पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आगामी चुनावको टिकट बाँडफाँटको विषयलाई लिएर सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा कलह शुरू भएको छ ।
कांग्रेसको संस्थापन समूहले हेपाहा प्रवृत्ति देखाएको भन्दै संस्थापन इतरपक्ष आन्दोलनमै उत्रिएको छ । भदौ ३ गते निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा शेखर कोइराला पक्षका नेताहरू असाध्यै थोरै समेटिएपछि उनी पक्षका नेताहरू संस्थापनसँग थप रुष्ट बनेका छन् ।
पार्टीमा देउवाको कार्यशैलीको सुधार, अवसरको समान वितरण र न्यायको पक्षमा कोइराला पक्षले सशक्त दबाब सिर्जना गरिरहेको छ । मंसिर ४ को चुनावमा सकेसम्म कांग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर एकल प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा कोइराला समूह छ । तर, कांग्रेसको संस्थापन पक्ष यसमा सहमत छैन । गठबन्धनमा रहेका दलहरूलाई कांग्रेसले छाड्नासाथ वामपन्थीहरूको चुनावी समीकरण बन्ने र २०७४ कै निर्वाचनको जस्तो अवस्था आउने डरमा देउवा पक्ष छ । सत्तारूढ गठबन्धनभित्र सीट बाँडफाँटको विषय गिजोलिइरहेका बेला कांग्रेसभित्र विग्रह शुरू भएको हो ।
प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्र र ७ वटा प्रदेशको ३३० निर्वाचन क्षेत्रमा सीट बाँडफाँटको बहसले हरेक दिन बालुवाटार गर्माउने गरेको छ । शुरूदेखि नै सीट बाँडफाँट सहमतिमा पुग्न नसक्नुको मुख्य कारण कांग्रेस रहेको गठबन्धनका अरू दलका शीर्ष नेताले सार्वजनिकरूपमा बताउँदै आएका थिए ।
शुरूमा कांग्रेसले न्यूनतम १०० सीट आफूलाई चाहिने दाबी गरेको थियो । अहिले कांग्रेसका नेताहरू त्यो दाबीबाट ओर्लिएका छन् । तर, अन्य दलको दाबी पनि अस्वाभाविक भएका कारण गठबन्धन निर्णयमा पुग्न सकिरहेको छैन ।
कांग्रेसभित्रको गुटगत प्रतिस्पर्धाले पनि गठबन्धनलाई निर्णयमा पुग्न अप्ठ्यारो परिरहेको गठबन्धनमा रहेका अरू दलका नेताहरू बताउँछन् ।
कांग्रेसमा दुईवटा समूहलाई मिलाउनुपर्ने भएकाले पनि सकेसम्म धेरै सीट आफ्नो पक्षमा राख्न कांग्रेसका नेताहरूले पहल गरिरहेका छन् ।
कांग्रेसभित्रको यो चुनावी झगडाको असर चुनावी तालमेल गर्ने निर्णय गरेका गठबन्धनका दलहरूमा पर्ने निश्चित छ । कांग्रेसभित्र टिकट वितरणको विषयले उग्ररूप लिएको अवस्थामा गठबन्धनमा रहेका दलहरूले पनि कांग्रेसको संस्थापनइतर समूहको सहयोग नपाउन सक्छन् । कांग्रेसको मत थपथाप हुँदा चुनाव जित्ने हिसाब किताब गरेर उम्मेदवार भएका गठबन्धनका नेताहरूलाई त्यसले प्रत्यक्ष असर पर्न सक्छ । त्यसो हुँदा, गठबन्धनमा रहेका दलहरूले पाएको सीटमा जीत हासिल गर्न पनि कांग्रेसभित्रको अन्तरकलह साम्य पार्नुपर्ने चुनौती थपिएको छ ।
कांग्रेसका महामन्त्री गगन थापा गठबन्धनको सीट बाँडफाँट कार्यदलको सदस्य छन् । उनी शीर्ष तहका नेताहरूको बैठकमा पनि सहभागी हुँदै आएका छन् । कांग्रेसमा संस्थापन इतर खेमामा रहेका थापा पार्टीमा आफ्नो समूहलाई सकेसम्म धेरै ठाउँमा समेट्न चाहन्छन् । त्यसैका लागि पनि उनले शुरूमा कांग्रेसलाई न्यूनतम् १०० सीट चाहिने दाबी गरेका थिए ।
कांग्रेसको १४ औं महाधिवेशनमा दोस्रो चरणमा सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइराला र पार्टी सभापति शेरबहादुर देउवा पक्ष पार्टीमा आमनेसामने छ । देउवा कोइराला खेमालाई सकेसम्म बाइपास गरेर अघि बढ्न चाहन्छन् । कोइराला पक्षले त्यसको सशक्त विरोध गर्दै आएको छ ।
गठबन्धनभित्र सीट बाँडफाँटका क्रममा कोइराला पक्षका नेताहरूको निर्वाचन क्षेत्र अन्य पार्टीका नेताहरूलाई छाड्न संस्थापन पक्ष लचक भएपछि सशंकित भएको कोइराला पक्ष समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि झन् बिच्किएको छ ।
समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीमा सभापति शेरबहादुर देउवा पक्षले मनोमानी गरेपछि शेखर पक्षका नेताहरू बिच्किएका हुन् । उनीहरूले समानुपातिक सूची सच्याउन माग गरेका छन् । निर्वाचन आयोगले असोज १६ गतेसम्म बन्द सूची सच्याउने समय दिएको छ ।
बन्दसूची सच्याउन शेखर पक्षका नेताहरूले गत शनिवार काठमाडौंको अनुपम फूडल्याण्डमा खबरदारी सभा आयोजना गरेका थिए । सोमबार पनि उनीहरूले असन्तुष्टहरूको भेलालाई निरन्तरता दिएका छन् ।
त्यति मात्रै होइन, बन्द सूची सच्याउन दबाब दिनका लागि उनीहरूले पार्टी कार्यालयमा धर्ना शुरू गरेका छन् ।
तोकिएको समयमा बन्दसूची नसच्याए विरोधलाई थप कडा बनाउने उनीहरूले घोषणा गरेका छन् । तर, कडा विरोधको स्वरूप कस्तो हुने भन्ने चाहिँ सार्वजनिक गरेका छैनन् ।
नेता डा. शेखर कोइराला र उनी पक्षका पार्टी पदाधिकारी सहभागी नभएको खबरदारी सभामा संस्थापन इतर खेमाका केन्द्रीय सदस्य, भ्रातृ संस्थाका पदाधिकारी तथा पूर्व पदाधिकारी र आगामी चुनावमा टिकटको दाबेदारी गरिरहेका नेताहरूको सहभागिता थियो ।
उक्त समूहका नेता शेखर कोइराला, उक्त समूहबाट पार्टी पदाधिकारीमा निर्वाचित नेताहरू भने त्यस्ता भेला र विरोधका कार्यक्रममा सहभागी भएका छैनन् ।
विरोध सभामा सहभागी हुँदै आएका नेता गुरूराज घिमिरेले संस्थापनइतर पक्षलाई पार्टीमा ४० प्रतिशत हिस्सा चाहिने बताए ।
कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएका शेखर कोइरालाले ४० प्रतिशत मत ल्याएका थिए । सोही आधारमा संस्थापन इतर खेमाले पार्टीमा ४० प्रतिशत हिस्सा दाबी गर्दै आएको छ ।
घिमिरेले भने, ‘समानुपातिकमा त देखाउन मिल्ने मान्छे राख्नुस् । अहिले प्रदेश १ बाट राखेका मान्छे हामी नै चिन्दैनौं, यस्तो नाम राख्न कसले दियो अधिकार ?’
पार्टीमा न्यायोचितरूपमा टिकट वितरण हुनुपर्ने उनले बताए । ‘कार्यकर्तालाई न्यायोचित अवसर चाहिन्छ । ४० प्रतिशतभन्दा १ प्रतिशत कम पनि मञ्जुर छैन । अब हामी टुलुटुलु हेरेर बस्दैनौं’, घिमिरेले भने ।
कांग्रेसमा संस्थापन इतर समूह पार्टी नेतृत्वसँग मात्रै होइन सत्ता गठबन्धनमा रहेका दलहरूसँग पनि उत्तिकै आक्रोशित छ । अन्य दलहरूले गठबन्धनभित्र हिसाब मिलाउँदैमा कांग्रेसका कार्यकर्ताले गठबन्धनका दललाई भोट नहाल्ने संस्थापन इतर पक्षको भनाई छ ।
‘हाम्रो सभापतिलाई मात्र होइन प्रचण्डजी र माधव नेपालजीहरूलाई पनि भन्न चाहन्छु हामी आक्रोशको चरणमा छौं । यसपछि विद्रोह हुनसक्छ । बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा, सन्देश पठाउँदैमा, घण्टौं बैठक गर्दैमा मागे जति सीट पाइँदैन र पाएजति सीट जितिँदैन’, घिमिरेले भने ।
कांग्रेसभित्रको आन्तरिक आयाम नमिलेसम्म टाउको जोडेर जित्ने सोचेको भए गठबन्धनका दलहरूले बेलैमा ध्यान दिनुपर्ने उनले बताए ।
घिमिरेको जस्तै आक्रोश अर्का नेता जगदिश्वरनरसिंह केसीको पनि छ । उनी नुवाकोट कांग्रेसका पूर्वसभापति पनि हुन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची सच्चिनुपर्ने र नसच्चिने हो भने आफूहरूले नयाँ बाटो अपनाउने उनले बताए । तर, त्यस्तो नयाँ बाटो स्पष्ट खाका भने उनले दिएका छैनन् । ‘समानुपातिक सूची सच्चिएन भने नयाँ बाटोका लागि साथीहरूलाई तयार रहनुस् भनेका छौं’, केसीले भने ।
तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीले संस्थापन पक्षले समानुपातिकतर्फको उम्मेदवार छनोटमा एकलौटी गरेको आरोप लगाए । ‘समानुपातिक तर्फको नाममा एकलौटी गरिएको छ । केन्द्रीय सदस्यमा देउवालाई बहुमत छ । केन्द्रीय सदस्यमा बहुमत पुगेर मात्र चुनावमा बहुमत आउँछ ? मत दिने त जनताले होला नि,’ उनले भने ।
समानुपातिकतर्फको उम्मेदवारी छनौटमा पेलिएको शेखर पक्षका नेताहरूलाई प्रत्यक्षतर्फको उम्मेदवारी छनौटमा पनि यसैगरी थिचोमिचोमा पार्ने डर छ ।
खबरदारी सभामा देशभर टिकटका आकांक्षी रहेका कोइराला पक्षका नेताहरूको सहभागिता देखिएको छ ।
यसले पनि प्रत्यक्षतर्फको उम्मेदवार चयन र टिकट वितरणमा दबाब सिर्जना गर्न अहिल्यैबाट खबरदारीमा उनीहरू लागेको बुझिन्छ ।
कांग्रेसका देखिएको यो समूहगत झगडा कांग्रेसका लागि नयाँ भने होइन । अहिलेको झगडाले कांग्रेसमा पुरानो ३६ र *७४ को समूहलाई सम्झाइदिएको छ ।
२०५१ को उपचुनावमा तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराईले चुनाव हारेका थिए । २०४८ को चुनावमा भट्टराईले काठमाडौं क्षेत्र नम्बर– १ मा एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँग चुनाव हारेका थिए । २०५० जेठमा भएको दुर्घटनामा मदन भण्डारीको निधन भयो ।
२०५१ मा उपचुनाव भयो । उक्त चुनावमा पनि कांग्रेसबाट भट्टराई नै उम्मेदवार भएका थिए । एमालेले भने मदनपत्नी विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाएको थियो ।
उपचुनावमा कांग्रेसबाट भट्टराई नै उम्मेदवार भएको कुरा त्यसबेला प्रधानमन्त्री रहेका कांग्रेसका अर्का नेता गिरिजाप्रसाद कोइरालालाई त्यसबेला मन नपरेको कांग्रेसका नेताहरू बताउँछन् । त्
यसबेला पार्टीमा गिरिजाप्रसाद र गणेशमान सिंहको मनोमालिन्य चर्को थियो । त्यसको अभिव्यक्ति उपनिर्वाचनमा प्रकट भयो । भट्टराईले भण्डारीसँग फेरि चुनाव हारे ।
चुनावका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका समर्थकहरू खुला रूपमा पार्टी सभापति कृष्णप्रसाद भट्टराईको विरोधमा हिँडेको कांग्रेस नेताहरू स्मरण गर्छन् ।
कांग्रेसीहरूले उपचुनावमा अन्तर्घात गरेर आफ्नै उम्मेदवारलाई हराएका थिए भने कांग्रेसमा अन्तर्घातको त्यस्तो प्रयोग अहिले पनि हटेको छैन् ।
उपचुनावको त्यो प्रकरणले कांग्रेसभित्र ३६ र ७४ (११० सांसदमध्ये) को नामले दुई समूह बनेका थिए । त्यो परस्पर विरोधी समूहले कांग्रेसलाई लामो समय गिजोलेको थियो ।
अहिले कांग्रेसमा देखिएको परस्पर विरोधी समूहले त्यही ३६ र ७४ नामको समूहको झल्को दिएको छ ।
कांग्रेसको केन्द्रीय समितिमा देउवा पक्ष हावी छ । संस्थापन इतरको नेतृत्व गरिरहेको कोइराला खेमा केन्द्रीय समितिमा कमजोर छ ।
पार्टीमा देउवाले जे चाहन्छन्, त्यही निर्णय हुने अवस्था छ । सोही कारण देउवा पेलेरै अघि बढिरहेका छन् ।
कांग्रेसको यो विवादको असर कस्तो पर्छ, त्यसको हिसाबकिताब भने चुनावपछि मात्र प्रस्ट हुनेछ ।
* ३६–७४ समूह हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...