
केही दिनयता मुलुकका अधिकांश भूभागमा मनसुनी वर्षा भइरहँदा पूर्वी नेपालमा भने पर्याप्त पानी परेको छैन । मौसमविद् विनोद पोखरेलका अनुसार, पूर्वी नेपालमा देखिएको यो सुक्खापनको मुख्य कारण बादललाई माथि धकेल्ने प्रणालीको अभाव हो ।
पोखरेल भन्छन्, 'बादल लगातार लागेको छ तर तराईमा वर्षा भएको छैन। यसको मुख्य कारण बादललाई माथि धकेल्ने प्रणाली (लिफ्टिङ मेकानिजम) नहुनु हो। यो काम पहाडले गर्ने भएकोले पहाडी भेगमा राम्रै वर्षा भइरहेको देखिन्छ, तर तराई र पूर्वी भेगमा सो प्रणालीको अभावमा बादल लागेर पनि वर्षा हुन सकिरहेको छैन।'
मौसमविद् पोखरेलका अनुसार, आज पनि नेपालभरि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ, तर केही ठाउँमा भने मौसमले फेरि पनि 'सौतेनी व्यवहार' गर्ने सम्भावनालाई नकार्न सकिँदैन ।
यद्यपि, मुलुकका अन्य भेगमा भने वर्षाले जनजीवन प्रभावित बनाएको छ। गएराति र आज बिहान केही जिल्लाहरूमा ठूलो वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कास्की, म्याग्दी, अर्घाखाँची, सिन्धुपाल्चोक, दोलखा, सङ्खुवासभा, नवलपरासी, चितवन, पाल्पा र रूपन्देहीमा ठूलो वर्षा मापन गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि गएराति राम्रै पानी परेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
साथै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको तराई भूभाग तथा मधेश र कोशीको तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुनसक्छ। लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।
आज रातिको अवस्था झन् चुनौतीपूर्ण हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ। राति देशभरका अधिकांश स्थानमा बादल लाग्ने र कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मुसलधारे वर्षाको सम्भावना छ। यसका साथै मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराईका केही स्थानमा तथा कर्णालीका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ।
महाशाखाले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ नै सरदर स्थानको आसपास अवस्थित रहेकाले पनि वर्षाको गतिविधि बढेको विभागले जनाएको छ।