२५ असार २०८३, बिहीबार

हेटौंडा मोडेल अस्पतालमा सिलबन्दी

कात्तिक ३, २०७९
हेटौंडा मोडेल अस्पतालमा सिलबन्दी

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटौंडाको एक अस्पतालमा  सिलबन्दी गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । सो कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटौंडा उपमहानगरपालिका–१ मा रहेको हेटौंडा मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो ।

सो अस्पतालले १० शय्याको अनुमति लिएर स्वीकृतिभन्दा बढी शय्या राखेर सञ्चालन गरेको तथा अनुमतिबिना फार्मेसी तथा ल्याब सञ्चालन गरेकाले सिलबन्दी गरिएको कार्यालयले जनाएको छ । साथै अस्पतालले एनएसथेसियोलोजिष्ट डाक्टर नराखी एनएसथेसिया सहायकबाट बिरामीलाई बेहोस बनाएर मेजर शल्यक्रिया गर्दै आएकाले शल्यक्रिया नगर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले जानकारी दिए । 

त्यस्तै अस्पतालमा मापदण्डअनुसार कर्मचारी नभेटिएको, फोहरमैला व्यवस्थापन नगरेको पाइएको सम्बन्धमा प्रशासनले सचेतसमेत गराएको जानकारी दिइएको छ । अधिकृत न्यौपानेको नेतृत्वमा  खटिएको सो अनुगमन टोलीमा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं तथा जिल्ला जनस्वास्थ्य कार्यालयका ठाकुर पौडेललगायत सरोकारवाला संस्थाको सहभागिता रहेको थियो । 

अस्पताल सञ्चालकलाई  आवश्यक कागजातसहित १५ दिनभित्र  जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।रासस

salt training

कमेन्ट गर्नुहोस्