
महिलाको पर्व मानिने तीजमा पुरुषले गीत गाउने र नाच्ने गर्न थालेको वर्षौं भैसकेको छ । हरेक वर्ष जब तीज नजिकिन्छ, विभिन्न गुनासोहरू सुन्न थालिन्छ ।
तीज गीतलाई लिएर केहीले गुनासो गर्छन्, मौलिकता हरायो, विकृति भित्रियो ।
कोही भन्छन्, तीजका नाममा लोकदोहोरी र रत्यौली गीतहरू आए ।
कस्तो उट्पट्याङ शब्द, उच्छृङ्खल भिडियो– कोहीको चिन्ता हुन्छ ।
कोही भन्छन्, तीजका गीतहरू परिवारसँग बसेर हेर्न र सुन्नै सकिँदैन।
तीजका गीतहरू नियाल्दा गीतकार एवं संगीतकार राजकुमार बगरलाई पनि धेरै नै विकृति भित्रिएकोजस्तो लाग्छ ।
लोकदोहोरी र आधुनिक गीतमा अलग्गै पहिचान बनाएका राजकुमार तीज गीतमा विकृति भित्रिएको धेरै वर्ष भैसकेको बताउँछन् ।
उनले पाँच दर्जनभन्दा बढी तीज गीत लेखेका छन् । जसमध्ये धेरै तीज गीत लोकप्रिय पनि छन् । सिन्धु मल्लको स्वर रहेको ‘चिटिक्कै भा छु रे’ त उनले लेखेकोमध्ये सर्वाधिक चलेको तीज गीत हो ।
तर, पाँच दर्जन बढी तीज गीत लेखेका राजकुमारले पुरुष स्वरका लागि भने जम्मा एउटा मात्रै तीज गीत लेखेका छन् ।
‘२०६२ सालतिर हो कि जस्तो लाग्छ । एउटा एल्बममा एउटा गीत डुएट स्वरका लागि लेखेको थिएँ’ उनले लोकान्तरसँग सुनाए, ‘तर, उक्त गीत लेखेपछि एकदमै ग्लानि भयो । पुरुष सहभागिता तीजको संस्कृतिमा पर्दैन भन्ने लाग्यो । त्यसपछि पुरुष स्वरका लागि कहिल्यै तीज गीत लेखिनँ ।’
राजकुमारका अनुसार उक्त समय पनि उनी पुरुष स्वरका लागि तीज गीत लेख्ने मनस्थितिमा थिएनन् । तर, धेरै आग्रहपछि उनी पुरुष स्वरका लागि तीज गीत लेख्न राजी भएका थिए ।
‘त्यसपछि धेरैबाट अफर आयो, तर डुएट स्वरका लागि आएका तीज गीतको अफरहरू अस्वीकार गरें,’ उनले भने, ‘त्यसयता पुरुषका लागि कहिल्यै तीज गीत लेखिनँ र आउँदा दिनमा पनि लेख्दिनँ ।’
‘अहिले पनि कतिले डुएट तीज गीत गरौं भनेर भन्नुहुन्छ, म गर्दिनँ भन्छु,’ उनले थपे । तीज गीतमा पुरुषको सहभागिता उनलाई मन नै पर्दैन ।
पुरुषले गाएका, अभिनय गरेका तीज गीत हेरेर सुनेर आफू रमाउन पनि नसक्ने उनी बताउँछन् । राजकुमार भन्छन्, ‘तीज हाम्रो मौलिक संस्कृति हो । संस्कार र संस्कृतिलाई जोगाउन नसकेपनि, बनाउन नसकेपनि नबिगारौं भन्ने मेरो धारणा हो ।’
राजकुमारले यसवर्ष पनि महिला स्वरका लागि मात्रै तीनवटा तीज गीत लेखेका छन् । यस वर्षका आफ्ना गीतबारे उनले भने, ‘मेरा गीत सेन्टिमेन्टल छन् । एउटा गीत त ५/६ लाख भ्युज गएको छ । अरूको थोरै–थोरै छ । मौलिकता बोकेका गीतहरूको भ्युज कम जान्छ । अहिले दर्शकहरू नाच्ने गीत बढी हेर्छन् ।’