०७ असार २०८३, आइतबार

मनाइयो कलंक हटाउने चौरचन पर्व

मनाइयो कलंक हटाउने चौरचन पर्व

वर्षभरिको संकटबाट बचाउने र कलंक हटाउने पर्वका रूपमा मिथिलामा मनाइने चौरचन मंगलवार साँझ घरघरमा मनाउँदै सम्पन भएको छ ।

भाद्र शुक्ल चर्तुर्थी तिथिमा सूर्यास्तपश्चात सवापहर (अधाई घण्टा) भित्र चौठीचाँदको पूजा गर्दै चौरचन सम्पन भएको हो । चौरचन पर्वले पुत्र, धन तथा मान वृद्धि गरी लागेको कलंक पनि हटाउने जनविश्वास रहिआएको छ ।

दिनभर व्रत लिई साँझपख आँगनमा पिठार (चामलको पीठो)ले अरिपन दिई गोलाकार चन्द्रमा मण्डलमा केराको पात राखी त्यसमा पकवान, मिठाइलगायत प्रसाद राखेर चन्द्रमाको पूजा गर्ने चलन छ । मुकुटसहित चन्द्रमाको दिशामा बनाएको प्रतीक (अरिपन)मा केराको पातमा रोहिणीसहित चतुर्थी चन्द्रमाको पूजा सेतो फूलले गर्ने गरिन्छ । 

परिवारको सदस्य संख्या जति छ, त्यति नै पकवानयुक्त डाली र  दहीको छाँछी अरिपनमा सजाएर केराको घरी, दीपयुक्त कुडवार (माटोको कलश), लावन आदि पूजा सामग्री राखिन्छ । १–१ डाली, दही, केराको घरी उठाएर  मन्त्रले प्रत्येक व्यक्तिले हातमा फल लिएर चन्द्रमाको दर्शन गरी आशीर्वाद लिने पण्डित महेन्द्रनारायण ठाकुर बताउँछन् । दही र फलफूल लिएर चन्द्रमाको दर्शन गरे पापबाट मुक्ति पाइने विश्वास छ । 

चन्द्रमाको दर्शन गरी चन्द्रमण्डलमा  राखिएको प्रसादलाई उपस्थित पुरुषले ४ भाग गरी पातमा भोजन गरेपश्चात बाँकी रहेको भाग त्यही नै खाल्डो खनी गाड्ने चलन छ । चौरचनको दिनभरि नै मिथिलाका महिला पकवान पुरी, ठकुवा पुड्किया, मालपुवा आदि सामग्री बनाउन व्यस्त रहन्छन् । कुशेऔंशीदेखि नै दही, डाली–छाँछीको व्यवस्था गर्ने तयारीमा मिथिलावासी जुट्ने गर्दछन् । मिथिलामा भदौको शुक्लपक्षको चौथीमा मिथ्या कलंकबाट बच्न रोहिणीसहित चतुर्थी चन्द्रको पूजा हुने गर्दछ ।

चन्द्रमाको आराधनाले मनोकामना पूर्ण हुन्छ भन्ने विश्वासले मिथिलामा यस पर्वलाई विषेश रूपमा मनाउने चलन छ । 

कमेन्ट गर्नुहोस्