
नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब सात लाख दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन् । बेलुकी सात बजेसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरी शङ्कर पराजुलीले जानकारी दिए । बेलुकी आरती चलिरहेका बेला पनि पशुपति क्षेत्रमा भक्तजनको उत्तिकै भीड रहेको उनलेबताए । भाद्र शुक्ल तृतीयाका दिनमा आज देवादिदेव महादेवको पूजा आराधना गरी महिलाले हरितालिका (तीज) पर्व मनाएका हुन् ।
पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । पशुपतिनाथ मन्दिरमा यस वर्ष विगतभन्दा सहज रुपमा दर्शन गर्न पाइएको भक्तजनले बताएका छन् । पन्ध्र वर्षपछि पशुपतिनाथको पूर्वी ढोका खोलेपछि भक्तजनलाई दर्शनमा सहज भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
राजधानीको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र नागेश्वर मन्दिर, भक्तपुकरको डोलेश्वर, ललितपुरको सन्तानेश्वरलगायत काठमाडौँ उपत्यका र देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।