
मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्रश्राद्ध) शुरू भएसँगै महिलाहरू जितिया पर्वको तयारीमा लागेका छन् ।
मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष शुरू हुनासाथै उनीहरूले जितियाको चर्चा र तयारी थालेका हुन् । यो पर्व मिथिलामा पौराणिक र पारम्परिक महत्त्वको मानिन्छ । यसपालिको पितृपक्ष प्रारम्भ भइसकेको छ ।
महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । पितृपक्ष शुरू हुनासाथै व्रतालु महिला आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्ने पुरानो मैथिल परम्परा हो ।
अष्टमी शुरू हुनु एकघडी (करीब साढे २ घण्टा) पूर्व शुरू हुने उपवास एक अहोरात्रपछि नवमी तिथि एकघडी कटाएर समापन गरिने मैथिल परम्परा छ । सन्तानको सौर्यवृृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै शुरू हुने गरेको हो ।
यस पर्वमा निराहार व्रत शुरू गरिएपछि समापन नगरिउञ्जेल थुक निल्नु, अञ्जानमै पनि किरा, फट्यांग्रा र झारपात मारिनु, चुडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ । पहिले सन्तान (छोराछोरी)को कल्याण कामनार्थ गरिँदै आइएको यो व्रत पछिपछि पुत्रका नाममा हुन थालेको सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएकी जलेश्वर–२ का साधना बर्मा बताउँछिन् ।
यसपालि यो व्रत तिथिको भोग घटबढले आउने आगामी असोज १ गते परेको छ । आगामी शनिवार मध्याह्नलगत्तै अष्टमी तिथि लाग्ने हुँदा शुक्रवार मध्यरातपछि शनिवार बिहानै दही, चिउरा ‘ओगटन’ (दर) खाएर ब्रतालुले निराहार व्रत शुरू गर्नेछन् । निराहार व्रत बस्ने महिलाले एक अहोरात्र कटाएर नवमी तिथि एकघडी कटाएपछि व्रत समापन गर्नेछन् । यसपालि आइतवार मध्याह्नपछि नवमी तिथि प्रारम्भ हुने हुँदा सो दिन सूर्यास्तपछि व्रत समापन गर्न सकिने जनाइएको छ ।
सामान्यतया उदाउँदो सूर्यका बेला समापन गरिने यो पर्व यसपालि भने सूर्यास्तपछि हुने भएको छ । व्रतमा एक अहोरात्र कटाउन पर्ने विधानले यसपालि जितिया व्रत ३६–३७ घण्टाको हुने ब्राह्मण बताउँछन् । कठोर विधानको यो व्रतको महिमा जनजिब्रोमै रहने गरेको मिथिला संस्कृति र परम्पराका ज्ञाता बर्दिबास नगरपालिका–२ का महेशकुमार झा बताउँछन् ।
भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम यादव भन्छन्, ‘सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै आमाले गर्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने मैथिल हिन्दू जनविश्वास छ ।’
सन्तानको कल्याण र सौर्य वृद्धिको कामनासहित पुत्रवती मिथिलानीले यस पर्वमा दिवंगत पितृ रिझाउन व्रत बस्ने परम्परा रहेको छ । यस व्रतमा पुरुषहरूले पितृपक्षमा दिवंगत आफन्तलाई तर्पण दिएजस्तै आफूहरूले पनि दिवंगत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको पछिल्ला २० वर्षदेखि जितिया व्रत बस्दै आएकी महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ थारूटोल बनराकी ४० वर्षीया रासोदेवी थारू बताउँछन् ।
पर्वमा सप्तमीका दिन (निराहार व्रतको १ दिन पहिले) एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत संकल्प गरिन्छ । व्रतालुुले दिवंगत सासु, जेठानी, बुढीसासु, नन्द–आमाजु र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितहरुको भनाइ छ । ती सबै दिवंगत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर’ भन्ने कामना गरिन्छ ।
मिथिला लोक संस्कृतिको अभिन्न अंग मानिँदै आइएको यो पर्वबारे अब पछिल्लो पुस्ताले बहस र तर्कवितर्क भने गर्न थालेका छन् । पर्वमा सन्तानका लागि नभनिएर पुत्रको कल्याण र सौर्य वृद्धिको कामना भनिने परम्परा रहेकाले यस पर्वले सन्तानभित्र नै लैंगिक विभेद गरेको भन्ने स्वर नयाँ पुस्ताले बढाउँदै लगेका छन् । पर्वको महत्ता र गरिमालाई अझ मजबुत बनाउन अब सन्तानका लागि भनेर व्रतको कामना गर्ने परम्परा बसाल्न पर्ने महिला जागरण क्षेत्रमा क्रियाशील रहँदै आएका अधिकारकर्मीहरूको भनाइ छ ।
वास्तवमा पहिलेका आमाहरूले सन्तानकै लागि यो व्रत शुरू गरेका भए पनि कालान्तरमा परिवार र समाजमा पुरुष प्रभुत्व बढ्दै गएपछि ‘पुत्र’का लागि भनेर घुसाइएको बर्दिवास नगरपालिका–९ की सामाजिक, राजनीतिक कार्यकर्ता दिपीयादेवी महतो बताउँछिन् । आपूmले पछिल्ला २६ वर्षदेखि शुरू गरेको यो पर्व ‘पुत्र’का लागि मात्र नभएर सन्तानको कल्याणका लागि गर्दै आएको दिपीयाले बताइन् ।
व्रत अवधिमा व्रतालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एकजना विधवा ब्राह्मणीको पुकारमा उनका ५ मृत छोरालाई राजा जितवाहन (देवरूप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाका आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको बूढापाका बताउँछन् ।
राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुुरु भएको हुनसक्ने जलेश्वर नगरपालिका–६ बखरीका बासिन्दा साहित्यकार महेश्वर राय बताउँछन् । यसक्षेत्र (मिथिला)का सबैजसो सन्तानवती मैथिल हिन्दू महिलाले मनाउने यो पर्वमा तीजजस्तै महिलाका लागि पछिल्ला ४ वर्षयता मधेस प्रदेश सरकारले बिदा दिँदै आएको छ । – गोपालप्रसाद बराल/रासस