
आजको ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको नेपाल पञ्चांग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गम्मा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ ।
यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ ।
कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ । दिउँसो ४ : ५२ बजेदेखि ग्रहणले स्पर्श गर्नेछ । ग्रहणकै अवस्थामा बेलुकी ५ः२४ बजे सूर्यास्त हुनेछ । नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ । बेलुकी करिब पौने ७ बजेसम्म ग्रहण रहने जनाइएको छ ।
कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।