०३ असार २०८३, बुधबार

३ प्रकारका डेंगु देखियाे, बेलैमा ध्यान नदिए ज्यानै जानसक्छ [डा. श्रवणकुमार मण्डलसँगको भिडियाे कुराकानी]

भदौ २३, २०७९

केही दिनदेखि देशभर डेंगु महामारीकैरूपमा फैलिइरहेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट हजारौ व्यक्ति प्रभावित भएका छन् । 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्यासेजमा समेत बेड राखेर विरामीको उपचार गर्नुपर्ने अवस्था आएको अस्पतालले बताएको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अधिकृत डा. श्रवणकुमार मण्डलका अनुसार भदौ १ गते यता अस्पतालमा डेंगुका बिरामीको चाप बढेको छ । काठमाडौं उपत्यकाका अन्य अस्पतालमा पनि डेंगुका बिरामी दिनदिनै बढिरहेका छन् । 

डा. मण्डलकाअनुसार, कालो सेतो छिर्के लामखुट्टेले टोकेको अवस्थामा डेंगु रोग लाग्छ । रङको हिसाबले पाटेबाघ जस्तो देखिने भएकोले यी लामखुट्टेलाई ‘टाइगर मस्क्वीटो’को नाम पनि दिइएको छ ।

उनकाअनुसार, यस्ता लामखुट्टे बिहान घाम उदाएको दुई घण्टासम्म र साँझ घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडिसम्म बढी सक्रिय हुने गर्छन् । तर, यी लामखुट्टेले दिउँसोको समयमा नटोक्ने भन्ने होइन । त्यसबेला लामखुट्टेको टोकाइबाट बच्न विशेष सतर्कता अपनाउनुपर्ने मण्डलले बताए । 

डा. मण्डलका अनुसार डेंगु तीन प्रकारका हुन्छन् । लामखुट्टेले टोकेपछि डेंगु फिभर डेंगु सक–सिण्ड्रोम, डेंगु हेमुरोजिक फिभरजस्ता रोग लाग्छन् ।   

तीन प्रकारका डेंगु र तिनका विशेषता

डेंगु फिभर– यो भाइरल ज्वरोजस्तो हो । जसमा उच्च ज्वरो आउँछ । टाउँको दुख्छ । शरीर दुख्छ । खान मन नलाग्ने हुन्छ र शरीर कमजोर हुँदै जान्छ । कसैलाई वान्ता पनि हुन्छ । 

डेंगु सक–सिन्ड्रोम– शरीर कमजोर हुँदै जाने र शरीरका रक्त सञ्चार पनि कम हुँदै जाने हुन्छ । त्यसपछि बिरामी बेहोस पनि हुन्छ । बिरामी ‘सक’ भएर बेहोस हुने भएकाले यसलाई डेंगु सक–सिन्ड्रोम पनि भनिएको हो । 

डेंगु हेमुरोजिक फिभर– विरामी डेंगु हेमुरोजिक फिभरको अवस्थामा पुग्दा शरीरमा प्लेटलेट्स (सेता रक्त कोष)को मात्रै एकदमै कम हुन्छ । मानिसको शरीरमा १ लाख ५० हजारदेखि ४ लाखसम्म प्लेटलेट्सको मात्रा हुनुपर्छ । १ लाख ५० हजारभन्दा धेरै कम मात्रामा प्लेटलेट्सको संख्या हुनु बिरामी डेंगु हेमुरोजिक फिभरको अवस्थामा पुग्नु हो । यस्तो अवस्थामा बिरामीको शरीरबाट रक्तश्राव हुने अवस्था हुन्छ । धेरै रक्तश्राव भएको अवस्थामा बिरामीको ज्यानै जानसक्ने सम्भावना पनि हुन्छ । 

डा. मण्डल कसैलाई डेंगु भएको अवस्थामा नआत्तिई प्राथमिक उपचार गर्ने र केही गम्भीर अवस्था भएमा नजिकैको अस्पताल गएर स्वास्थ्यकर्मीको सल्लाहमा उपचार गर्नुपर्ने बताउँछन् ।

डेंगुबाट बच्ने उपाय

डेंगु रोगबाट बच्नका लागि घर तथा कार्यालय वरपर भएका पानी जम्ने खाल्डाखुल्डी पुर्ने, झाडीहरू हटाउने, पूरा बाहुला भएका कपडा लगाउने र धेरै समय घर बाहिर नबस्ने, राति झुल लगाएर मात्रै सुत्ने गर्नुपर्ने डा. मण्डल बताउँछन् ।​
 

salt training

कमेन्ट गर्नुहोस्