
नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा पशुपति क्षेत्रमा निर्माण भएको संग्रहालय तथा महास्नान घरको सोमवार उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनराम श्रेष्ठले पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन गरेका हुन् ।
उक्त समारोहमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा कोषका उच्च पदस्थ अधिकारी, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
संग्रहालयमा धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति, तामा, पित्तल, ढलौटका मूर्तिहरू, ढुंगाका मूर्तिहरू (प्रस्तरकला), संस्कृति झल्काउने भेषभुषा, गरगहना, मुकुण्डो राखिएका छन् । त्यस्तै पुरातात्विक महत्वका छैठौं शताब्दीका प्रस्तरकला, काष्ठकला, चित्रकला, मुर्तिकला, लिच्छबिकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तकहरू, प्राचिन मुद्राहरू, छाप तथा अन्य मूर्त÷अमूर्त सम्पदाका सामग्रीहरू संग्रहालयको मुख्य आकर्षण रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण पशुपति महास्नानघर भवनलाई पुनर्निर्माण गर्न आर्थिक सहयोग गरेको थियो । बैंकले पाशुपत क्षेत्रमा छरिएर रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सामग्रीहरूलाई एकै स्थानमा संकलन, अभिलेखिकरण र प्रस्तुतिकरण गरी संग्रहालयको रूपमा विकास गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।
पुनर्निर्माण पश्चात नेपाल इन्भेष्टमेन्ट बैंकले पशुपति विकास क्षेत्र कोषलाई पुनर्निर्मित पशुपति संग्रहालय र महास्नान घर हस्तान्तरण गरेको छ । बैंकले पशुपति संग्रहालय महास्थान घर परियोजनामा ५ करोड १४ लाख तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी ९ करोड बढी सहयोग गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखि नै कला, संस्कृति, एवं खेलकुदको संरक्षण तथा प्रवद्र्धनका लागि सहकार्य गर्दै आएको छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका विभिन्न मठ मन्दिर, पाटी पौवा तथा घाट आदिको पुनर्निर्माण एवं जात्रा, पर्व आदिको प्रबर्द्धनमा बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग मात्र नभई वस्तुगत रूपमै सम्पदाको संरक्षण तथा प्रबर्द्धन गर्दै आएको छ ।