२४ असार २०८३, बुधबार

बागेश्वरी मन्दिरमा श्रद्धालु भक्तजनले छेडे जिब्रो

बागेश्वरी मन्दिरमा श्रद्धालु भक्तजनले छेडे जिब्रो

महानवमीका दिन मंगलवार पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेका छन् ।  

नेपालगञ्जमा रहेको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा बडादशैंको घटस्थापनाका दिनदेखि नै निराहर व्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा मागेको वर पूरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चल्दै आएको हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले बताए ।

उनले केही समय अघिसम्म भक्तजनले देवीलाई जिब्रो नै काटेर चढाउने गरेका र अहिले भने जिब्रो छेडेर दर्शन गर्ने चलन रहेको बताए ।

उनले भक्तजनले आफ्नो मनोकांक्षा पूरा होस् भनेर तथा भाकल गरेकाहरूको भाकल पूरा भएपछि जिब्रो छेड्ने परम्परा रही आएको बताए ।

महन्थ योगीले देवीको मन्दिरमा पशुवली चढाउने परम्परा रहेको र केही भक्तजनहरूले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको स्पष्ट पारे । उनका अनुसार नवरात्रको ब्रत बसेका व्रतालु पुरुषहरू नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातु (त्रिशुल) ले छेड्ने परम्परा रहेको र हरेक वर्ष करीब १५० भन्दा बढी धर्मावलम्बीले जिब्रो छेड्ने गरेका छन् । 

नेपालगञ्जको बागेश्वरी मन्दिरमा बडादशैं र चैतेदशैंमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ । निराहार ब्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख बिमार नहुने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

मंगलवार महानवमीका दिन बाँके लोयिनपुरवाका ७० वर्षीय रतिराम लोनिया, ७० वर्षीय भगौती धारुक, ३५ वर्षीय प्रेमकुमार चौहान, आशराम लोनिया, ३२ वर्षीय उत्तम चौहान लगायतले आफ्नो भाकल पूरा भएको उपलक्षमा जिब्रो छेडेर बागेश्वरी देवीको दर्शन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्