०३ असार २०८३, बुधबार

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

मिथिला क्षेत्रमा अत्यन्तै श्रद्धा र विधिपूर्वक चौरचन (चौरचण्ठ) पर्व आज मनाइँदैछ ।

भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेशी र थारु समुदायले विशेष महत्त्वका साथ पर्व मनाउने गर्दछन् । यस वर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौठचन पर्व आज एकै दिन परेको छ । 

सो पर्वका दिन पूजामा सहभागी हुने परिवारका १ जना महिला सदस्य दिनभर उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको मैथिली अभियानी करुणा झाले जानकारी दिइन् । यस पर्वमा सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा द्विप प्रज्ज्वलन गर्दै उपवास बसेको ब्रतालुले फलफूल र मिष्टानको परिकारलाई प्रसादको रुपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा छ ।                                                                                                                                                             

चन्द्रमाको पूजा हुने सो पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरी लगायतका सामग्री प्रसादको रूपमा राखेर चन्द्रमालाई प्रजा गर्ने गरिन्छ । पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यहरू प्रसाद ग्रहण गर्ने परम्परा रहेको अभियानी झाको भनाइ छ ।  

तीज पर्व सम्पन्न भएसँगै शुरू हुने यस पर्वलाई मिथिलामा निकै आस्थाका रूपमा लिइन्छ । कृष्णजन्माष्टमीको १२ दिनपछि यो पर्व मनाइन्छ । छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने यस पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र भन्ने गरिन्छ । 

यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ ।  चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा (पिरुकिया) र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घारीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा रहेको मिथिला संस्कृतिका जानकार रामभरोसी कापडीले बताए । उनका अनुसार चौरचन पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व हो ।

‘चौरचन पर्वमा न त कुनै भेदभाव हुन्छ, न त कुनै तामझाम हुन्छ,’ उनले भने, ‘यस पर्वमा स्थानीयस्तरमा उत्पादन हुने अधिकांश कृषिजन्य सामग्रीहरूको प्रयोग हुने गर्दछन् ।’

यस पर्वमा प्रयोग हुने माटोको भाँडा, फलफूल, पिठोबाट बनेको परिकार, दही लगायतका सम्पूर्ण सामग्री आफ्नै घर आँगनबाट हुने गरेको उनको कथन छ । यो तिथिमा चन्द्रमालाई नांगो आँखाले हेर्दा कलंक (अपयश) लाग्ने हुनाले पूजा गरी अर्थात खाद्यान्न, फलफूल, दही आदिको अर्घय दिएर चन्द्रमाको त्यो अपयशबाट बच्न सकिने धार्मिक मान्यता रहेको छ । 

भगवान् श्रीकृष्णलाई आजकै दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलंक छुटेकाले यस पर्वको पौराणिक महत्त्व स्थापित भएको मिथिला संस्कृतिका जानकार पण्डित रामकुमार शास्त्रीले बताए । उनका अनुसार द्वापरयुगमा द्वारिकापुरीमा सत्रजित नामका व्यक्तिले भगवान् सूर्यको आराधना गरी निकै उत्कृष्ट स्यमन्तक मणि प्राप्त गरेको कथा श्रीमद्भागवात पुराणमा उल्लेख छ ।

‘विधिपूर्वक पूजा गरेपछि मणिबाट प्रतिदिन २० मन सुन प्राप्त गर्ने गरेको ती व्यक्ति छोटो समयमै धनाढ्य भएको थियो,’ उनले भने, ‘थोरै समयमा ती व्यक्ति धनाढ्य भएको खबर चारैतिर फैलिएको थियो ।’ १ दिन सत्रजित मणि गलामा धारण गरी ती व्यक्ति राजाको दरबारमा पुगेको र सो मणिको प्रभावका कारण राजाको दरबार चमक भएको कुरा श्रीमद्भागवत महापुराणमा उल्लेख रहेको उनको कथन छ । 

यसक्रममा श्रीकृष्णले सो मणि राजालाई हस्तान्तरण गर्न आग्रह गरेपछि बहाना बनाई घर फर्किएका ती व्यक्तिले राजाको डरले भाइ प्रसेनजितलाई मणि जिम्मा लगाइ सुरक्षा साथ जंगल पठाएको थियो । 

केही समयपछि उनका भाइ प्रसेनजितको कालगतिले प्रसेनजितको मृत्यु भएपछि मणि एउटा सिंहबाट जाम्बवान नाउँको बलशाली भालुले हात पारेको कुरा श्रीमद्भागवात महापुराणमा उल्लेख छ । प्रसेनजितको मृत्यु भएको र मणि हराएको खबर राजाले पाएपछि भगवान श्रीकृष्णमाथि शंका लागेको थियो । आफूमाथि लागेको कलंक मेटाउन मणि खोज्दै जंगल गएका भगवान् श्रीकृष्णले खोजी गर्दै भदौ शुक्ल चतुर्थीका दिन मणि लिएर उनी फर्किएका थिए । श्रीकृष्णको कलंक मुक्ति भएको दिनलाई स्मरण गर्दै चौरचन पर्व मनाउँदै आएको पण्डित शास्त्रीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्