७० वर्ष उमेरसम्मका शिक्षकले मात्र अब चिकित्सा शास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गराउन पाउने भएको छ । चिकित्सा शास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गराउन योग्यता र पदलगायतका विषयमा एकरूपताका कायम गर्न चिकित्सा शिक्षा आयोगले मापदण्ड लागू गरेको छ ।
‘उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९’ कार्यकारी समितिबाट स्वीकृत गरेपछि ७० वर्षे उमेरहद लागू भएको छ । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा.कृष्ण प्रसाद भण्डारीका अनुसार २०७९ साउन २४ गते उक्त मापदण्ड स्वीकृत गरिएपछि उक्त प्रावधान लागू गरिएको हो । आगामी ५ वर्षपछि उमेरको मापदण्ड कार्यान्वयनमा आउने उनले बताए ।
शिक्षक (फ्याकल्टी) को उमेर सम्बन्धी व्यवस्थामा ‘अन्यत्र जेसुकै लेखिएको भए तापनि यो मापदण्ड लागू भएको पाँच वर्षपछि चिकित्सा शिक्षा क्षेत्रमा कार्यरत सबै विधाका शिक्षकको (शिक्षक फ्याकल्टी) को उमेर ७० वर्ष भन्दा बढी हुने छैन,’ मापदण्डको बुँदा नम्बर १४ मा उल्लेख छ ।
यसअघि नेपाल मेडिकल काउन्सिलले तोकेको शिक्षकको उमेर हद डेण्टल र बेसिक साइन्स विषयका लागि ७५ वर्ष र क्लिनिकल विषयका लागि ७३ वर्ष तोकेको थियो ।