
फिफा विश्वकप २०२६ को उपाधिका लागि भइरहेको फाइनलमा साविक विजेता अर्जेन्टिना र स्पेनले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन्।
न्युयोर्क–न्युजर्सी स्टेडियममा जारी रोमाञ्चक प्रतिस्पर्धाको पहिलो ४५ मिनेटमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
खेलको सुरुदेखि नै स्पेनले बलमाथि नियन्त्रण राख्दै अर्जेन्टिनामाथि दबाब बनाउने प्रयास गरेको थियो। तर अर्जेन्टिनाको अनुशासित रक्षापंक्ति र शारीरिक रूपमा आक्रामक खेलका कारण स्पेनले स्पष्ट अवसर बनाउन सकेन।
४१औँ मिनेटमा स्पेनका मिकेल ओयार्जाबाललाई फाउल गरेपछि अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले पहेँलो कार्ड पाए। त्यसको केही मिनेटपछि ४४औँ मिनेटमा चोट बोकेका मार्टिनेज आँसु झार्दै मैदानबाट बाहिरिए र उनको स्थानमा अनुभवी निकोलस ओटामेन्डी मैदान प्रवेश गरेका थिए ।