२७ जेठ २०८३, बुधबार
उम्मेदवारका कुरा

मतदाताकाे दिल मसँग मिलिसक्यो, ठूलो मतान्तरले चुनाव जित्छु- विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]

मतदाताकाे दिल मसँग मिलिसक्यो, ठूलो मतान्तरले चुनाव जित्छु- विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अहिले झापा क्षेत्र नम्बर–१ का मतदाताको घरघरमा मत माग्न व्यस्त छन् । सत्तारूढ गठबन्धनको साझा उम्मेदवार बनेका शर्मा तेस्रो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । 

शर्मा नेकपा एमालेका उम्मेदवार एवं पूर्व महान्यायाधिवक्ता अग्नि खरेलसँग चुनावी प्रतिस्पर्धामा छन् । २०७४ को चुनावमा शर्मा एमाले–माओवादी केन्द्रका साझा उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए । अहिले उनै कार्की शर्मालाई जिताउन सहयोग गरिरहेका छन् । 

कांग्रेसका उम्मेदवार शर्मा शुक्रबार चुनावी प्रचारका लागि झापाको बुद्धशान्ति गाउँपालिका–३ बर्मुडा पुगेका रहेछन् । शर्माको चुनावी कार्यक्रम भइरहेको ठाउँमा पुग्न धुलाबारीबाट करिब ५ किलोमिटर पक्की सडक र त्यसपछिको करिब १० किलोमिटर कच्ची सडक पार गर्नुपर्‍यो । धुलाबारीबाट टेम्पु रिजर्भ गरेर हामी उनको चुनावी कार्यक्रम पछ्याउन गएका थियौं । बर्मुडामा शर्माको चुनावी सभालाई सम्बोधन गर्न नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल पनि पुगेका थिए । ​इमालसँग नजिक पर्ने उक्त चुनावी सभामा इलामका मतदाता समेत सहभागी भएको पाइयो ।

शुरूमा शर्माले हामीसँग सभा सकिएपछि कुराकानी गर्ने बताएका थिए । तर, जब कार्यक्रम सकियो उनी समय अभाव भएको भन्दै पन्छिन थाले । हतारहतार गाडीमा बसेर हुँइकिए । केही समयपछि उनैले फाेन गरेर अन्तर्वार्ताकाे लागि बाेलाए र  गाडीमै बसेर कुरागर्दै जाउँ भने ।

बर्मुडाबाट धुलाबारी फर्कदै गर्दा लोकान्तरकर्मी राजु बास्कोटागगन अर्यालले कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग गरेको कुराकानीको सम्पादित अंशः

तपाईंले अघिल्ला दुई चुनाव हारेको ठाउँ झापा क्षेत्र नम्बर–१ बाट यस पटक पनि उम्मेदवार बन्नुभएको छ । यस पटक चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

२०७० सालमा म उम्मेदवार हुँदा परिचय आफूलाई चिनाउनमै समयमा लागेको थियो । २०७४ सालमा चुनावी अनुभव राम्रोसँग बटुलियो । यस पटक परिणाम आउने गरी चुनावी प्रतिस्पर्धामा छौं । २०७४ सालमा पहिलो दल भएको नेकपा एमाले र माओवादी मिल्दा वित्तिकै हामी हार्छौ भन्ने अनुमान थियो । पूर्वसूचना थियो । गणितीय विश्लेषण र मनोवैज्ञानिक असर थियो । त्यसले गर्दा पराजय भोग्नु परेको भन्ने बुझाई रह्यो । अहिले त्यतिबेलाको अवस्था ठ्याक्कै उल्टो भएको छ । अहिले हामी गठबन्धनमा छौं । २०७० सालमा १४ हजार मत अन्तर थियो भने २०७४ सालमा १४ सय मतले मात्रै मैले हारेको हुँ । यसरी हेर्दा मैले मत बढाउँदै लगेको छु । स्थानीय तहको मत हेर्ने हो भने ६/७ हजारले पछाडि थियौं । अहिले हामी त्यसलाई उल्टाएर जीत निकाल्नेतर्फ अगाडि लागेका छौं ।

अर्को कुरा त्यो समयमा माओवादी एमालेसँग थियो । समाजवादी एमाले नै थियो । अहिले माओवादी र समाजवादी हामी तिरै हुनुहुन्छ । गठबन्धनको उम्मेदवार हुनु र मतदाताको पनि राम्रो प्रतिक्रिया पाउनु नै मैले जित्ने बलियो आधार बनेको छ ।​

एमाले विभाजित भएको कारण एमालेलाई पराजित गर्न सजिलो छ भन्ने तपाईंको विश्लेषण हो ?

त्यो बेलामा एमाले बलियो र हामी कमजोर भयौ भनेको होइन् । हामी प्रतिस्पर्धामै थियौं । त्यो बेलामा एमाले बलियो भन्न मिल्दैन । तत्कालिन समयमा एमाले माओवादीसँग मिलेर लडेको थियो । अहिले त झन माधव नेपालहरू छुट्टिएर आउनु भएको छ । त्यो बेलाको एमाले र माओवादी मिले जस्तो होइन् । हामी लामो समयदेखि राष्ट्रिय अवश्यकता र बाध्यताले विगत डेढ बर्षदेखि मिलेका छौं । त्यस कारणले हामी अहिले बलियो भएर मत परिणाम नै आइसक्यो भन्ने अवस्था पनि होइन । 

तपाईंको प्रतिस्पर्धि, एमालेका उम्मेदवार त अर्को क्षेत्रमाभन्दा यहीँ क्षेत्रमा जित्न सजिलो भनेर चुनावी प्रतिस्पर्धामा आउनुभएको छ नि ?

उहाँहरूको उम्मेदवार सिफारिस हुँदा सर्वसम्मत रूपमा एक जनाको नाम सिफारिस भएको थियो तर अहिले अर्कैले टिकट लिएर आउनुभयो । यहाँ एमालेमा दुःख गरेका, लामो समयदेखि काम गरेका साथीहरूको नाम हटाइदिने गरेको देखियो । तर, काँग्रेसले सर्वसम्मत भएका नाम कहिल्यै हटाएन । त्यसकारणले यहाँ पार्टीले चाहे बमोजिम चल्ने हो कि जनताले चाहे बमोजिम चल्ने हो भन्ने एमाले वृत्तमा बहस देखिन्छ । माथिको अहंकारले गर्दा तलका पार्टी पंक्तिमा पनि राजनीतिक परिवर्तन चाहिएको देखिन्छ । एमालेमा देखिएको असन्तुष्टि हामी र हाम्रो गठबन्धको लागि चुनावी हिसाबले फाइदाजनक नै हुन्छ । 

एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यस क्षेत्रमा गरेको चुनावी तालमेलले तपाईंलाई चुनौति थपेको छैन र ?

बाटोमा सामान्य उकालो आयो भने पनि गियर परिवर्तन गर्नुपर्छ । त्यसले गर्दा सजगता, सर्तकता अपनाउने आफ्नो ठाउँमा हुन्छ । एमाले र माओवादी एक ठाउँमा उभिदा, काँग्रेस र माओवादी एक ठाउँमा भैसक्दा निर्णय भइसकेको भन्न सकिन्छ । अहिले हामी दलका कुरा होइन दिलका कुरा गरिरहेका छौं । हामी दल होइन दिल गाँस्ने कुरा गरिरहेका छौं । अरू मिल्दा अप्ठ्यारो भन्ने होइन । अघिल्लो पटक पनि ३३ हजार ३ सय मत आएको थियो । एमाले–माओवादी भएको समयमा ३४ हजार मत दिएको थियो । अहिले माओवादी हामीसँग छ । एमालेसँग राप्रपा मिल्दा केही फरक पर्दैन । राप्रपाको ३/४ हजार मत मात्रै देखिन्छ । मतदाताले कुन उम्मेदवारलाई जिताउँदा हाम्रो भूगोल बुझ्छ भन्ने कुराको मनन गर्नुभएको छ । दलहरूले जे भन्छन् त्यही मान्नुपर्छ भन्ने मनोविज्ञानबाट मतदाता पर भइसक्नु भएको छ । 

अघिल्लो निर्वाचनको प्रतिस्पर्धी अहिले तपाईको सारथी बन्नुभएको छ । यसले प्रचारप्रसारमा कति सकारात्मक सन्देश दिएको छ ?

उहाँ बौद्धिक व्यक्तित्व हुनुुहुन्छ । यसपालि एउटा कार्यक्रममा सहभागी हुनुभएको थियो । हिजोका दिनमा मेरो प्रतिस्पर्धी भएर मलार्ई उप–विजेतामा सीमित गराएर उहाँले जित्नु भएको हो । अहिले उहाँले एकाएक नयाँ भुगोलमा आएर कहिले के नबुझिने त कहिले के नहुने हुँदो रहेछ जसको क्षेत्र हो उसैलाई जिम्मा लगाए भन्नु भएको छ । त्यसैले, भूगोल चिनेको नेता चाहिन्छ भन्ने हो । भूगोलबाट राजनीति नगर्ने हो भने त सामानुपातिक छ नि । आफ्नो भूगोल र भावना पनि हुन्छ । यस पटक सबैको साथ र विश्वास छ । यसलाई हामी बलियो बनाएर जान्छौं । विश्वप्रकाश शर्माले झापा–१ बाट मंसिर ४ मा जित्दा त्यो काँग्रेसको मात्र जित नभएर माओवादी, एकीकृत समाजवादी लगायत समग्र झापा–१ को जित हुने मनोविज्ञान बनेको देखिन्छ । झापा–१ ले देशलाई नेतृत्व दिन नसक्ने हो र ? यो क्षेत्रलाई आफ्नै मान्छेको नेतृत्व दिन नसक्ने हो र ? 

कांग्रेसमा तपाईं र गगन थापा महामन्त्री हुनुहुन्छ । गगनले प्रधानमन्त्रीको दावी गरेका छन् । तपाईंले पनि गगनको दावीलाई समर्थन गर्नुभएको छ । यो सार्वजनिकरूपमा देखाउन मात्रै भनिएको हो कि तपाईंको पनि दावी छ ?

राजनीतिमा बोलिने सबै अभिव्यक्ति राजनीतिक नै हुन्छन् । तर, के हो भने कसैले म मात्रै हुँ, म भन्दा अन्य कोही हुँदैन्, मसँग मात्रै सम्भावना छ, मसँग मात्रै योग्यता छ भनिरहेको बेलामा अर्को व्यक्ति दावी गरेर आउँछ भने उसलाई अगाडि बढाउने हाम्रो कतव्र्य पनि हो । अब नेतृत्वको परिर्वन हुन खोज्दा समर्थन गर्नु स्वभाविक हो । युवालाई अबको नेतृत्वमा ल्याउन सकिन्छ र बनाउने पनि हो ।

संसदमा भएका नेताहरूले विकासका कार्यक्रम ल्याउने र मतदाता प्रभावित पार्ने गर्छन् । संसदको हैसियतले केही बढी पहुँच पनि हुन्छ । तर, तपाईंजस्तो संसद सदस्य नभएको व्यक्तिलाई संसद भएर आएको व्यक्तिसँग चुनावी प्रतिस्पर्धा त्यति सहज नहोला हैन ?

यस्ता चुनौति आइरहन्छन् । त्यसलाई चिर्दै जाने हो । यी कुराहरू समयसँगै परिमार्जन हुँदै जान्छन् । यसलाई मैले सहजताका रूपमा लिएको छु । मतदातले पनि काम नगर्नेलाईभन्दा काम गर्ने, सम्भावना भएका र राम्रालाई छान्ने नै गर्छन् । 

कांग्रेसको महामन्त्री भएको कारण तपाईंले आफ्नो निर्वाचन क्षेत्र मात्रै नभएर देशभर नै चुनावी प्रचारमा ध्यान दिनुपर्ने हुन्छ । यसको सन्तुलन कसरी मिलाइरहनुभएको छ ?

पक्कै पनि आफ्नो क्षेत्रसँगै अन्यत्र पनि जानुपर्छ । समग्र पार्टीका उम्मेदवारलाई जिताउन नेतृत्वको अहम भुमिका हुन्छ । हामीले आ–आफ्नो क्षेत्रसँगै अन्य क्षेत्रमा पनि जाने र मतदातालाई हौसल्ला दिने गरेका छौं । आज झापा र इलामको संयुक्त चुनावी सभा पनि आफ्नोसँगै गठबन्धनका उम्मेदवार जिताउनका लागि गरिएको थियो ।

कांग्रेसले देशभरमा दिएको उम्मेदवारीमध्ये कति सिट जोगाउन सक्छ भन्ने तपाईंको विश्लेषण छ ?

हामी अधिकांश सिटमा जित्छौ । हाम्रो गठबन्धनले जित्छ । चुनावपछि नेपाली कांग्रेस ठूलो पार्टीसहित कांग्रेसकै नेतृत्वमा सरकार पनि बन्छ ।

salt training

कमेन्ट गर्नुहोस्