
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशन गरेर पार्टी विभाजन गरिएको बताएका छन् ।
बुधबार ४४ औं बीपी स्मृति दिवसका अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजित संस्थापन इतरको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई अदालतको निर्णयबाट विभाजित गरिएको टिप्पणी गरे ।
विशेष महाधिवेशनका सन्दर्भमा निर्वाचन आयोग र अदालतले गरेको निर्णय आफूहरूलाई स्वीकार्न गाह्रो भएको समेत निधिको भनाइ छ ।
यति हुँदाहुँदै पनि पार्टी एकताको कुनै बाटो निस्किन सक्छ कि भनेर आफूहरूले पटक-पटक प्रयास गरेको निधिको भनाइ छ । उनले पार्टीभित्र एकताको जरुरी रहेको समेत बताए ।
तर, साउनभित्र एकता नभए नयाँ कार्यदिशातिर जान बाध्य हुने निधिको चेतावनी छ ।
‘गगन थापालाई सभापति मानेकै हुन्छौं । विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिलाई मानेकै हुन्छौं । हामीले उहाँहरूलाई मान्दा पनि, उहाँलाई (गगन थापालाई) सभापति मान्दा पनि चित्त बुझेको छैन भने यो दुर्भाग्यपूर्ण कुरा मात्र होइन अज्ञानता पनि हुन्छ । यो अपरिपक्वता पनि हुन्छ’, निधिले भने, ‘हाम्रा धारणाहरू जुन छन् त्यसलाई स्वीकार गरेर पार्टी एक बनाऔं र देशमा मडारिन खोजेको खतरालाई एक भएर सामना गरौं । साउनको अन्तिम समयसम्म पनि एकता भएन भने नयाँ कार्यदिशातिर हामी जानुपर्ने बाध्य हुन्छौं ।’
निधिले साउनको अन्तिम साता काठमाडौंमा राष्ट्रिय भेला बोलाइएको पनि बताए ।
उनले नेपालमा आधुनिक र लोकतान्त्रिक राज्यको निर्माता बीपी कोइराला रहेको स्मरण गरे । नेपाली राजनीतिमा बीपीले प्रजातान्त्रिक समाजवादी विचारधाराको प्रवेश गराएको निधिको भनाइ छ ।
निधिले केही व्यक्तिहरूले रास्वपाभन्दा पहिले कांग्रेसले सामाजिक लोकतन्त्रको एजेन्डा लिएको भनेर लेखिरहेका भन्दै यदि त्यसो हो भने त्यो परिवर्तन नभइ पश्चगमन रहेको टिप्पणी गरे ।
‘कांग्रेसले साँच्चै सामाजिक लोकतन्त्रको एजेन्डा बोकेको छ भने त्यो अग्रगमन होइन, पश्चगमन हो । यो परिवर्तन होइन, प्रतिगमन हो । कांग्रेस बीपीको विचारप्रति प्रतिबद्ध हुने हो भने प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध हुनैपर्छ’, निधिले भने ।