३१ असार २०८३, बुधबार

नेपाली बाँसुरीको धुनमा रमाउँदै स्पेनीहरू

कात्तिक २०, २०७४
नेपाली बाँसुरीको धुनमा रमाउँदै स्पेनीहरू

स्पेन, १२ साउन — नेपाली राष्ट्रिय लोकबाजा बाँसुरी बजाउनमा प्रवीणता हासिल गरेका विनोद कटुवालको बाँसुरीको धुनमा बार्सिलोनावासीहरू रमाउने भएका छन् । ।


जुलाई ३० अर्थात् आउँदो आइतवार विश्व कलाकार संघ स्पेनको आयोजनामा हुन लागेको सांस्कृतिक कार्यक्रममा कटुवालले बाँसुरीको धुनबाट श्रोतालाई झुमाउँदैछन् ।

बाँसुरीवादक विनोद कटुवालको एकल साँझ कार्यक्रममा चारओटा स्पेनी ब्यान्ड तथा नेपाली स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहने विश्व कलाकार संघ स्पेनले जनाएको छ ।

कीर्तिपुर नगरपालिका–१३, चोभारमा जन्मिएका बाँसुरीवादक विनोद कटुवाल युरोपेली संगीतमा नेपाली बाँसुरीको धुन मिसाउन माहिर छन् ।

स्कूले जीवनमै मादल बजाउन खप्पिस रहेका कटुवाल विद्यालयका गुरु रमन महर्जनको बाँसुरी बजाउने शैलीले प्रेरित भएको र उनीबाट सिकेर नै १४ वर्षे उमेरमा चोभार स्कूलबाट बाँसुरी बजाउने गरेको बताउँछन् ।

स्कूलमा रमन महर्जनको प्रेरणा र सहयोगले ललितपुरको इन्दिरा संगीत विद्यालयबाट शास्त्रीय संगीतमा कटवाल पोख्त भएका हुन् ।


कटुवालले लोकान्तरसँग कुरा गर्दै भने, ‘अन्तर्राष्ट्रिय संगीतमा बाँसुरीलाई स्थान दिने क्रममा अफ्रिकी र दक्षिण अमेरिकी संगीतमा बाँसुरीको धुन मिसाउने गरेको छु ।’

बार्सिलोनाको शिशिलियामा कटुवालको प्रस्तुति हुने भएको छ ।

कटुवाल भन्छन्, ‘संगीतमा रमाउनुको मज्जा छुट्टै छ तर पनि अन्तर्राष्ट्रिय संगीतमा हाम्रो नेपाली लोकबाजा बाँसुरीको धुन मिसाएर बजाउँदा झनै आनन्दको अनुभव र आत्मसन्तुष्टि पाउँछु ।’

उनले अफ्रिकी बाजाहरूसँग बाँसुरीको धुन मिसाएर तयार पारेको ‘बाँसुरी’ एल्बम बजारमा निकै लोकप्रिय छ ।

अफ्रिकी संगीतमा बाँसुरीको धुनलाई भरेर ‘रासाकन’ एल्बम बनाउन सफल भएका कटुवालसँगै रासाकन समूहले कटुवालकै बाँसुरीको धुनमा कार्यक्रम गर्दै आएको छ ।

दक्षिण अमेरिकी राष्ट्रहरू चिली र भेनेजुएलाका संगीतमा कटुवालको बाँसुरीको धुनले व्यापक स्थान पाएकोमा उनी मख्ख छन् ।


लोकान्तरसँगको कुराकानीमा कटुवाल भन्छन्, ‘युरोपको इतिहासमा पहिलोपटक मैले बजाएको बाँसुरीको धुनले अन्तर्राष्ट्रिय म्युजिक ब्यान्डमा स्थान पाएको रेकर्ड छ । त्यसैमा म गर्व गर्छु ।’

‘आइतवार हुने एकल साँझमा स्पेनवासी नेपालीहरूलाई विशेष आग्रहसहित आमन्त्रण गर्दछु,’ कटुवाल भन्छन् ।

उक्त कार्यक्रममा स्थानीय कलाकारहरू सुमी घिमिरे सापकोटा, अजय लोप्चन, नरेश कार्की र पेम्बा छोटी गोले शेर्पाले कटुवाललाई साथ दिने भएका छन् ।


कार्यक्रममा स्पेनी तथा नेपालीहरूको व्यापक सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रममा प्रवेश शुल्क १० युरो लाग्नेछ सीडी वितरण गरिने पनि आयोजकले बताएको छ ।


salt training

कमेन्ट गर्नुहोस्