
दशैंको बिदामा चितवनका अस्पतालले सेवालाई नियमित गर्ने भएका छन् ।
प्रायः अस्पतालले बहिरङ्ग बाहेकका सम्पूर्ण सेवा नियमित सञ्चालन गर्ने भएका हुन् ।
केही अस्पतालले भने दशैंको टीकाको दिनबाहेक अन्य दिनमा बहिरङ्ग सेवा समेत नियमित सञ्चालन गर्दैछन् ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले बहिरङ्ग सेवा बाहेकका अन्य सबै सेवा नियमित सञ्चालन हुने जानकारी दिए । बहिरङ्गको अत्यावश्यक खोप, ड्रेसिङ लगायतका सेवा भने टीकाको दिनबाहेक अन्य दिन सञ्चालन हुने उनको भनाइ छ । सोका लागि हरेक दिन बिहान ९–१० बजेसम्म सेवा सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
यसबाहेकका अन्य सबै सेवा पूर्ववत् अवस्थामा सञ्चालनमा आउने छन् । पौडेलका अनुसार प्रसूति लगायतका विभागमा विशेषज्ञ चिकित्सकले पालो मिलाएर सेवा दिने छन् ।
चितवन मेडिकल कलेजले टीकाको दिनबाहेक अन्य दिनमा बहिरङ्ग सेवा समेत दिने भएको छ । कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार टीकाको दिनमा बहिरङ्ग सेवा हुँदैन भने अन्य सबै सेवा सो दिनमा पनि सञ्चालन हुनेछन् ।
फूलपातीको दिनबाट टीकाको भोलिपल्टसम्म बहिरङ्ग सेवा बिहान ८ देखि मध्याह्न १२ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । सबै विभागमा विशेषज्ञ चिकित्सकले पालो मिलाएर सेवा दिने उनको भनाइ छ ।
दशैंको समयमा दुर्घटनाका बिरामी बढी आउने भएकाले मेडिकल कलेजले आकस्मिक र ट्रमा सेन्टरमा विशेष व्यवस्था गरेको छ ।
कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का उपनिर्देशक डा. राजेश यादवका अनुसार बहिरङ्ग बाहेकका सबै सेवा दशैं बिदाभर पनि सञ्चालन हुनेछन् । फूलपातीको दिनदेखि टीकाको भोलिपल्टसम्म बहिरङ्ग सेवा बन्द भए पनि आकस्मिक सेवाबाट बिरामीलाई उपचार व्यवस्था गरिएको छ ।
उनले भने, ‘बहिरङ्गबाहेक अन्य सबै सेवा पूर्ववत् अवस्थामा सञ्चालन हुन्छन् ।’