
उदयपुरको कटारी–३ ताराघारीस्थित महादेव गुफा अहिले धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै गएको छ ।
दशकअघि एउटा सामान्य गुफाको रुपमा परिचित महादेव गुफाको संरचना अहिले लोभलाग्दो र रमणीय तीर्थस्थलका रूपमा परिचित हुँदै गएको छ ।
प्रदेश १, बागमती, मधेश प्रदेशका अलावा भारतबाट तीर्थालुहरू आउन थालेका गुफा व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवार बताउँछन् । ‘पूजा आराधनाबाट मात्रै वार्षिक ३ लाख बढी भेटी उठ्छ,’ सुनुवार भन्छन्, ‘यहाँ पूजा आराधना तथा घुम्न आउनेको संख्या बर्सेनि बढ्दै गएको छ ।’
गुफा परिसरलाई प्रदेशकै नमूना गुफा परिसर बनाउन लागि परेको समितिका कोषाध्यक्ष अमृतबहादुर थापा बताउँछन् । ‘यसलाई नमूना धार्मिकस्थलका रूपमा विकास गर्न लागिपरेका छौं,’ उनले भने । गुफामा वर्षेमा १ लाख बढी तीर्थालु आउने गरेको पनि थापाले जानकारी दिए ।
विक्रम संवत् २०४० सालतिर स्थानीय गोठालाले नजिकैको अप्ठ्यारो पाखोमा गुफा पत्ता लगाएका थिए ।
अहिले गुफासम्म जाने सिँढी, रेलिङ, पानीका धारा, होम यज्ञ गर्ने, कार्यालय, धर्मशाला, पुजारी भवन, शौचालय, आकर्षक र बगैंचा बनेसँगै यहाँ पर्यटक आउन थालेका छन् । अन्यत्रबाट गुफा आइपुगेकाले यसलाई उत्कृष्ट गुफा भएको बताएको स्थानीय युवा अमित श्रेष्ठ बताउँछन् ।
निकट भविष्यमै परिसरमा धार्मिक ग्रन्थको पुस्तकालय, सांस्कृतिक कला प्रशिक्षण केन्द्र, विभिन्न खेल मैदान, नजिकैको उचाइमा रहेको डाँडामा बौद्ध स्तूपा, भ्यु–टावर, चौतारा बनाउने तयारी रहेको समितिले जनाएको छ । अहिले परिसरमा दर्जनौं मृग र वन्यजन्तु आउने भएकाले पानी खाने ठाउँ, सुन्दर बगैंचा निर्माण गरिएको छ ।
गुफामा साउने सोमवार, एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमीमा लाखौं भक्तजन आइपुग्ने गरेका छन् ।
गुफामा विवाह, व्रतवन्ध, महायज्ञ, सप्ताह, पुराण, रुद्री, ग्रहजाप र सतविज छर्ने परम्परा बसेको छ । महादेव गुफामा पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ ।
सिद्धिचरण राजमार्गसँगै जोडिएको र नजिकै कटारी बजार रहेकाले तीर्थयात्रा गर्नेका लागि महादेव गुफा नयाँ गन्तव्य बन्दै गएको छ । गुफा क्षेत्रलाई पूर्वाञ्चलकै नमूना गुफा परिसर बनाउन लागि परेको व्यवस्थापन समितिले अहिले आधिकारिक दर्ता प्रमाणीकरण गरिसकेको समितिका कोषाध्यक्ष अमृतबहादुर थापा बताउँछन् ।