
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले सुत्केरीलाई ५ हजार रुपैयाँ भत्ता दिन शुरू गरेको छ ।
नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो ।
नगरपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरिएको ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रममा आधारित रहेर सुत्केरीलाई भत्ता दिन शुरू गरिएको गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले जानकारी दिए ।
नगर प्रमुख अधिकारी र उपप्रमुख शान्ति कोइरालाले गैंडाकोट नगर अस्पतालमा पुगेर संयुक्त रूपमा सुत्केरीलाई भत्ता वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलका अनुसार मंगलवार र बुधवार २ दिनमा ३१ सुत्केरीलाई भत्ता वितरण गरिएको छ । नगरभित्रका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई सम्बन्धित वडा कार्यालयको सिफारिसमा भत्ता वितरण गर्ने गरिएको पौडेल बताउँछन् ।
नगरपालिकामा गैंडाकोट नगर अस्पताल र गैंडाकोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छन् ।
नगरपालिकाले विकट वडा मानिएका वडा नम्बर ३ र १८ का गर्भवतीका लागि ‘नगर अस्पताल आमा घर’ समेत सञ्चालन गरेको छ । आमा घरमा गर्भवतीलाई स्वास्थ्यकर्मीको निगरानीमा बस्न पाउने व्यवस्था गरिएको छ ।