०१ असार २०८३, सोमबार

रातभर जाग्राम बसी समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत

रातभर जाग्राम बसी समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रवार रातभर जाग्राम बसेर समापन गरिएको छ ।

अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ । वैदिक सनातन धर्मावलम्बीले भाद्र कृष्ण अष्टमीका दिन पूजा आराधना गरी देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरिएको थियो । 

देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बसेका हुन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।

जन्माष्टमीका दिन पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाम, उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत संघको कार्यालय परिसरमा रहेको कृष्णमन्दिर, पशुपति, वसन्तपुर र भक्तपुर दरबार क्षेत्र लगायत देशभरका कृष्णमन्दिरमा भक्तजनको भीड लागेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्