
विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
ठेक्का प्रक्रियाका क्रममा अमेरिकी डलर २ लाख ८० हजार (करिब ३ करोड ८ लाख ५० हजार नेपाली रुपैयाँ) रिसवत (घुस) लिन मञ्जुर गरेको भन्दै अदालतले पौडेललाई कसूरदार ठहर गरेको हो।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार पौडेलसँगै घुस दिन मञ्जुर गर्ने 'एफ फाइभ' का नेपाल प्रतिनिधि दीपक आनन्दलाई समेत दोषी ठहर गरेको छ।
अदालतको फैसलामा राष्ट्रिय सूचना प्रविधि केन्द्रले आह्वान गरेको सुरक्षा एप्लिकेसन तथा नेटवर्क उपकरण खरिदको ठेक्कामा पौडेलले कार्यकारी निर्देशक र लेखा उत्तरदायी अधिकारीको हैसियतमा रहँदा पदीय आचरण विपरीत काम गरेको ठहर गरिएको छ। पौडेलको आइफोन र डेल ल्यापटपको डिजिटल फरेन्सिक ल्याब परीक्षणबाट प्राप्त च्याट वार्तालापका आधारमा उनले ठेक्काको अनुमानित लागत र दरभाउका विषयमा ठेकेदारका प्रतिनिधिसँग गोप्य सौदावाजी गरेको पुष्टि भएको अदालतको ठहर छ ।
फैसलामा भनिएको छ, 'सार्वजनिक संस्थाको कार्यकारी निर्देशकको पदमा रहेका प्रतिवादी सुनील पौडेलले तेस्रो व्यक्तिसँग औपचारिक खरिद प्रक्रियाभन्दा बाहिर गई गरेको मोलमोलाइ र गैरकानूनी लाभ लिने चरणबद्ध वार्तालापबाट निजले रिसवत लिन मञ्जुर गरेको देखिन्छ।'
दोषी ठहर भएका पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिम र दीपक आनन्दलाई सोही ऐनको दफा ३ (३) बमोजिम सजाय हुनेछ। कसूरदार ठहरिएका व्यक्तिहरूलाई हुने कैद र जरिवानाको सजाय निर्धारणका लागि अदालतले असार ३२ गतेका लागि पेशी तोकेको छ।