भएको तर, एउटै पार्टी बनाउने बारेमा छलफल नभएको उनको दाबी छ । 

वामदेव गौतमले एउटै पार्टी बनाउने चर्चा चलाएको र मिडियाले समाजवादी केन्द्रको चर्चा चलाएको भुसालले बताए । 

गौतमले भने सके पार्टी एकता नभए पनि एउटै चुनाव चिह्नमा निर्वाचनमा सहभागी हुनेबारे छलफल भइरहेको लोकान्तरसँग भनेका थिए । 

एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जान कानूनी र प्राविधिक समस्या रहेको भन्दै भुसालले पार्टीहरूका बीचमा एउटै घोषणा पत्र बनाउन सकिने बारे भने छलफल भएको स्वीकारे । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि शुक्रवार प्रेस सेन्टरको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै समाजवादी केन्द्र बनाउने प्रयासमा ब्रेक लागेको र एउटै चुनावी घोषणा पत्र बनाउने बारे भने छलफल भइरहेको बताएका थिए । 

केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाएको भए पनि त्यस विषयमा पर्याप्त छलफल नभएको प्रचण्डको भनाई थियो । उनले भनेका थिए, ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । बन्दै छैन । हामीले समाजवादी केन्द्र बनाइहालौँ भनेर छलफल पनि गरेका छैनौँ । केही–केही साथीहरूले समाजवादी केन्द्रको कुरा उठाउनु भएको हो तर हाम्रा बैठकहरूमा समाजवादी केन्द्र तत्काल बन्ने भन्ने कुरा भएको होइन । छैन ।’ 

आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा चुनावी मोर्चा र पार्टी एकता संयोजन समिति बनाउने बारे भने छलफल भएको उनले बताए । 

‘चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति भएर एउटै घोषणापत्र बनाउन सकिन्छ कि भन्ने छलफल चलेको छ । टुंगिसकेको छैन । जे भए पनि यही गठबन्धन जान्छ र हामीले यसैबाट देशमा राजनीतिक स्थायित्व र विकास ल्याउनु छ’, प्रचण्डले भनेका थिए ।
 

कमेन्ट गर्नुहोस्